अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१० | Colorodo: 22:25

मन्त्रीको सम्पत्ति कति बढ्यो ?

नयाँ पत्रिका २०७५ जेठ १० गते १९:२० मा प्रकाशित

प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको अघिल्लो र यसपालिको सम्पत्ति विवरणको तुलना

दुई वर्षमा ओलीको स्वआर्जन ४१ लाख

प्रधानमन्त्री केपी ओलीका नाममा एभरेष्ट बैंकमा ४२ लाख, माछापुछ्रे बैंकमा ४ लाख र प्रभु बैंकमा ६ लाख गरी जम्मा ५२ लाख बचत छ । तर, दुई वर्षअघि श्रीमती राधिकाको नाममा १४ लाख र केपी ओलीको नाममा एभरेष्ट बैंकमा ७ लाख गरी २१ लाख मात्र थियो ।

यसरी दुई वर्षमा ३१ लाख नगद थपिएको छ । त्यस्तै, अघिल्लोपटक श्रीमती राधिका शाक्यले राष्ट्रिय बचतपत्रमा १५ लाख लगानी गरेको उल्लेख थियो । यसपालि २५ लाखको राष्ट्रिय बचतपत्र किनेको जनाएका छन् । यसरी प्रधानमन्त्रीको खातामा ३१ लाख नगद र १० लाखको सेयर थपिएको छ । यसको स्रोत के हो ? उनले भनेका छन् : स्वआर्जन ।

ओलीकी श्रीमती राधिका शाक्यको नाममा भक्तपुरमा साढे एक रोपनी जग्गामा तीनतले घर र झापामा १० कट्ठा जमिन छ । त्यस्तै, अहिले प्रधानमन्त्रीसँग करिब १८ तोला सुनका गरगहना छन्, दुई वर्षअघि ०७२ मा प्रधानमन्त्री हुँदा ओलीसँग करिब १४ तोला सुन थियो । नगदसहितका घरघडेरी र जग्गालाई उनले स्वआर्जन भनेका छन् ।

थोत्रो साइकल देखाउने मन्त्री लालबाबु पण्डितसँग ५५ लाख नगद, सुन र घरजग्गा

सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफ्नो सम्पत्ति विवरणमा साइकल पनि रहेको र त्यो पुरानो भएको पनि उल्लेख गरेका छन् । तर, मन्त्री पण्डितसँग एभरेष्ट बैंकमा २५ लाख र श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रुपैयाँ छ । उनीहरूसँग १० तोला सुन र १५ तोला चाँदी छ ।

उनीसँग श्रीमतीको नाममा ललितपुरको भैँसेपाटीमा ४ आना जग्गा छ । उनले ०७२ मा पेस गरेको सम्पत्ति विवरणमा सर्लाहीको धनगढा–६ मा १२ कट्ठा जग्गा रहेको उल्लेख गरेका थिए । तर, त्यो अहिलेको सम्पत्ति विवरणमा छैन । सर्लाहीकै बसबरियामा चार बिघा पैतृक सगोलको जग्गा छ । उनीसँग विराटनगरमा एक कट्ठा जमिनमा पाँचकोठे पुरानो घर छ ।

गृहमन्त्रीको सम्पत्तिमा दुईवटा कुकुर पनि : एक कुकुर, एक कुकुर्नी, त्यो पनि छिमेकीबाट प्राप्त


गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो सम्पत्तिमा दुईवटा कुकुरसमेत भएको विवरण उल्लेख गरेका छन् । तीमध्ये एउटा कुकुर र एउटा कुकुर्नी भएको र छिमेकीले दिएको जानकारी उनले सरकारलाई दिएका छन् ।

तर, उनीसँग भएको यो एक मात्र सम्पत्ति भने होइन । श्रीमती नैनकला थापाको नाममा चितवनमा अंशबन्डाबाट पाएको एउटा घर छ । श्रीमतीकै नाममा ससुरालीबाट प्राप्त एक लाख रुपैयाँमा किनेको जग्गा छ । यस्तै उनीसँग ६ तोला सुन र ३ लाख नगद साथमा छ । यस्तै, दुईवटा बैंकमा तीन लाख ८० हजार बचत छ ।

यस्तै श्रीमतीको नाममा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीमा १४ हजार ६ सय रुपैयाँको १ सय ४६ कित्ता सेयर छ । कर्मचारी सञ्चयकोष कट्टी हुँदा आएको रकमबाट सेयर किनेको उल्लेख छ ।

महासेठ सर्वाधिक धनी मन्त्री : ४० करोडको सेयर, डेढ सय बिघा जमिन


सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठ सबैभन्दा धनी देखिएका छन् । उनले सेयरमा मात्रै ४० करोडभन्दा बढी लगानी गरेको विवरण सरकारलाई बुझाएका छन् । ललितपुरको भैँसेपाटीमा ५८ सय वर्गफिट जग्गामा साढे २ तलाको घर तथा धनुषामा ६५ सय वर्गफिट, धनुषामै अर्को ८ बिघा र सिन्धुलीको कमलामाईमा ५ कट्ठा जग्गा छ । ललितपुरको नख्खुमा २ रोपनी १३ आना, ललितपुरकै धोबीघाटमा एक रोपनी ७ आना, जनकपुर उपमहानगरपालिकामा ९ कट्ठा जग्गा छ ।

सगोलमा धनुषाको दिगम्बरपुरमा ९६ बिघा, धनुषाकै पटेरबामा ३९ बिघा र अर्को १० बिघा १० कट्ठा जग्गा छ । श्रीमतीकै नाममा धनुषाको जनकपुरमा साढे २ तलाको पक्की घर छ । उनले २६ तोला सुन पैतृक र २५ तोला सुन दाइजोबाट प्राप्त भएको देखाएका छन् । उनीसँग साढे एक केजी चाँदी छ र अन्य विभिन्न महँगा गहना रहेको खुलाएका छन् । श्रीमती जुली महतोको नामबाट विभिन्न संघसंस्थामा करिब ४० करोड सेयर लगानी गरेका हुन् । मन्त्री महासेठले ७२ लाख नगद रहेको विवरण पनि बुझाएका छन् । बैंकबाट लिएको २३ करोड ऋणसमेत देखाएका छन् ।

मातृका यादवसँग पनि राजधानीमा करोडको जग्गा, १६ तोला सुन


उद्योगमन्त्री मातृका यादवले ललितपुरको चापागाउँमा एक करोड ५ लाखमा घडेरी खरिद गरेका छन् । त्यस्तै मन्त्री यादवले ०७४ मा मात्र १६ तोला सुन प्राप्त भएको उल्लेख गरेका छन् । विवाह र मुख देखाइमा माइती र आफन्तबाट उपहारका रूपमा उक्त सुन प्राप्त भएको उल्लेख गरेका छन् । यस्तै विभिन्न बैंकको खातामा उनीसँग ५ लाख ५२ हजार नगद छ । यसबाहेक उनकी श्रीमतीको नाममा बा.१४प ७३० नम्बरको गाडी छ । तर, गाडीको मोडल खुलाएका छैनन् ।

उनीसँग सिरहा र धनुषामा पनि जग्गा छ । उनले उक्त जमिनमध्ये केही पैतृक भएको र बाँकी स्वआर्जन तथा ऋण लिएर खरिद गरेको दाबी गरेका छन् । तर, शान्तिप्रक्रियामा आएसँगै माओवादीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा यादवसँग नगद थिएन । उनले करिब २ लाखबराबरको घरघडेरी भएको उल्लेख गरेका थिए । करिब ३ लाखबराबरको सुन र चाँदी भएको उल्लेख गरेका थिए । उनी त्यसपछि ०६५ मा गठित माओवादीको नौमहिने सरकारमा वनमन्त्री भए । त्यसयता भर्खर मात्र लाभको पदमा छन् । तर, उनी करोडौँ सम्पत्तिका मालिक भएका छन् ।

सुनमा धनी १० मन्त्री

-पर्यटनमन्त्री रवीन्द्र अधिकारी : ६० तोला
-भौतिक योजनामन्त्री रघुवीर महासेठ : ५२ तोला
-खेलकुदमन्त्री जगतबहादुर सुनार : ५० तोला
-कानुनमन्त्री शेरबहादुर तामाङ : ३० तोला
-प्रधानमन्त्री केपी ओली : १८ तोला
-उद्योगमन्त्री मातृका यादव : १६ तोला
-ऊर्जामन्त्री वर्षमान पुन : १५ तोला
-स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल : १५ तोला
-अर्थमन्त्री युवराज खतिवडा : १० तोला
-रक्षामन्त्री ईश्वर पोखरेल : ८ तोला

डा. युवराज खतिवडा, अर्थमन्त्री

घरजग्गा : दुईवटा पक्की घर, बिघौँ जग्गा
धनी मन्त्रीको सूचीमा रहेका अर्थमन्त्री खतिवडाको काठमाडौं–४ मा ५ आनामा बनेको घर छ । उनकी श्रीमतीको नाममा सोही स्थानमा १४ आनामा ठडिएको अर्को घर छ । एउटा घर राष्ट्र बैंकबाट सापटी लिएर र अर्को घर संयुक्त राष्ट्रसंघमा जागिरे हुँदा कमाएको पैसाले किनेको उल्लेख गरेका छन् ।

खतिवडा र उनकी श्रीमतीको नाममा भक्तपुरमा २४ आना, झापामा ४ बिघा १८ कट्ठा, काठमाडौं कागेश्वरीमा ४ रोपनी १ आना २ पैसा र दोलखा सयौँ रोपनी जग्गा छ । यो जग्गा १ करोड ४९ लाख रुपैयाँमा खरिद गरेको उल्लेख छ ।

गहना : १० तोला सुन, १ किलो चाँदी
०३० यता १० तोला सुनका गरगहना जोडेका छन् । चाँदीका गहना १ किलो छन् ।

नगद र सेयर : बैंक र सहकारीमा करोडौँ
नबिल र सानिमा बैंकको खातामा गरी ६२ हजार सात सय ३ अमेरिकी डलर नगद राखेका छन् । यस्तै, विभिन्न बैंकमा ९० लाख छ । दुईवटा सहकारीमा ५ हजार ५० कित्ता सेयर ५ लाख ५ हजार रुपैयाँमा किनेको उल्लेख गरेका छन् ।

वर्षमान पुन, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री

घरजग्गा : ३५ वर्ष पुराना कच्ची घर, २ लाखको जग्गा
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले रोल्पामा ३५ वर्ष पुरानो ३ वटा घर रहेको उल्लेख गरेका छन् । यस्तै दाङ र रोल्पामा करिब २ लाख रुपैयाँ मूल्यबराबरको जग्गा देखाएका छन् । यो सबै पुख्र्यौली भएको जनाएका छन् ।

गहना : १५ तोला सुन, आधा किलो चाँदी
पुनले १५ तोला सुन र आधा केजी चाँदी रहेको उल्लेख गरेका छन् । उनले ०६८/६९ मा बाबुराम भट्टराई प्रधानमन्त्री रहँदा पेस गरेको सम्पत्ति विवरणमा पनि यही विवरण उल्लेख थियो । तर, शान्तिप्रक्रियासँगै माओवादीले आफ्ना ३५ केन्द्रीय सदस्यको सम्पत्ति विवरण सार्वजनिक गर्दा वर्षमानले श्रीमती ओनसरी घर्ती र दुई बहिनीको गरगहनासमेत पार्टीमा बुझाएको उल्लेख गरेका थिए । तर, त्यसपछि सरकारमा सहभागी हुँदा भने १५ तोला सुन र आधा केजी चाँदी मात्रै रहेको दाबी गर्दै आएका छन् ।

नगद र सेयर : नगद ११ लाख, सेयर छैन
सिंहदरबारस्थित एभरेष्ट बैंकमा आफ्नो र श्रीमतीको नाममा ३ लाख ३४ हजार र अन्यन्त्र थप ८ लाख नगद रहेको सम्पत्ति विवरणमा देखाएका छन् ।

चक्रपाणि खनाल ‘बलदेव’, कृषि विकासमन्त्री

घरजग्गा :  साढे २८ कट्ठा जग्गा
कृषि विकासमन्त्री चक्रपाणि खनालले कपिलवस्तु र रूपन्देहीमा आफ्नो र श्रीमतीको नाममा साढे २८ कट्ठा पैतृक जग्गा रहेको उल्लेख गरेका छन् । शान्तिप्रक्रियालगत्तै माओवादीले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा बुटवल र रुपन्देहीमा जम्मा १६ धुर जग्गा रहेको र त्यसको तत्कालीन मूल्य करिब ५ लाख भएको उल्लेख गरेका थिए ।

गहना : ६ तोला सुन
उनीसँग ६ तोला सुन छ, तर त्यसको आयस्रोत खुलाइएको छैन । शान्तिप्रक्रियालगत्तै पार्टीले सार्वजनिक गरेको उनको सम्पत्ति विवरणमा श्रीमतीको कानमा करिब १२ सय मूल्यबराबरको टप मात्र रहेको उल्लेख गरेका थिए ।

नगद र सेयर : बैंकमा १५ लाख, सेयरमा १० लाख
विभिन्न बैंकमा गरी १४ लाख ९६ हजार नगद छ । उनले उक्त नगदको स्रोत जग्गा बिक्री र श्रीमतीको व्यवसायबाट प्राप्त मुनाफा भएको उल्लेख गरेका छन् । यस्तै उनीसँग विभिन्न बैंकमा १० लाख ३६ हजार बराबरको सेयर छ । यसका अतिरिक्त मन्त्री खनालले श्रीमतीको नाममा १ लाख ६४ हजारमा खरिद गरेको एउटा स्कुटी छ ।

गोकर्ण विष्ट, श्रम तथा रोजगारमन्त्री

घरजग्गा : काठमाडौंमा घडेरी, गुल्मीमा ४० रोपनी जग्गा
श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टसँग श्रीमतीको नाममा काठमाडौं महानगरपालिका–२६ मा ४० लाखबराबरको घडेरी छ । उक्त घडेरी १५ वर्षे ऋणमा लिइएको उनले दाबी गरेका छन् । यस्तै गुल्मीमा करिब ४० रोपनी पैतृक जग्गा रहेको उल्लेख गरेका छन् ।

गहना : ७ तोला सुन
मन्त्री विष्टले करिब ७ तोला सुनका गहना रहेको विवरण बुझाएका छन् ।

नगद र सेयर : बचत ७ लाख र ३१४ कित्ता सेयर, ऋण ७३ लाख
विभिन्न बैंकमा ७ लाख ३२ हजार रुपैयाँ बचत छ । नेपाल कृषि विकास बैंक र मेगा बैंकमा ३ सय १४ कित्ता सेयर छ । उनले विभिन्न बैंकबाट ७३ लाख ऋण लिएको उल्लेख गरेका छन् । त्यसमध्ये ०६३ मा सिद्धार्थ बैंकबाट होमलोनको रूपमा ३६ लाख ऋण लिएको खुलाएका छन् ।

 गिरिराजमणि पोखरेल, शिक्षामन्त्री

घरजग्गा : पुख्र्यौली जग्गा प्रतिष्ठानलाई दान
मन्त्री पोखरेलले खोटाङमा २२ रोपनी पुख्र्यौली जग्गा देखाएका छन् । तर, यो पनि एउटा प्रतिष्ठानलाई दान दिएको बताएका छन् ।

नगद र सेयर : बैंकमा झन्डै ४ लाख
मन्त्री पोखरेलले विभिन्न बैंकमा गरी ३ लाख ८० हजार रुपैयाँ बचत रहेको देखाएका छन् । उक्त रकम सांसद, मन्त्री रहँदाको पारिश्रमिकबाट बचेको उल्लेख गरेका छन् । यस्तै, खोटाङस्थित रूपाकोट सामुदायिक रेडियोमा ५ हजार सेयर लगानी छ । मन्त्री पोखरेलले यसबाहेक कुनै सम्पत्ति नभएको उल्लेख गरेका छन् ।

पोखरेल अहिलेसमेत पाँचपटक मन्त्री भइसकेका छन् । सरकारमा रहँदा स्वास्थ्य या शिक्षा मन्त्रालय हाँक्दै आएका छन् । पाँचपटक मन्त्री हुँदा पनि उनले पेस गरेको सम्पत्ति विवरण सधैँ समान नै छ ।

ईश्वर पोखरेल, रक्षामन्त्री

घरजग्गा : ३ तले घर, ठाउँ–ठाउँमा जग्गा
मन्त्री पोखरेलको टोखा नगरपालिका–६ मा २३ आना जग्गामा बनेको ३ तले घर छ । यस्तै झापाको चन्द्रगढीमा १२ कट्ठा पैतृक जग्गा छ । श्रीमती मीरा पोखरेलको नाममा भक्तपुरको नगरकोटमा १ रोपनी ११ आना जग्गा छ । उक्त जग्गा श्रीमतीको माइतीले पेवाको रूपमा दिएको उल्लेख छ । यस्तै, श्रीमती मीराकै नाममा धादिङको खानीखोलामा ४ रोपनी पाखो जग्गा लिएका छन् ।

गहना : ९ तोला सुन, २५ तोला चाँदी
पोखरेलले आफूसँग ९ तोला सुन र २५ तोला चाँदी रहेको जनाएका छन् । ती गरगहना परिवारबाट उपहार प्राप्त र परिश्रमबाट खरिद गरेको उल्लेख गरेका छन् ।

नगद र सेयर : बचत पनि, ऋण पनि
मन्त्री पोखरेल र उनको श्रीमतीको नाममा विभिन्न बैंकमा १३ लाख ४० हजार बचत छ । यस्तै उनीसँग बरुण हाइड्रोमा १० हजार कित्ता सेयर छ । यस्तै मोडर्न कन्या क्याम्पसमा ५ हजार र कृषि विकास बैंकमा २ सय सेयर देखाएका छन् । उनले माछापुच्छ«े बैंकमा ३० लाख ऋण रहेको दाबी पनि गरेका छन् । मासिक किस्ता तिर्ने गरी ऋण रहेको र उक्त पैसा घर बनाउने क्रममा लिएको उल्लेख गरेका छन् ।

जगतबहादुर सुनार, खेलकुद तथा युवामन्त्री

घरजग्गा : पोखरामा ३ रोपनी जग्गा
मन्त्री जगतबहादुर सुनारले पोखरा–लेखनाथ महानगरपालिकामा करिब ३ रोपनी जग्गा रहेको विवरण बुझाएका छन् ।

गहना : ५० तोला सुन
उनीसँग ५० तोला सुन छ । त्यो सुन केही पैतृक र केही श्रीमतीलाई उपहारका रूपमा प्राप्त भएको उल्लेख छ ।

नगद र सेयर : २५ लाख बचत, कृषि बैंकमा ४ हजार कित्ता सेयर
उनीसँग नबिल बैंकमा २० लाख नगद छ । उनले एक साथीलाई ५ लाख ऋण दिएको पनि खुलाएका छन् । कृषि विकास बैंकमा ४ हजार कित्ता सेयर रहेको पनि विवरणमा छ ।

पद्माकुमारी अर्याल, स्वास्थ्य राज्यमन्त्री

घरजग्गा : लाखौँ मूल्यका घडेरी
मन्त्री अर्यालसँग स्याङ्जाको वालिङ नगरपालिकामा १२ आना जग्गा छ । यस्तै काठमाडौं, बर्दिया, रूपन्देहीमा ७२ लाखमा खरिद गरेको ७ वटा घडेरी छन् । उनले ती जग्गा व्यापारबाट प्राप्त मुनाफाबाट खरिद गरेको बताएकी छिन् ।

गहना : १५ तोला सुन, २० तोला चाँदी
अर्यालले १५ तोला सुन र २० तोला चाँदी भएको विवरण बुझाएकी छिन् ।

नगद र सेयर : बैंक र सहकारीमा लाखौंँ बचत तथा सेयर
विभिन्न बैंकमा करिब १० लाख ५० हजार रुपैयाँ बचत रहेको देखाए पनि स्रोत खुलाएकी छैनन् । उनले विभिन्न सहकारीमा ७५ हजार रुपैयाँ र जनता बैंकमा एक लाख सेयर लगानी गरेकी छिन् । यस्तै मेगा बैंकमा ९३० कित्ता सेयर छ । एक बैकबाट ८ लाख ऋण लिएको र त्यसमध्ये ३ लाख तिरिसकेको उल्लेख गरेकी छिन् । यस्तै लक्ष्मीपति पौडेलको नाममा १ लाख ९९ हजारमा किनेको एउटा मोटरसाइकल पनि विवरणमा उल्लेख गरेकी छिन् ।

 प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री

घरजग्गा : काठमाडौंमा दुईतले घर
मन्त्री ज्ञवालीले काठमाडौं महानगरपालिका– ३१ मा ४ आनामा बनेको २ तले पक्की घर देखाएका छन् ।

गहना : २ तोला सुन
श्रीमतीको गहनाको रूपमा २ तोला सुन छ ।

नगद र सेयर : ऋण धेरै
एभरेष्ट बैंकमा २ लाख ७५ हजार नगद छ । उक्त पैसा पारिश्रमिक र पुस्तकको रोयल्टीबाट प्राप्त भएको दाबी गरेका छन् । तर, उनले घरको कोठा थप्ने प्रयोजनका लागि विभिन्न व्यक्तिसँग १४ लाख ८५ हजार ऋण लिएको उल्लेख गरेका छन् ।

 शेरबहादुर तामाङ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री

घरजग्गा : काठमाडौंमा घर र घडेरी
मन्त्री तामाङको काठमाडौंको गोकर्णेश्वर–८ मा ३ आनामा बनेको अढाइतले घर छ । यस्तै उनीसँग सिन्धुपाल्चोक र काठमाडौंमा १८ रोपनी जग्गा छ । यस्तै काठमाडौमा थप ६ आनाको घडेरी छ । श्रीमतीको नाममा मोरङमा १ बिघा ३१ कट्ठा र खोटाङमा १०५ रोपनी जग्गा छ ।

गहना : ३० तोला सुन
उनले ३० तोला सुन रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

नगद र सेयर : १५ लाखको सेयर
१५ लाखको सेयर र १ लाख २८ हजार नगद देखाएका छन् । तर, उनले विभिन्न प्रयोजनका लागि ७० लाख ऋण लिएको उल्लेख गरेका छन् ।

शक्ति बस्नेत, वन तथा वातावरणमन्त्री

घरजग्गा : छोरीको नाममा घरजग्गा
मन्त्री बस्नेतसँग जाजरकोटमा एउटा पुख्र्यौली घर छ । छोरीको नाममा जाजरकोटमै ३ रोपनी ६ आना जग्गा छ । शान्तिप्रक्रियापछि पार्टीमा बुझाएको विवरणमा एक लाख पर्ने दुई रोपनी खेत देखाएका थिए ।

गहना : ५ तोला सुन, १० केजी चाँदी
बस्नेतसँग ५ तोला सुन र १० केजी चाँदी छ । सुन र चाँदी पारिश्रमिक र पैतृक सम्पत्तिबाट जोडेको दाबी गरेका छन् । शान्तिप्रक्रियापछि उनले आफूसँग ५ हजार मूल्यबराबरको सुन मात्रै रहेको विवरण देखाएका थिए ।

नगद र सेयर : २० लाख
उनीसँग १५ लाख रुपैयाँ नगद छ । एभरेष्ट बैंकमा थप २ लाख रुपैयाँ नगद बचत छ । यस्तै, दुईवटा सहकारी संस्थामा ३ लाख १० हजारको सेयर छ । तर, शान्तिप्रक्रियालगत्तै माओवादीले सार्वजनिक गरेको केन्द्रीय सदस्यको सम्पत्ति विवरणमा बस्नेतले आफूसँग नगद नभएको उल्लेख गरेका थिए । त्यसयता उनी तीनपटक मन्त्री भएका छन् ।

रवीन्द अधिकारी, पर्यटन तथा नागरिक उड्डयनमन्त्री

घरजग्गा : काठमाडौं र पोखरामा पक्की घर
मन्त्री अधिकारीसँग पोखरामा ९.५ रोपनी क्षेत्रफलमा दुईवटा पुख्र्यौली घर छन् । यस्तै काठमाडौंको बूढानीलकण्ठमा ५ आनामा बनेको घर छ । यस्तै, पोखरा–लेखनाथमै थप ९४ रोपनी ४ आना जग्गा छ । यो सबै सम्पत्ति सगोलमा भएको उनले उल्लेख गरेका छन् ।

गहना : ६० तोला सुन, ३० केजी
मन्त्री अधिकारीले ६० तोला सुन र ३० केजी चाँदी रहेको विवरण बुझाएका छन् ।

नगद र सेयर : २७ लाख बैंकमा, ३० लाख सेयरमा
दुईवटा बैंकमा गरी २५ लाख ५७ हजार रुपैयाँ बचत छ । उक्त पैसा जग्गा बिक्री र पारिश्रमिकबाट प्राप्त भएको उल्लेख छ । यस्तै गण्डकी विकास बैंकमा २६ हजार र पानीखोला हाइड्रोपावरमा ३० लाखबराबरको सेयर छ ।

थममाया थापा, महिला, बालबालिकामन्त्री

थममाया थापाले बुझाएको सम्पत्ति विवरणअनुसार उनी गरिब मन्त्रीमा पर्छिन् । थापासँग म्याग्दीको बेनी–८ मा ७ आनामा बनेको घर छ । उनीसँग आमाले दिएको १ तोला सुन पनि छ । यस्तै माछापुछ्रे, एभरेष्ट र कुमारी बैंकमा गरेर जम्मा १५ हजार रुपैयाँ नगद छ ।

विना मगर, खानेपानीमन्त्री

विना मगरले आफ्नो नाममा केही पनि सम्पत्ति नभएको उल्लेख गरेकी छिन् । तर, श्रीमान् प्रकाश दाहाल र सासू सीता दाहालका नाममा भरतपुर वडा नं. १४ र १२ मा ३ कट्ठा जमिन छ । उक्त जमिनमध्ये २ कट्ठा मावलीको हजुरआमाबाट प्राप्त भएको र एक कट्ठा पैतृक रहेको उल्लेख गरेकी छिन् ।

उनले ५ तोला सुन र १६ तोला चाँदी देखाएकी छिन् । उक्त गरगहना पैतृक भएको जनाएकी छिन् । यस्तै उनले प्रकाश दाहालको नाममा रहेको एउटा स्कुटी पनि खुलाएकी छिन् ।

सम्पत्ति विवरणका रमाइला पक्ष
– ऊर्जामन्त्री वर्षमान पुन ०६३ को अन्तरिम सरकारमा शान्तिमन्त्री थिए । त्यसयता उनी दुईपटक सांसद भए । ०६८ मा गठन भएको बाबुराम भट्टराई नेतृत्व सरकारमा अर्थमन्त्री भए । उनकी श्रीमती ओनसरी घर्ती तीनपटक सांसद भइन् । त्यसमध्ये अघिल्लो संसद्को सभामुख पनि थिइन् । पुन अहिले उर्जा मन्त्री छन् । तर उनले २०६३ मा सार्वजनिक गरेको सम्पत्ति विवरणमा कुनै फेरबदल भएको देखिदैन । बैंक खातामा हरेक पटक ३ लाखको आसपासमा मात्र बचत देखिन्छ ।

-मन्त्री महासेठ वर्तमान सरकारमा सबैभन्दा धनी मन्त्री देखिएका छन् । उनले २०५४ सालदेखि २०५७ सालभित्र अर्बौको जग्गा खरिद गरेको देखिन्छ । तर त्यसको स्रोत खुलाइएको छैन ।

-अर्थमन्त्री युवराज खतिवडाले राष्ट्र बैंकको कर्मचारी हुँदा सोही बैंकबाट सापटी लिएर ५ आनामा घर बनाए । यस्तै उनीसँग नबिल र सानिमा बैंकमा ६२ हजार ७०३ अमेरिकी डलर नगद छ । वर्तमान सरकारमा उनीमात्र डलर बचतकर्ता मन्त्री हुन् ।

– २०६३ मा पार्टी मार्फत सार्वजनिक गरेको सम्पत्ति विवरणमा कृषि विकास मन्त्री चक्रपाणि खनालसँग एक रुपैँया पनि बचत थिए । बुटवल र रुपन्देहीमा जम्मा १६ धुर जग्गा थियो । गहनाको रुपमा जम्मा दुइ वटा टप थिए । तर अहिले साँढे अठ्ठाइस कट्ठा जग्गा छ । ६ तोला सुन छ । विभिन्न बैंकमा १४ लाख ९६ हजार नगद छ । १० लाख ३६ हजारको शेयर छ ।

– शिक्षा मन्त्री गिरिराजमणि पोखरेल पाँचौ पटक सरकारमा छन् । तर पहिलो पटक मन्त्री भएदेखि अहिलेसम्म एउटै सम्पत्ति विवरण पेश गरिरहेका छन् ।

-भुमीगत र जेलमा धेरै समय विताएका केपीशर्मा ओली मन्त्रीको रुपमा सरकारमा जम्मा दुई पटक मन्त्री भए । त्यसपछि उनीसँग भत्तपुरको सुर्यविनायकमा डेढ रोपनी जग्गामा ३ तले दुइवठा छ । झापाको पृथ्वीनगरमा १० कट्ठा जमीन छ । यो सबै स्वआर्जनबाट भएको उल्लेख छ । पहिलो पटक मन्त्री हुनुअघि उनीसँग २१ लाख बचत थियो । दोस्रो पटक प्रधानमन्त्री हुँदा उनको खातामा ४१ लाख नगद र ४ तोला सुन थपिएको छ । पदमा रहँदाको पारिश्रमिकलाई हिसाब गर्दा उनले जोडेको सम्पत्ति अस्वभाविक देखिन्छ ।

-साइकल चढ्ने मन्त्रीको रुपमा चिनिएका लालबाबु पण्डितसँग ४५ लाख नगद छ । दोस्रो पटक मन्त्री हुँदा उनको नाममा ६ लाख थपिएको छ । तर भर्खरै सम्पन्न भएको निर्वाचनका क्रममा उनले पानी खाने पैसा समेत नभएको भन्दै चन्दा मागेका थिए । उनले उक्त ५० लाख रुपैँया ब्याजमा लगाएको उल्लेख गरेका छन् । यस्तै उनले २०७२ सालमा पेश गरेको सम्पत्ति विवरणमा देखाएको सर्लाहीकै धनगढा ६ को १२ गट्ठा जग्गा अहिलेको सम्पत्ति विवरणमा देखाएनन् ।

-शान्ति प्रकृयामा आउँदा मातृका यादवसँग नगद थिएन । करिब २ लाखको पुर्खौली जग्गा थियो । ३ लाख बराबरको सुन र चाँदी थियो । त्यस बाहेक कुनै सम्पत्ति थिएन । यो वीचमा उनी एक पटकमात्र नौ महिने सरकारमा मन्त्री भए । अहिले उनीसँग चापागाउँमा मात्र एक करोडमा घडेरी छ । १६ तोला सुन, ५ लाख बचत र एउटा गाडी छ । थप ५० लाख बराबरको तराइमा घडेरी छ ।

– शान्ति प्रकृया लगत्तै माओवादीले सम्पति सार्वजनिक गर्दा बस्नेतसँग नगद थिएन । करिब एक लाख पर्ने दुइ रोपनी खेत र करिब ५ हजारको सुनमात्र थियो । यस वीचमा उनी एक पटक प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार, तीन पटक सांसद र तीन पटक मन्त्री भए । अहिले उनीसँग १७ लाख नगद, ३ लाख १० हजारको शेयर, ५ तोला सुन र १० केजी चाँदी छ ।

– शान्ति प्रकृयामा आउँदा बादलसँग एक रुपैँया पनि नगद थिएन । चितवनमा २ कठ्ठाको घडेरी थियो । साँढे १ तोला सुन थियो । त्यसयता उनी एक पटकमात्र नौ महिना रक्षा मन्त्री भए । अन्तरविरोधपछि पार्टी फुटाएर आन्दोलनमा होमिए । र पनि उनीसँग १४ हजार ६ सय रुपैयाँको शेयर, चितवनमा घर, ६ तोला सुन र ६ लाख ८० हजार नगद छ । थप दुइ वटा कुकुर पनि छ ।

सम्बन्धित सामग्रीहरू