अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:२२ | Colorodo: 03:37

मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालले मनायो प्रथम भाषा दिवस

बिआरटीनेपाल २०७४ चैत २९ गते १२:२७ मा प्रकाशित

काठमाडौँ । नेपाली भाषाको मानकीकरण, विश्वव्यापीकरण र स्तरीकरणका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालको प्रथम साधारणसभा सम्पन्न भएको छ। सभाले प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेललाई दोस्रो कार्यकालका लागि निर्वाचित गरेको छ। साधारणसभाले प्रा.डा. लुइँटेलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ। समितिमा वरिष्ठ उपाध्यक्ष प्रा. भरतकुमार भट्टराई, उपाध्यक्ष प्राज्ञ नरनाथ लुइँटेल, महासचिव सहप्राध्यापक डा. लक्ष्मणप्रसाद गौतम, सचिव राधेश्याम लेकाली, कोषाध्यक्ष सहप्राध्यापक डा. नारायणप्रसाद गैरे रहेका छन्। 

यसरी नै सदस्यहरूमा घनेन्द्र ओझा, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएका छन् । प्रा. डा. देवीप्रसाद गौतम संयोजक र डा. गोविन्दसिह रावत, डा. माधवप्रसाद पाण्डेय रहेको निर्वाचन समितिले सो घोषणा गरेका हुन । साधारणसभामा सचिव राधेश्याम लेकालीले महासचिवको प्रतिवेदन र कोषाध्यक्ष नारायण गैरेले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

सञ्जालको आयोजनामा पहिलो पटक भाषा दिवससमेत सम्पन्न भएको छ। राजधानीमा आयोजित कार्यक्रममा सञ्जालका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइँटेलले मानक नेपाली भाषालाई विकृत बनाउने दुष्प्रयास असफल भएको भन्दै अबका दिनमा पनि भाषाप्रेमीहरू मानक नेपाली भाषालाई विकृत बनाउनेहरूबाट सचेत हुनुपर्ने बताए।

प्रा.डा. लुइँटेलले समाज र जीवनसँग जोडिएको भाषालाई कसैको लहड र स्वार्थमा बिगार्न दिनु नहुने धारणा राखे। ‘नियोजित रूपमा बिगारिन लागेको मानक नेपाली भाषालाई निकै कठिन र लामो सङ्घर्षबाट सही बाटोमा ल्याएका छौँ’, उनले भने, ‘तर हामीले अझै ढुक्क हुने ठाउँ छैन, खबरदारी गरिरहनुपर्छ।’

सञ्जालका सल्लाहकार प्रा.डा. देवीप्रसाद गौतमले भाषा र संस्कृतिमाथिको हस्तक्षेप र अतिक्रमण यसरी नै हुने बताउँदै पहिचानका रूपमा रहने मानक भाषालाई जोगाउन आफैँ सक्रिय हुनुपर्ने बताए। उनले सञ्जालले मानक नेपाली भाषाका पक्षमा गरेका कामको प्रशंसा गर्दै आगामी दिनमा पनि सञ्जालले अझ महत्त्वपूर्ण कार्य गर्ने अपेक्षा गरे। यसैबिच सञ्जालले प्रथम भाषा दिवसका अवसरमा सात बुँदे काठमाडौँ घोषणापत्रसमेत जारी गरेको छ।

राधेश्याम लेकाली संयोजक र नरनाथ लुइँटेल र लीला लुइटेल सदस्य रहनु भएको समितिले जारी गरगरेको घोषणापत्रमा सञ्जालद्वारा विभिन्न निकायबाट गराइएका निर्णयहरूको कार्यान्वयन गराउने, कक्षा ११ र १२ मा अनिवार्य नेपाली विषय १००/१०० पूर्णांकको राख्न सशक्त दबाब दिने, विश्वविद्यालयका सबै सङ्कायमा अनिवार्य नेपाली विषय अनिवार्य रूपमा समावेश गराउन जोड दिने, विभिन्न तहका पाठ्यक्रम र पाठ्यपुस्तकमा मानक नेपाली भाषाको प्रयोगसम्बन्धी निरन्तर अनुगमन गर्ने, लोकसेवा आयोगमा अनिवार्य नेपाली विषय समावेश गराउन सशक्त दबाब दिने, सवारी साधनमा इम्बोस्ड नम्बर नेपालीमा राख्नका लागि सशक्त दबाब दिने र मानक नेपाली भाषा अभियानलाई अन्तर्राष्ट्रिय जगतमा विस्तार गर्ने उल्लेख छ।

मानक नेपाली भाषाका पक्षमा नेपाल सरकारले निर्णय गरेको दिन चैत २९ लाई भाषा दिवसका रूपमा मनाउने सञ्जालले गत वर्ष नै घोषणा गरेको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू