अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१३ | Colorodo: 22:28

अमेरिकामा सुन्ने सुनाउने दोस्रो शृङ्खला सम्पन्न (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७४ फागुन २७ गते २३:१४ मा प्रकाशित

नेपाल अमेरिका साहित्य सङ्गीत प्रतिष्ठान कोलोराडोले आफ्नो दोस्रो शृङ्खला सम्पन्न गरेको छ । ब्रूम्फिल्ड स्थित जाइका ईण्डियन कुजिनमा आयोजित उक्त कार्यक्रममा नेपाली चलचित्र जगतकी चर्चित नायिका झरना थापा तथा अमेरिकी नागरिक ड्यान समेतको विशेष उपस्थिति रहेको थियो । सर्जकहरूको साझा मञ्चको अवधारणा गठित यस प्रतिष्ठानको यस अङ्कमा धेरै नयाँ प्रतिभाको आगमनले यसको लक्ष्यलाई टेवा दिएको आयोजक समूहले महसुस गरेको जनाएको छ । 

समाजमा विभिन्न क्षेत्रमा योगदान प्रदान गर्ने विभिन्न व्यक्तित्व मध्य एकलाई सभापतित्व ग्रहण गराइने, मात्र सुन्ने र सुनाउने कार्यक्रमलाई प्रोत्साहन गरिने यस कार्यक्रममा यस पटक समाजसेवी बुद्धि लामिछानेको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको थियो । वसन्त लम्सालको सुमधुर स्वरबाट थालनी भएको उक्त साझा मञ्चमा विभिन्न सर्जकले आफ्नो श्रीजनालाई अभिव्यक्त गरेका थिए । यस पटक धेरै जसो देश र माटो बोकेका कविता र गीत गजल समावेश थिए । बिआरटी नेपाल डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण तथा यु यस नेपाल न्युजले यसलाई भिडियोमा समावेश गरेको थियो । 

थुप्रै साहित्य कलाप्रेमीहरुको साथ र सद्भावमा सञ्चालन भएको उक्त कार्यक्रम बारिस्ठ साहित्यकार इन्द्र राईको सम्झनामा एक मिनेट मौन धारण समेत गरिएको थियो । धन पौड्याल, बिभिशिका अधिकारी, सरोज भुषाल, राजु सिटौला, ज्ञानेन्द्र काफ्ले, भुपेन्द्र महत, श्री राम लुइटेल, बी के श्रेष्ठ आदिले आफ्नो रचना वाचन गरेका थिए भने दीपेन्द्र श्रेष्ठ, पल्लभी भुषाल र वसन्त लम्सालले आफ्नो गला प्रस्तुत गर्नु भएको थियो साथै जिदेन राई, धन पौड्याल, अमेरिकी नागरिक ड्यानले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

ड्यानले आफूसँग रहेका केही नेपाल सम्बन्धी पुस्तकको प्रदर्शन तथा आफूले देखेको नेपालको अनुभव सुनाउनु भएको थियो साथै आफूसँग भएको करिब छ हजार नेपाली भाषामा र नेपाल सम्बन्धी लेखिएका आफूसँग सङ्रहित पुस्तक नेपाली समुदायमा डोनेशन दिन इच्छुक रहेको बताउनु भएको थियो । नेपाली साहित्य जगतको गतिविधिलाई स्थान दिने क्रममा धन पौड्यालले बेलायतमा भएको नवराज पराजुलीको कविता कन्सर्ट, नथियाको छोटो समीक्षा गर्नु भएको थियो । 

नेपालबाट आउनु भएकी चर्चित नायिका तथा निर्देशक झरना थापाले समेत शुभकामना मनतब्यको साथै आफ्नो अभिनय कला र यससँग जोडिएको क्षणलाई स्मरण गर्नु भएको थियो । शुभकामना र कार्यक्रमको सफलताको कामना गर्दै सभापति बुद्धि लामिछानेबाट सभाको विसर्जन गरिएको उक्त कार्यक्रमलाई कुशलता पूर्वक गौतम सागर राईले सञ्चालन गरेका थिए ।
फोटो: भुपेन्द्र महत तथा शैलेश पोखरेल

 

प्रतिक्रिया