अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:१४ | Colorodo: 11:29

नेपाल डे परेड न्यु योर्कको प्रेस विज्ञप्ति (२०१६ र २०१७ हिसाब सहित)

बिआरटीनेपाल २०७५ वैशाख ४ गते १०:५० मा प्रकाशित

आदरणीय पत्रकार मित्रहरू,
नमस्कार ।

नेपाल डे परेड २०१६ साल देखि न्यु योर्क सहरमा सुरुवात गरिएको नेपाली डायस्पोराको संयुक्त अभियान हो । प्रवासमा नेपाल र नेपालीको पहिचानलाई गरिमामय ढङ्गले उच्च राख्नको निम्ति यसका परिकल्पना गर्नेहरुको उद्धेश्य थियो र रहिआएको छ । तसर्थ, कुनै आग्रह अथवा पूर्वाग्रह विना सांगठानिक रूपमा विविधता भएका सबै खालका नेपाली सङ्घ-संस्थाहरूको सामूहिक अभियानको रूपमा नेपाल डे परेडलाई गत दुई वर्षदेखि निरन्तरता दिइरहेका छौ । यो गौरबशाली अभियानलाई प्रारम्भ गर्ने क्रममा फिप्नाका तत्कालीन अध्यक्ष लुईसाङ बाइबा तामाङको कन्भेनरसिपमा पहिलो नेपाल डे परेड समापन भएको हो । नेपाल डे परेड संयुक्त अभियान भएकोले सबै सङ्घ-संस्थाका प्रतिनिधि एवं समाजका स्वतन्त्र व्यक्तित्वहरू स्टेरिंग कमिटीमा रहेर एतिहासिक दुई परेडहरु सम्पन्न भएको छ । परेडको मुख्य ब्यानरमा “नेपाली अमेरिकी समुदाय” परेडको आयोजक रहेको स्पष्ट लेखिएको त्यस्ता दस्ताबेज अझै पनि जो कोहीले सङ्कलन गर्न चाहेमा प्राप्त गर्न सकिन्छ । तथापि तत्कालीन फिप्नाको अध्यक्ष/कन्भेनरको सहमतिमा अस्थायी प्रयोजनको लागि फिप्नाको नन् प्रफिट स्टाटस् परेडको निम्ति प्रयोग गरिएको थियो । तर यसको अर्थ नेपाल डे परेड फिप्नाको निजी र एकल कार्यक्रम भने थिएन । अस्थायी प्रयोजनको लागि सहमति अनुसार परेडको प्राविधिक आवश्यकता परिपुर्दी गर्नको निम्ति फिप्नाको नन् प्रफिट स्टाटस् उपयोग गरिएको थियो । परेड फिप्नाको कार्यक्रम नभएको तथ्यलाई फिप्नाका वर्तमान अध्यक्षले एउटा बैठकमा स्वीकार गर्नु भएको छ । यसको अर्थ नेपाल डे परेडमा फिप्नाको कुनै महत्त्व छैन भन्ने पनि होइन । परेड हामी सबै नेपालीहरूको साझा अभियान हो । यो नेपाली डायस्पोराको पहिचान मात्र नभएर हाम्रो सम्पदा पनि हो ।

आर्थिक प्रतिवेदन सम्बन्धमा :
केही समयदेखि नेपाल डे परेडको आर्थिक पाटोलाई लिएर एउटा समूहले नकारात्मक भ्रम सृजना गर्ने कोसिस भइरहेको छ । आयोजकले आर्थिक अनियमितता गरेको एक पक्षीय आरोप लगाइएको छ जहाँ कुनै प्रमाण नै छैन । पहिलो परेडको अडिट रिपोर्ट पहिलो परेडको स्टेरिङ कमिटीले अनुमोदन गरेको छ भने दोस्रो परेडको अडिट रिपोर्ट दोस्रो परेडको स्टेरिङ कमिटीले अनुमोदन गरिसकेको छ । यसरी अधिकारिक निकायले अनुमोदन गरिसकेको आर्थिक प्रतिवेदनलाई सामाजिक सञ्जाल मार्फत अपारदर्शिता र अनियमितताको कुतर्क गर्नु अनैतिक मात्र नभएर एक खालको अराजकता नै हो । सम्बन्धित निकायसँग सरोकारवालाले औपचारिक अनुरोध गरेको खण्डमा आर्थिक प्रतिवेदनको एक प्रति उपलब्ध गराउन परेडको स्टेरिङ कमिटीलाई कुनै आपत्ति रहन्न थियो । तथापि २०१६/२०१७ को संयुक्त स्मारिका प्रकाशन गर्ने क्रममा आर्थिक प्रतिवेदनलाई स्मारिका मार्फत सार्वजनिक गर्ने योजना रहेकोले सोचे जस्तो छिटो छरितो नभएको मात्र हो । तर यसलाई अनियमत्ताको संज्ञा दिइनु पाइन्न । पहिलो र दोस्रो परेडबाट संकलित रकमको बचत नेपाल डे परेडको खातामा सुरक्षित छ । सरोकारवाला कसैले हेर्न चाहेमा सम्बन्धित निकायसँग समन्वय गरेर कुनै पनि समय हेर्न सकिनेछ ।

नेपाल डे परेड संस्था दर्ता सम्बन्धमा:
नेपाल डे परेड डायस्पोराका नेपालीहरूको साझा अभियान हो । यो अभियानलाई कानुनी तथा व्यवहारिक सार्थकता दिनको निम्ति “नेपाल डे परेड” लाई संस्थाको रूपमा दर्ता गरिएको हो । परेडको अनुमति-पत्र र बैङ्किङ कारोबार गर्नको निम्ति साथै परेड आयोजकको बारेमा कहीँ कतै अन्योलता नछाओस् भन्ने उद्देश्यले नेपाल डे परेड संस्था दर्ता गरिएको हो । यो संस्था ५०१ (सी)३ अन्तरगत नन् प्रफिट संस्थाको रूपमा दर्ता छ जसरी डायस्पोराका धेरै संस्थाहरू दर्ता छन् ।

संस्था सञ्चालन सम्बन्धमा:
नेपाल डे परेडको बोर्ड गठन गरिने छ जहाँ डायस्पोराका विभिन्न क्षेत्रबाट स्थानीय व्यक्तित्वहरू संग्लग्न हुने छन् । विधान अनुसार गठन हुने यो बोर्डले हरेक वर्षको लागि परेडको स्टेरिङ कमिटी गठन गर्ने छ जसले परेडको आयोजना गर्ने छ । यो संस्थाले वार्षिक रूपमा एक मात्र कार्यक्रम गर्ने छ – त्यो हो “नेपाल डे परेड” ।

नेपाल डे परेड २०१८ स्टेरिङ कमिटी सम्बन्धमा:
नेपाल डे परेडको स्टेरिङ कमिटी परेड आयोजनाको लागि गठन गर्ने गरिएको छ । हाम्रो यो सामूहिक अभियानलाई सामूहिक नेतृत्व मार्फत २०१६ साल देखि सम्पन्न गर्दै आएका छौ । पहिलो परेड २०१६ को स्टेरिङ कमिटीले दोस्रो परेड २०१७ को स्टेरिङ कमिटी गठन गरेको हो भने दोस्रोले तेस्रो परेड २०१८ को स्टेरिङ कमिटी गठन गरेको छ । रविकिरण कोइराला तेस्रो नेपाल डे परेड २०१८ को कन्भेनर सर्बसहमति ढङ्गले चयन भएका हुन् ।

धन्यवाद ।

रविकिरण कोइराला
कन्भेनर, नेपाल डे परेड २०१८

मंगलदास श्रेष्ठ
कन्भेनर, नेपाल डे परेड २०१७

लुईसाङ बाइबा तामाङ
कन्भेनर, नेपाल डे परेड २०१६

 

प्रतिक्रिया