अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४८ | Colorodo: 03:03

साइबेरियन चराले महोत्तरीको गौशाला सेताम्मे

बिआरटीनेपाल २०७५ वैशाख २० गते ३:५२ मा प्रकाशित

साइबेरियन चरा एकीकृत भएर बसेपछि महोत्तरीको गौशाला क्षेत्र सेताम्मे बन्दै गएको छ । बकुल्ला झैँ देखिने यी चरा इलाका प्रहरी कार्यालय, गौशालाको परिसरमा रहेको मसलाको रुखमा गुँड बनाएर बसेपछि यहाँको वातावरण नै सेताम्मे बनेको छ ।

वर्षेनि गर्मी मौसम शुरु भएलगत्तै यहाँ आउने यी चरा असोज मसान्ततिर साइबेरीयातर्फ फर्किने गरेका छन् । वर्षेनि नेपालको यस क्षेत्रमा मात्र किन आउँछन् कौतुहलताको विषय भएता पनि सो कुरा अझै पत्ता लागेको छैन । नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चरा वर्षेनि गर्मी मौसमको शुरुवातसँगै आउने र असोजको अन्तिमसम्ममा फर्कने गरेको स्थानीय नागेन्द्रकुमार साहले बताउनुभयो । बकुल्लाजस्तै देखिने सेतो रङको चरा बकुल्ला प्रजातिको भएको र छ महिनासम्मको बसाइ यी पक्षीका लागि प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको साहले जनाउनुभएको छ ।

अन्य स्थानबाट प्रहरी कार्यालय सुरक्षित भएको र यहाँका मौसम पनि उनीहरुका लागि उपयुक्त भएपछि वर्षेनि सोही स्थानमा यी चरा आउने गरेको गौशाला उद्योग वाणिज्य संघका सदस्य लालबाबु साहले बताउनुभयो ।

सेतो घाँटी र पहेँलो घाँटी भएको उक्त साइबेरियन चरालाई इलाका प्रहरी कार्यालय, गौशाला र महोत्तरीवासीले पाहुनाका रुपमा लिएको र आफूहरुले वर्षौंदेखि यसको संरक्षण, हेरचाहमा समेत ध्यान दिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू