अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१९ | Colorodo: 21:34

एकता भएपछि अचम्म लाग्छ, थाहै नदिई एकता घोषणा’- ओली-प्रचण्ड

राजधानी दैनिक २०७५ वैशाख १० गते १९:२१ मा प्रकाशित

काठमाडौँ  । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भावनामा आएर सानातिना कुरामा अल्झिँदै एमाले–माओवादी एकता नरोकिने बताएका छन् । ६९औं कम्युनिस्ट स्थापना दिवसमा पार्टी एकता संयोजन समितिले आइतबार राष्ट्रिय सभा गृहमा गरेको कार्यक्रममा ओलीले नेपाली काङ्ग्रेसतिर लक्षित गर्दै भने, ‘कम्युनिस्टहरूलाई विभाजन गरेर सधैं लाभ लिने स्थितिको अन्त्य गर्दै एमाले–माओवादी केन्द्रबिचको एकता निर्विकल्प रहेको छ ।

मुलुकको विकास र समृद्धिका लागि कम्युनिस्टहरूबिच एकतामा कुनै समस्या नआउने उनले बताए । उनले भने, ‘एकताअघि केही ‘सेन्टिमेन्टल’ कुरा आउँछन्, यसमा अल्झिने समय छैन । अब एकताभन्दा अर्को बाटो पनि छैन ।’

पार्टी एकता अन्तिम बिन्दुमा पुगेको बताउँदै उनले जुत्ता मिलेन भने खुट्टा ताछेर भए पनि मिलाउनुपर्ने बताए । उनले थपे, ‘दुई पार्टीको एकता गर्ने कुरा मेलामा लगाएको मित जस्तो होइन । मुलुक र जनताको चाहना एवं आवश्यकताको आधारमा हुन लागेको हो ।’

उनले भने, ‘अब हामीले अरू कसैलाई दोष लाउने, अर्काको टाउकोमा जिम्मेवारी हालेर उम्किने ठाउँ छैन । एकतालाई सहज पार्नेबाहेक अरू उपाय पनि छैन । हामीले प्रतिबद्धता जनाइसक्यौँ, अब त्यो मिलेन यो मिलेन भन्ने अवसर पनि छैन ।’

उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग पार्टी एकताका विषयमा निष्कर्षमा पुगेको बताए । निर्वाचनअघि साझा घोषणापत्र, साझा उम्मेदवार उठाउँदै चुनावी तालमेल गरेर एकता गर्ने उद्देश्यसहित अघि बढेको प्रधानमन्त्रीले बताए ।

थाहै नदिई एकता घोषणा : दाहाल
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्मानजनक, समानता एवं न्यायोचित आधारमा पार्टी एकता हुने बताए । एमाले र माओवादी केन्द्रबिच चाँडै पार्टी एकता हुने बताउँदै उनले एकीकृत पार्टीको केन्द्रीय कमिटी घोषणा हुने खुलासा गरे । पार्टी एकताको विकल्प नभएको बताउँदै उनले हल्ला नगरी चाँडै नै एकताको घोषणा हुने उद्घोष गरे ।

भनेको समयमा नहुने तर नभएको समयमा गरेर देखाउने बताउँदै उनले भने, ‘एकता घोषणा हुन्छ, तपार्इंहरूलाई थाहै हुँदैन ।’ एकताको अन्तिम बिन्दुमा एकीकृत कम्युनिस्ट पार्टीको नयाँ केन्द्रीय कमिटी बनाउने प्रक्रियामा रहेको खुलासा गरेका दाहालले भने, ‘द्वन्द्ववादको उच्चतम प्रयोग गर्दै हामी अघि बढेका छौँ, अब पार्टी एकता गरेरै छाड्छौँ ।’२०१९ सालमा भएको तेस्रो महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूमा टुटफुटको राजनीति सुरु भएको स्मरण गर्दै पछिल्ला प्रयास नेपालमा कम्युनिस्ट शक्ति एक गर्नेमा केन्द्रित भएको बताउँदै उनले माओवादी र एमाले मात्र नभएर सबै कम्युनिस्ट एक छातामा आउनुपर्ने बताए ।

कत र स्वार्थहरूले षड्यन्त्र गरिरहेको बताउँदै उनले त्यसबाट सजग हुँदै अघि बढिरहेको बताए । ‘यो पनि बुझ्नुहोस् है, यहाँ अनेक खेल छन्, एकता हुन नदिन विभिन्न तागत र स्वार्थहरू टकराइरहेका हुन्छन्, घोषणा गर्ने भनेको दिन हुँदैन, नभनेको दिन हुन्छ । हेर्नुहोस्, यो पनि सरप्राइज नै हुन्छ,’ दाहालले भने । 

सम्बन्धित सामग्रीहरू