अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०८ | Colorodo: 04:23

गठबन्धनको घोषणा अनुरुप पर्यटनबाटै मुलुकको समृद्धि हासिल गर्न प्रवर्धनात्मक अभियानलाई गति दिइने – प्रचण्ड

बिआरटीनेपाल २०७४ चैत १ गते १०:३० मा प्रकाशित

आगामी सन् २०३० भित्र वार्षिक ५० लाख पर्यटक देशमा ल्याउन पर्यटकीय पूर्वाधार विस्तार र लगानी अभिवृद्धि गरिनुपर्नेमा जोड दिइएको छ ।

गन्तव्य नेपाल ग्रुपले यहाँ आज आयोजना गरेको ‘टुरिजम विजनेश अवार्ड’ कार्यक्रमका वक्ताले समृद्धिको आधार नै पर्यटन क्षेत्र भएकाले पर्यटनमा लगानी बढाई प्रवर्धनात्मक अभियानलाई तीव्रता दिइनपुर्ने खाँचो औँल्याए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०१७ मा करिब १० लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सरकारले सन् २०२० मा २० लाख पर्यटक पु¥याउने लक्ष्य लिएको छ । उक्त लक्ष्य पूरा गर्न पूर्वाधार निर्माण, सेवा गुणस्तर र बजारीकरणलाई तीव्रता दिनुपर्ने सरोकारवाला निकायको भनाइ छ । वाम गठबन्धन सरकारले निर्वाचनका बेला आफ्नो घोषणापत्रमा ५० लाख पर्यटक पु¥याउने उल्लेख गरेको छ । गठबन्धनकै नेकपा (एमाले) नेतृत्वको सरकार गठन भइसकेकाले विगतका वाचा पूरा हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा गठबन्धनको मुख्य दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धनको घोषणा अनुरुप पर्यटनबाटै मुलुकको समृद्धि हासिल गर्न प्रवर्धनात्मक अभियानलाई गति दिइने उल्लेख गर्नुभयो ।

उहाँले मुलुकको समृद्धिको असीमित सम्भावना बोकेको क्षेत्र नै पर्यटन भएको उल्लेख गर्दै पर्यटनकै माध्यमबाट विकास र समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।

नेपाली काँग्रेसका नेता एवं सांसद बहादुरसिंह लामाले पर्यटन व्यवसायलाई आकर्षण गर्न सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने धारणा राख्नुभयो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहाल र नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष सन्तवीर लामाले पर्यटनमैत्री वातावरण सिर्जना गरी पर्यटन पूर्वाधार निर्माणका लागि सरकार र राजनीतिक नेतृत्वको हस्तक्षेपकारी भूमिका हुनुपर्ने खाँचो औँल्याउनुभयो ।

गन्तव्य ग्रुपका अध्यक्ष शिव अधिकारीले पर्यटकको सङ्ख्या बढाउन सरकार र निजी क्षेत्रको साझेदारीतालाई अझ प्रभावकारी बनाएर अभियान सञ्चालन गरिनपुर्ने बताउनुभयो ।

अवसरमा पर्यटन क्षेत्रमा योगदान गर्ने व्यवसायी पम्फा धमला,  प्रतिष्ठा अमात्य विष्ट, टासी गुरुङ, कमला गुरुङ, चन्द्र दाहाल, समीर गुरुङ, मनोजकुमार श्रेष्ठलगायत २० भन्दा बढीलाई सम्मान गरिएको थियो । यस्तै रु १० हजारसहितको ‘गन्तव्य नेपाल पत्रकारिता’ पुरस्कारबाट ‘राजधानी’ दैनिकका पत्रकार मधुजंग पाण्डेलाई सम्मान गरियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू