अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५१ | Colorodo: 21:06

आफ्नो भाषा बेचेर कुनै पनि कुरामा सम्झौता हुन्न- प्रा. डा. लुइटेल

बिआरटीनेपाल २०७५ वैशाख ३० गते ९:०८ मा प्रकाशित

राजधानीको त्रिपुरेश्वरस्थित विश्व निकेतन मा.वि.मा शनिवार भएको कक्षा १ देखि १२ सम्मका प्रत्येक कक्षामा १००/१०० पूर्णाङ्कको नेपाली विषयको अनिवार्यताका विषयमा भएको अन्तरकृयामा शिक्षा सचिव नै नेपाली भाषाको विरोधमा लागेको भन्दै नेपाली विषय बचाउ अभियान–२०७५ काठमाडौँले आपत्ति गरेका छन् । उनी लगायत अन्य दोहोरो चरित्र देखाउने र नेपाली भाषालाई सखाप पार्न लाग्नेहरुलाई बेलैमा सुध्रिन चेतावनी समेत दिइएको छ । 

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुईटेलले आफ्नी आमालाई बन्धकी राखेर, आफ्नो भाषा बेचेर कुनै पनि कुरामा सम्झौता नगर्ने प्रतिबद्धता गर्दै भाषा विरोधीहरूलाई कडा चेतावनी दिएका छन् । उनले पेशागत सङ्घ तथा सङ्गठन, महासङ्घ, प्राध्यापक, विद्यार्थी, पत्रकारलगायत नेपाली भाषी सबैसँग मिलेर अगाडि बढ्ने भन्दै दोहोरो चरित्र देखाउने र भाषा मास्न लाग्नेहरुलाई सार्वजनिक रूपमै नछाड्ने चेतावनी दिए । उनले प्रत्येक कक्षामा १००/१०० पूर्णाङ्कको नेपाली विषयको अनिबार्यता, लोकसेवामा पनि नेपाली विषय समेट्नुपर्नेमा जोड दिएका छन् । 

अभियानका संयोजक सविन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा त्रि.वि. नेपाली विभागका प्रमुख तथा नेपाली विषय समिति अध्यक्ष प्रा.डा.देवीप्रसाद गौतमले नेपाली विषयलाई वैज्ञानिक बनाएर सङ्काय अनुसारका विषयवस्तु समावेश गरी प्रयोजनपरक पाठ्यक्रम निर्माण गर्नुपर्ने अवधारणा प्रस्तुत गरेका थिए । गौतमले सम्बन्धित तहका शिक्षक नै विषय विज्ञ भएको भन्दै उनीहरूलाई निर्णय प्रक्रियामा समावेश गरिनुपर्ने र यसका लागि शिक्षा क्षेत्रका पेशागत महासङ्घ, सङ्घ, तथा सङंगठनहरु सचेत हुनुपर्ने बताए । 

अखिल नेपाल शिक्षक सङ्गठनका वरिष्ठ उपाध्यक्ष लछिराम शर्मा ढकालले जवर्जस्ति अङ्ग्रेजी भाषा लादिएकोमा घोर आपत्ति प्रकट गर्दै अभियानको साथमा अगाडि बढ्ने प्रतिबद्धता जाहेर गरे ।

नेपाल शिक्षक सङ्घका प्रतिनिधि लक्ष्मीकिशोर सुवेदीले यो अभियान सबै नेपालीको अभियान भएकाले नेपाली भाषाको अस्तित्व र पहिचान जोगाउन नेपाली भाषामाथिको आक्रमणलाई चिरेर भाषा र विषय बचाउनुपर्ने अवधारणा प्रस्तुत गरे ।

नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिका अध्यक्ष बाबुराम थापाले नेपाली भाषा संविधानको भाषा, अदालतको भाषा, नेपालभर बोलिने सम्पर्क भाषा अथवा नेपालमा १२५ जातिले बोल्ने १२३ भाषाको माउ भाषा भएको हुनाले अभियानको माग जायज रहेको भन्दै साथ, समर्थन र सहकार्यका लागि प्रतिबद्धता जाहेर गरे । 

त्यसै गरी नेपाल शिक्षक महासङ्घका उपाध्यक्ष तिलक कुँवरले राष्ट्रलाई कमजोर बनाउन भाषामाथि आक्रमण गर्न खोजिएको भन्दै कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका महासचिव लक्ष्मण शर्माले आफ्नो भाषा नभएका विभिन्न देशको उदाहण दिँदै आफ्नो भाषा र संस्कृतिको महत्त्वमाथि प्रकाश पारेका थिए । उनले अभियानको माग जायज भएकाले पूर्ण साथ र समर्थन रहने प्रतिबद्धता व्यक्त गरे ।

पत्रकार गोपाल घिमिरेले केही नेपाली भाषाका विज्ञ भनौदाहरु नै नेपाली भाषा मास्न लागिपरेको तितो सत्यको अवगत गराउँदै राजनीति गर्नेहरुलाई भाषाको पक्षमा राजनीति गरेर नेपाली भाषा र विषय बचाउन आग्रह गरे । 

नेपाली विषय बचाउ अभियान–२०७५, एम.एड, एम.ए. तथा एमफिल शिक्षाशास्त्रका सचिव सन्तोष कार्कीले विद्यार्थीको योगदान र तागतको स्मरण गराउँदै अभियानको माग पूरा गर्न जस्तोसुकै कदम चाल्न बाध्य हुने बताए ।

अभियानका संयोजक सविन लम्सालले वैशाख ८ गते त्रि.वि.दर्शनाचार्य कार्यक्रमका ३५ जनाबाट सुरु भएको अभियानले २९ गतेसम्म आइपुग्दा ३५ लाखको माझमा पुगिसकेको अवगत गराउँदै जस्तोसुकै परिस्थिति आएपनि खुट्टा नकमाई नेपाली भाषाको संरक्षणमा लागिपर्ने र अभियानले उठाएको कुरा पूरा गरेरै छाड्ने प्रतिबद्धता जाहेर गरे । 

कार्यक्रमा अभियानकी सदस्य अमृता भट्टराईले स्वागत गरेकी थिइन भने अभियानका सदस्य केदारप्रसाद दाहालले अन्तरकृयाको विषय माथि प्रकाश पारेका थिए भने अभियानकी सदस्य मेनका वाग्लेले उपस्थित सबैमा हार्दिक धन्यवाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सञ्चालन अभियानका सचिव विजय पण्डितले गरेका थिए भने कार्यक्रममा शिक्षा क्षेत्रमा कार्यरत पेसागत महासङ्घ, सङ्घ तथा सङ्गठनका पदाधिकारी, प्राध्यापक, पत्रकार, विद्यार्थी र नेपाली भाषाप्रेमीहरुको उल्लेख्य उपस्थिति थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू