अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:०० | Colorodo: 10:15

साङ्गीतिक कन्सर्टको लागि बिपुल क्षेत्री कोलोराडो आउँदै

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ वैशाख २९ गते १७:०३ मा प्रकाशित

युवा पुस्ता माझ लोकप्रिय गायक बिपुल क्षेत्रीले यही अगस्त १० तारिखको दिन कोलोराडोको डेनभर सहरमा साङ्गीतिक कन्सर्ट गर्ने भएका छन् । सेर्भान्टेस मास्टरपिस बलरुममा बेलुका ७ बजे देखि सुरु हुने कन्सर्ट नेपाली घरको सहयोगार्थ कोलोराडोका उत्साही समाजका सदस्यहरू काभ श्रेष्ठ, बिरेन सुवाल सिंह, डा. संगिता श्रोत्रिय, सुभेक्षा भट्टराई, प्रकाश ज्ञवाली, नवीन दत्त, विजय नेपाली अधिकारी, दीपक गौतम, सम्बित भट्टराई, पुष्पा गुरुङ, सुमेन्द्र ढङोल तथा क्रिस्टेन रन्जितहरुले संयुक्त रूपमा आयोजना गर्दैछन । लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेर नेपाली सङ्गीतमा आफ्नो ज्ञान र अनुभव समर्पण गरेका बिपुलका सिन्डिगेट, असार, राम साइँली जस्ता गीतहरू दर्शक स्रोत माझ लोकप्रिय रहेका छन् ।

आयोजक मध्ये डा. संगिता श्रोत्रियले बिआरटी नेपालसँग कुरा गर्दै भनिन “हामीले दर्शकहरूको अपेक्षालाई मध्यनजर गर्दै लाइट, साउण्डमा विशेष ध्यान दिएका छौ । साथै, उनले थप्दै भनिन” हामीले कोलोराडोमा कम्युनिटी घर बनोस् भन्ने हेतुले यसबाट उठेको केही रकम,  नेपाली घरलाई कम्युनिटी घर बनाउन थप सहयोग होस् भनेर दिनेछौ ।

कार्यक्रम आयोजक मध्येका नवीन दत्तले भने “छोटो समयमा ठुलो परिचय बनाएका विपुल क्षेत्री आफ्नो गीत मार्फत आममानिसको जीवनशैलीलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् त्यसैले पनि उनका गीत कर्णप्रिय छन् । झट्ट सुन्दा अनप्लग लाग्ने विपुलका गीत स्टेज पर्फमेन्समा थोरै इम्प्रोभाइज्ड रूपमा फरक ढङ्गले कन्सर्ट दिनु यो ब्यान्डको विशेषता नै बनिसकेको छ ।”

विपुल गायनसँगै विद्यार्थीलाई अन्तर्राष्ट्रिय सङ्गीतका बारेमा कक्षा दिन्छन् र आफूचाहिँ लोकआधुनिक नेपाली गीत सिर्जना गर्छन् । आफ्ना सिर्जना वेस्टर्न र इस्टर्न म्युजिकको फ्युजन भएको उनको तर्क छ । उनले एउटा अन्तरवार्तामा भनेका छन् – ‘मैले पश्चिमा सङ्गीत सिकेँ, तर जन्मजात नेपाली भएकाले ममा संस्कारका रूपमा पूर्वीय सङ्गीत विकास भैसकेको रहेछ । विपुल गिटारका साथमा सारङ्गी र टुङ्नाको फ्युजनमा रमाएका छन् । त्यसलाई उनी विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’ को विशेषता नै मान्छन् । यो कार्यक्रमको मेडिया पार्टनरमा बिआरटी नेपाल डट कम रहेको छ ।

प्रतिक्रिया