अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५३ | Colorodo: 10:08

मलेसिया पुगेका वमप्रसाद १५ दिनमै रित्तो हात घर फर्किए

बिआरटीनेपाल २०७४ चैत ७ गते २२:३७ मा प्रकाशित

धन कमाउने सपना बोकेर मलेसिया पुग्नुभएका खोटाङका एक युवालाई १५ दिन नबित्दै स्वदेश फर्काइएको छ । मलेसिया पुगेको छ दिनमै बेपत्ता बनाइएका ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीका बमप्रसाद राईलाई बन्धक बनाएर राखिएको ठाउँबाट उद्धार गरेर हिजो नेपाल फर्काइएको हो ।

रोजगारीका सिलसिलामा काठमाडौँको सनलाइट ह्युमन रिसोर्स प्रालिबाट गत फागुन २३ गते मलेसिया पुगेका उनी फागुन २७ गते बसेकै ठाउँबाट बेपत्ता भएका थिए । मलेसियाको व्याङ्गुनान एसआरआई लयाङ जलन थाम्बी बब्दुल्लाह ब्रिकफिल्डस् ५०४७० क्वालालम्पुर कम्पनीमा सुरक्षा गार्डका रूपमा गएका राईलाई बेवारिसे अवस्थामा उद्धार गरेर स्वदेश फर्काइएको छिमेकी माओदीप थुलुङले बताए । 

बेलुकाको खाना खाएपछि सुत्न गएको र राति नै सम्पर्कविहीन बनेका उनलाई १६ घण्टापछि फेला पारिएको थियो । आफन्तले ‘हाम्रो जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका वडा नं ४ खोटाङ’ नामक फेसबुक पेजबाट सूचना प्रकाशन गरेर सम्पर्क विहीन भएका उनको खोजी तीव्र पारेका थिए ।

खोजीकै क्रममा नाम बताए पनि कम्पनीको नाम र ठेगाना बताउन नसक्ने अवस्थामा बातुकेभ भन्ने स्थानमा मलेसियामै कार्यरत नरेश ओलीले भेटेर राईको तस्बिर फागुन २८ गते फेसबुकमा अपलोड गरेपछि उनलाई भेटाउन सहज भएको थियो । मलेसियास्थित नेपाली दूतावासमा समेत सूचना पुगेपछि दूतावासले खोजेर सुरक्षित राखेको उहाँलाई जलेश्वरीकै दुखीप्रसादले बुझेर नेपाल फर्काएका हुन ।

राईले मेनपावरलाई रु ९० हजार बुझाए पनि मेनपावरले भने रु २० हजारको मात्र भर्पाइ गरिदिएको पाइएको आफन्तले बताएका छन् । मेनपावर कम्पनीलाई उनले तिरेजति रकमको भर्पाइ नभएपछि बाँकी रकम पाउन समस्या भएको छ ।

प्रतिक्रिया