अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२० | Colorodo: 00:35

चीन सहयोग : पुनःनिर्माण सम्झौतामा हस्ताक्षर

बिआरटीनेपाल २०७४ चैत १ गते १०:०० मा प्रकाशित

नेपालको भूकम्पपछिको पुनःनिर्माणमा चिनियाँ सहयोगअन्तर्गत आज तातोपानी भन्सार नाका, सिन्धुपाल्चोक अस्पताल र सिन्धुपाल्चोककै जिरी माध्यमिक विद्यालयको पुनःनिर्माण सम्झौतामा हस्ताक्षर भएको छ ।

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त सम्झौतामा नेपालका तर्फबाट अर्थसचिव शंकरप्रसाद अधिकारी र चीनका तर्फबाट नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गर्नुभयो ।

हस्ताक्षरपछि अर्थसचिव अधिकारीले भूकम्पपछिको पुनःनिर्माणमा चीनले गरेको सहयोगको सराहना गर्दै सहयोग निरन्तरताका लागि आग्रह गर्नुभयो ।

चिनियाँ राजदूत यूले हस्ताक्षर भएका सम्झौतामा हुने सहयोगका बारेमा अवगत गराउनुभयो । 

तातोपानी भन्सार नाका पुनःनिर्माणअन्तर्गत भवन मर्मत तथा व्यापार क्षमता अभिवृद्धि गरिनेछ । यो सम्झौताअन्तर्गत पुनःनिर्माणको काम अघि बढेमा एक वर्षभित्रमा तातोपानी व्यापार नाका सञ्चालनमा आउने अपेक्षा गरिएको छ । काठमाडौँदेखि तातोपानी नाकासम्मको अरनिको राजमार्गको मर्मत तथा विस्तार गर्न यसअघि दुवै देशबिच सम्झौता भई काम सुरु भइसकेको छ ।

सिन्धुपाल्चोक अस्पताल पुनःनिर्माणअन्तर्गत अत्यावश्यक स्वास्थ्य उपकरणसहितको ३९ शय्या स्थापना गरिनेछ । त्यस्तै जिरी स्कुलको पुनःनिर्माणअन्तर्गत कक्षाकोठा, पुस्तकालय, शिक्षक कार्यालय, खाजाघर, खेलकुद मैदानलगायत विद्यालय पूर्वाधार निर्माण गरिनेछ ।

गोरखा भूकम्पपछिको पुनःनिर्माणका लागि काठमाडौँमा भएको अन्तर्राष्ट्रिय सम्मेलनमा चीनले झन्डै रु ४८ अर्ब सहयोग गर्ने घोषणा गरेको थियो । उक्त सहयोगअन्तर्गत चीनले नेपालका २५ परियोजनामा सहयोग गर्ने प्रतिबद्धता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू