अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२६ | Colorodo: 03:41

यलम्बर सङ्गीत प्रतियोगिताको टिसर्ट सार्वजनिक

अन्तिम छनोट जेठ २६ मा हुने

भिम राइ, खोटाङ २०७५ जेठ १३ गते ११:३५ मा प्रकाशित

काठमाडौँ । किराँत राई कलाकार सङ्घले यलम्बर सङ्गीत प्रतियोगिताको चौथो संस्करणका लागि तयार गरेको टिसर्ट सार्वजनिक गरेको छ । आगामी जेठ २६ गते काठमाडौँमा अन्तिम स्पर्धामा नयाँ किराती कलाकारहरूलाई उतार्न लागेको सङ्घले काठमाडौँमा एक पत्रकार सम्मेलनको आयोजना गरेर टिसर्ट सार्वजनिक गरेको हो । 

आइतबार ललितपुरको सातदोबाटोस्थित सुम्निमा कल्चर एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा टिसर्ट सार्वजनिक गर्दै अन्तिम चरणको छनोट जेठ २६ गते हुन लागेको सङ्घका अध्यक्ष जनक राईले जानकारी दिए । विभिन्न क्षेत्रमा रहेको किराँत राई समुदायका नयाँ प्रतिभाहरूलाई अवसर प्रदान गर्ने उद्येश्यका साथ यो प्रतियोगिता सञ्चालन गर्न लागिएको उनको भनाई रहेको छ । अन्तिम प्रतिस्पर्धाका लागि ९ जना युवा पुस्ताका गायक गायिकालाई छनौट गरिएको भन्दै किराती कलाकारहरू अरू कलाकारहरू भन्दा पृथक् वैचारिक चेत भएको कलाकारको रूपमा उत्पादन गर्न लागिएको अध्यक्ष राईले बताए । उनले भने ‘अबको कला र सङ्गीतले जीवन र जगतको चेत बोकेर हिँड्नु पर्छ । कला सङ्गीतमा किराती सौन्दर्यता खोज्नु पहिलो काम हो ।’

कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहाकार सदस्य वरिष्ठ गायक तथा सङ्गीतकार जितेन राईले किराँत राईहरूले खेलाउँदै आएको सङ्गीतका बारेमा बताउँदै साकेला सङ्गीतको बारेमा जानकारी दिएका छन् । उनले कला सङ्गीत भन्नु एउटा संवेदनाबाट उठेर सिङ्गो मानसिकतालाई बदल्न सक्ने शक्तिशाली हतियार भएको बताउँदै अहिले उठिरहेको पहिचानको आन्दोलनमा नयाँ किराँत राई कलाकारहरूले दर्विलो भूमिका प्रस्तुत गर्नु पर्ने विचार राखेका छन् । उनले कम्तीमा गीत सङ्गीतको माध्यमबाट किराती राई जातिको इतिहास, संस्कृति, सभ्यताको संरक्षण गर्दै भावी पुस्तालाई यी विषयमा जानकार बनाउन सकिने बताए ।

कार्यक्रममा सङ्गीतको माध्यमबाट हाम्रा संस्कृतिहरूलाई संरक्षण गर्न सकिने भएकाले कार्यक्रमको औचित्य पूर्ण रहने विचारहरू आएको थियो । यो प्रतियोगिताबाट गीत सङ्गीतको माध्यमबाट किराती राई जातिको इतिहास, संस्कृति सभ्यता र समसामयिक विषयहरूलाई उजागर गरेर विश्व मानव समुदायमा पुर्याउने अभियानको रूपमा आयोजकले लिएको छ । 

जेठ ६ गते बाट पहिलो चरणको छनौट हुँदै हाल अन्तिम स्पर्धाको लागि नौजनाको सहभागिता रहेको प्रतियोगिताबाट विजयी हुनेहरुलाई पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः २५ हजार, ७ हजार ७ सय ७७ र ५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार समेत दिइनेछ । उत्कृष्ट दर्शक छनोटबाट छानिएको एक जनालाई ३ हजार ३ सय ३३ रुपैयाँ पुरस्कार दिइने छ । एकेडेमीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका पूर्व अध्यक्ष तथा गायिका पार्वती राई, किराँत राई पत्रकार सङ्घका अध्यक्ष भीम राई लगायतको उपस्थिति थियो ।

यसअघि प्रतियोगिताको भाग १, भाग २ र भाग ३ सम्पन्न गरिसकेको छ । सो अवसरमा यलम्बर सङ्गीत प्रतियोगिताको लोगो अंकित टिसर्ट समेत सार्वजनिक गरिएको थियो । प्रतियोगीहरुलाई वितरण गरिएको उक्त टिसर्ट सुम्निमा कलेक्सनबाट प्रायोजन गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू