अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२८ | Colorodo: 06:43

अघि बढ्यो पेट्रोलियम पाइपलाइन १५ महिनामा सक्ने लक्ष्य

राजधानी दैनिक २०७५ वैशाख ५ गते १०:५३ मा प्रकाशित

बहुप्रतिक्षित मातिहारी–रक्सौल– अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण आयोजनाले पेट्रोलियम ढुवानीका लागि पाइप बिछ्याउन सुरु गरेको छ । आयले निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको भोलिपल्टै मङ्गलवार सिमराबाट पाइपलाइन बिछ्याउने कार्यको औपचारिक सुरुवात गरिएको छ ।

गत २३ फागुनदेखि आयोजनाले पाइपको वेल्डिङ कार्य सुरु गरेको थियो । भारतबाट आयातित पाइप वेल्डिङ गरी खाडलमा हाल्ने कार्य मंगलबारबाट सुरु भएको हो । जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित तराई यातायात व्यवसायी सङ्घको धर्मकाँटा नजिकबाट सोमबार खाडलमा पाइप बिछ्याउन सुरु गरिएको थियो ।

भारतीय सहर रक्सौलदेखि बाराको अमलेखगन्जसम्मको ३६ किलोमिटर लामो पेट्रोलियम पाइपलाइन विस्तारको जिम्मा पाएको भारतीय कम्पनी लिखिथा इन्फ्रास्टक्चर प्रालिका प्राविधिकहरूले पाइपलाइन विस्तारको काम गरिरहेका छन् ।

नेपाल आयले निगमको सिमरास्थित पेट्रोलियम पाइपलाइन आयोजना कार्यालयका आयोजनाविज्ञ शरदकुमार पौडेलले पाइपलाइन विस्तार कार्य १५ महिनाभित्र सक्ने लक्ष्य रहेको जानकारी दिए । भारतीय कम्पनी लिखिथा इन्फ्रास्टक्चरले १५ महिनाभित्र काम सक्नेगरी निर्माणको जिम्मा पाएको पौडेलको भनाइ छ ।

निर्धारित समयमै आयोजना सम्पन्न गर्न नेपाल र भारतमा गरी ३ सयबढी प्राविधिकले एकसाथ काम गरिरहेको जानकारी गराउँदै उनले अवरोध नभए निर्धारित समयमै कार्य सम्पन्न हुने नेपाल आयले निगम क्षेत्रीय डिपो अमलेखगन्ज डिपोका प्रमुख इन्जिनियर प्रदीप यादवले बताए ।

उनका अनुसार मोतिहारीदेखि रक्सौलसम्म पाइप बिछ्याउन २ अर्ब ७५ करोड भारु लाग्नेछ । सो रकममध्ये २ अर्ब भारतले र बाँकी रकम नेपाललेखर्च गर्नेछ ।

आयोजना सम्पन्न गर्न छोटो समयमा भारतीय पक्षले गरेको कार्यको प्रशंसा गर्दै प्रमुख जिल्ला अधिकारी विजयनारायण मानन्धरले पाइपलाइन निर्माणका क्रममा देखिएका कठिनाइ जितपुर बजार क्षेत्र, पथलैया अमलेखगन्जमा रहेका वन जङ्गल, परवानीपुर बजार क्षेत्र एवं नेपाल भारत सीमालगायतमा देखिएका अवरोध चिरेर अघि बढ्ने बताए ।

निर्माणस्थलको माटो परीक्षणपछि भारतमा निर्माण गरिएको औसत साढे ११ मिटर लम्बाइका पाइप वेल्डिङ गरी जोड्ने कार्य पनि सँगसँगै चलिरहेको छ । पाइपको मोटाइ १० दशमलव ७५ इन्च छ । पाइपलाइनको गहिराइ साढे २ मिटर रहनेछ । तर, खोला तथा अन्य केही भागमा आवश्यकतानुसार १५ मिटरसम्म गहिरो बनाउनुपर्ने देखिएको आयोजनाले जनाएको छ ।

सम्बन्धित सामग्रीहरू