अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४६ | Colorodo: 21:01

नेपाल स्रष्टा समाजको साहित्यिक टोली बङ्गलादेशबाट फिर्ता

पुष्पा खनाल, काठमाडौँ २०७५ वैशाख १९ गते १०:३५ मा प्रकाशित

गत शुक्रवार बङ्गलादेशको ढाका गएको नेपाली स्रष्टाहरूको साहित्यिक टोली नेपाल फर्किएको छ । ढाकामा आयोजित साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर टोली नेपाल फर्किएको हो । नेपाल स्रष्टा समाजलाई बङ्गलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीले सो कार्यक्रममा सहभागिताका लागि निमन्त्रणा गरेको थियो । बङ्गलादेशका उपसभामुख मो. फैजल रब्बी मियाको प्रमुख आतिथ्यता तथा बङ्गलादेशका लागि नेपाली राजदूत प्रा. डा. चोपलाल भुसालको विशेष आतिथ्यतामा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बङ्गलादेशका कविहरू मोहम्मद नुराल हुडा, हबिबुल्लाह सेराजी, प्रा. डा. दिलारा हाफिस, रविउल हुसेन, मुस्तफा मजिद, अफ्रुजा सुल्ताना तथा नेपालका साहित्यकारहरू नगेन्द्रराज शर्मा, मञ्जुुल, सुस्मिता नेपाल, प्रा. डा. कुसुमाकर न्यौपाने, पुष्पा खनाल, मोहन चापागाई, नवराज पुडासैनी तथा सरस्वती शर्मा जिज्ञासु र नेपाली दूतावासका उप–प्रमुख धनबहादुर ओलीले आ–आफ्ना रचनाहरू वाचन गर्नुभएको थियो ।

साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन कार्यक्रमको आयोजना गरिएको हो । नेपाल र बङ्गलादेशका यी दुई संस्थाबिच दशक लामो साहित्यिक, सांस्कृतिक सम्बन्ध रहिआएको छ ।

कार्यक्रममा नेपाल स्रष्टा समाजका कोषाध्यक्ष, गीतकार पुष्पा खनालको म्युजिक भिडियो “यो आँखाको पानीलाई” सार्वजनिक गरिएको थियो ।

म्युजिक भिडियो सार्वजनिकपछि बोल्दै प्रमुख अतिथि उपसभामुख मो. फैजल रब्बी मियाले सङ्गीत भनेको विश्वव्यापी भाषा भएको बताउँदै सार्वजनिक गरिएको म्युजिक भिडियोमार्फत् व्यक्त भावनाले आफ्नो मन छोएको बताउनुभयो । उहाँले नेपाल र बंगलादेशबीचको वर्षौँदेखिको अटुट सम्बन्धको जगलाई दुई देशको साहित्य र संस्कृतिले बलियो बनाएको पनि उल्लेख गर्नुभयो ।
आफ्ना रचनाहरूलाई अन्तर्राष्ट्रियकरण गर्ने आफ्नो सपना आज पूरा भएको बताउँदै स्रष्टा पुष्पा खनालले कुनै जात, जाति, भाषा र धर्म तथा राजनीतिक, सामाजिक, सांस्कृतिक आस्थाभन्दा पर पनि एउटा सम्बन्ध हुन्छ जसलाई सङ्गीतले मात्र जोड्न सक्छ भन्नुभयो ।

कार्यक्रमका विशेष अतिथि राजदूत चोपलाल भुसालले आफू राजदूत भएर बङ्गलादेश आउँदा कुनै अनौठो अनुभूति नभएको र यो आफ्नै दोस्रो घर जस्तो लागेको बताउँदै यो सबै भनेको दुई देश बिचको सामाजिक, सांस्कृतिक समानता कारण भएको बताउनुभयो ।

बीसौँ वर्षअघिदेखि यहाँका मानिस र संस्कृतिसँग आफू जोडिएको भन्दै वरिष्ठ कवि मञ्जुलले बंगलादेशी साहित्यकार तथा यहाँका जनताहरू धेरै सहयोगी, मित्रवत् तथा हामीको भावना बोकेर हिँड्ने खालका भएको बताउनुभयो ।

शरीर, अभिव्यक्ति र कविताको बेग्लै भाषा हुने बताउँदै वरिष्ठ कवि, पत्रकार नगेन्द्रराज शर्माले सार्वजनिक गरिएको म्युजिक भिडियो तथा कार्यक्रममा वाचन गरिएका कविताहरू बेग्लै भाषाका भए पनि ती कुराहरू आपसमा बुझ्न कठिन नभएको बताउनुभयो ।

यस्तै नेपाल स्रष्टा समाजका अध्यक्ष पवन आलोकले दुई देशका जनताबिचको न्यानोपनका कारण नेपाल स्रष्टा समाजको स्थापना अघिदेखि नै बङ्गलादेशका साहित्यिक संस्थाहरूसँग गाढा सम्बन्ध बनिसकेको बताउनुभयो । एक अर्काका विचार, भावना र अनुभवको आदानप्रदान गर्दै यो सम्बन्धलाई अझ दिगो र फलदायी बनाउन यस्ता कार्यक्रमहरूले सहयोग गरेको पनि बताउनुभयो ।

बङ्गलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष मो. इम्दादुल हकले कार्यक्रम सफल बनाउन हरतरहले प्रयासरत सोसाइटीका कार्यसमिति सदस्यहरू तथा अन्य सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
यसियाटिक सोसाइटीको सभाहलमा बङ्गलादेश–नेपाल फ्रेण्डसीप सोसाइटीले कार्यक्रमको आयोजना गरेको हो ।

चारदिनको भ्रमणको क्रममा टोलीले ढाका विश्व विद्यालय, जहाँगिर विश्व विद्यालय, सहिद मिनार, बङ्गलादेशको संसद्, राष्ट्रिय कवि काजी नजरुल इस्लामको समाधि, ढाकेश्वरी मन्दिर, केन्द्रीय सहिद स्मारकलगायतका महत्त्वपूर्ण स्थानहरूको अवलोकन भ्रमण गरेको थियो ।

यसैबिच बङ्गलादेशका लागि नेपाली राजदूतावासले साहित्यिक टोलीको सम्मानमा विशेष साहित्यिक कार्यक्रम र रात्रीभोजको आयोजना गरेको थियो । सो कार्यक्रममा पनि बङ्गलादेश र नेपालका वरिष्ठ कविहरूले आफ्ना रचनाहरू सुनाउनुभएको थियो ।

सम्बन्धित सामग्रीहरू