अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३८ | Colorodo: 04:53

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ वटा मुलुकले सहभागिता जनाउने

बिआरटीनेपाल २०७४ चैत २४ गते ९:२२ मा प्रकाशित

बुटवल, बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई भव्य बनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ ।

कोषको आज लुम्बिनीमा बसेको बैठकले दुवै कार्यक्रमको तयारीका लागि बनेका उपसमितिलाई पूर्णता दिएको छ । बैठकले बुद्ध जयन्तीमा प्रदान गर्ने घोषणा गरिएको तर अबरुद्ध जस्तै रहेको अन्तर्राष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष अघि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराइले बताउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ ।

यस्तै बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी वैशाख १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ वटा मुलुकहरुले सहभागिता जनाउने भएका छन् । तीमध्ये १३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ । 

अन्य राष्ट्रका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिले सहभागिता जनाउने कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराईले जानकारी दिनुभयो ।

हालसम्म भारत, जापान, फ्रान्स, बेलायत, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंकालगायतका राष्ट्रले सहभागिता जनाउने पक्का भएको समेत उहाँले जानकारी दिनुभयो ।

वैशाख १५ र १६ गते आयोजना हुने बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्बिनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको जनाएकोे छ । सम्मेलनमा ६०० बौद्ध प्रतिनिधिहरु सहभागी हुनेछन् । सम्मेलनको उद्घाटनका लागि बैशाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउनु हुने सदस्य–सचिव भट्टराईले जानकारी दिनुभयो । त्यस्तै वैशाख १७ गते हुने मूल समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी आउने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू