अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०८ | Colorodo: 18:23

अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रसम्बन्धी सम्मेलन नेपालमा हुने

बिआरटीनेपाल २०७५ वैशाख २६ गते १०:३४ मा प्रकाशित

काठमाडौँ, अन्तर्राष्ट्रिय सार्वजनिक क्षेत्रसम्बन्धी सम्मेलन नेपालमा हुने भएको छ। नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) को आयोजनामा वैशाख २९ गते काठमाडौँमा सम्मेलन गर्न थालिएको बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो।

आइक्यानका अध्यक्ष सिए प्रकाश थापाका अनुसार सम्मेलनमा अन्तर्राष्ट्रिय वित्तीय व्यवस्थापन प्रणाली, सङ्घीयतामा वित्तीय प्रबन्ध, सार्वजनिक क्षेत्रमा लेखा परीक्षणको कार्य, सार्वजनिक वित्तीय व्यवस्थापनमा विभिन्न देशको प्रशासकीय अभ्यासका विषयमा चारवटा सत्र रहेका छन्।

शनिवार बिहान राजधानीको होटेल याक एण्ड यतीमा हुने कार्यक्रममा उद्‍घाटन अर्थमन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ। दिनभर विभिन्न विषयमा छलफल गरिने अध्यक्ष थापाले जानकारी गराउनुभयो।

सम्मेलनमा २३ देशका ३२ वटा संस्थाका प्रतिनिधिसहित २५० भन्दा बढीको प्रतिनिधित्व हुने बताइएको छ। काप्पा र सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायीत्व (पेफा) कार्यालयको सहकार्यमा हुने कार्यक्रमा पेफा सचिवालयले नेपालमा वित्तीय व्यवस्थापनको सम्बन्धमा कार्यपत्र पस्तुत गर्ने कार्यक्रम रहेको छ। त्यस्तै महालेखा परिक्षको कार्यालयबाट पनि कार्यपत्र प्रस्तुत गरिने छ।

‘सम्मेलनले सार्वजनिक वित्त अवधारणा कार्यान्वयनमा रहेका चुनौती र सार्वजनिक वित्त व्यवस्थापनलाई सुदृढ गर्नमा सम्बद्ध पक्षको तयारीलाई सहयोग पुग्नेछ’ अध्यक्ष थापाले भन्नु भयो। उहाँले वित्तीय व्यवस्थापनको पुर्नसंरचना तथा सुधारमा लेखा व्यवसायीको महत्त्वलाई पनि सम्मेलनले सहयोग पुर्‍याउने बताउनु भयो।

त्यस्तै काप्काका विभिन्न समितिको बैठक र साधारण सभा पनि नेपालमा हुने भएको छ। शुक्रवार काप्काका तीन समितिको बैठक हुने भएको छ। शनिवार सम्मेलन हुने छ भने आइतबार काप्काको साधरणसभा हुने काप्काका निर्देशक प्रकाश लम्सालले बताउनु भयो। उहाँका अनुसार शुक्रवार तीन समितिको बैठक बस्ने छ भने आइतबार साधरणसभा हुनेछ। सम्मेलनमा भाग लिन अहिलेसम्म १८ वटा देशका प्रतिनिधले नाम टिपाइसकेको बस्नेतले जानकारी गराउनुभयो।

त्यस्तै आइक्यानले वैशाख ३१ गते सोमबार ‘सिए शिक्षा मेला २०१८ ‘ गर्ने भएको छ। राजधानीको पुलिस क्लबमा आयोजना हुने मेलामा आइक्यान तथा आइक्यानबाट सम्वन्धन प्राप्त कोचिङ्ग सेन्टरहरूका स्टल रहने जनाइएको छ। अन्तर्राष्ट्रिय लेखा व्यवसायी संस्था, दक्षिण एसियाली लेखा व्यवसायीको संस्था तथा एसिया प्रशान्त लेखा व्यवसायीहरूको संस्थाबाट आइक्यानले सदस्ता प्राप्त गरेको छ।

आइक्यानका हालसम्म आठ हजार ४०० सदस्य रहेका छन् भने लेखा व्यवसायमा प्रवेश गर्न चाहने सात हजार विद्यार्थी अध्‍ययनरत रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू