अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:२३ | Colorodo: 13:38

सन्दर्भ : १२५ औँ माओ दिवस “हाम्रो कला–साहित्य कसका लागि” ?

खेम थपलिया २०७४ पुष १३ गते ८:३६ मा प्रकाशित

‘दसौँ करोड जनसमूहलाई आफ्ना विचारहरू स्वतन्त्र रूपमा राख्न, ठूला अक्षरे पोस्टरहरू लेख्न, ठूलाठूला बहसहरू चलाउन, उनीहरूलाई जागरुक गराउन दिएर मात्र पार्टीभित्र पसेर सत्तामा पुगेका गद्दारहरू, दुष्मनका दलालहरूको पर्दाफास गर्न सकिन्छ तथा उनीहरूको पुँजीवाद पुनस्र्थापना गर्ने षड्यन्त्रलाई चकनाचुर पार्न सकिन्छ ।’

(चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनको राजनीतिक प्रतिवेदनबाट) ।

‘त्यहाँ (कला तथा साहित्य विभागहरूमा) अझैसम्म पनि मुर्दाहरूले नै शासन गरिरहेका छन् । संस्कृति मन्त्रालयलाई स्वयम् परिवर्तन गर्न इन्कार गरियो भने त्यसलाई राजा बादशाह, सेनापति, पादरी, पुजारीको मन्त्रालय, सुरासुन्दरीको मन्त्रालय र विदेशी मुर्दाहरूको मन्त्रालय नामकरण गरिनुपर्दछ । … ‘ठूलाठालु, जबर्सेठ, भतुवाहरूको मन्त्रालय नामकरण गरिनुपर्दछ ।’

(ऐ पृ. १३) ।

यतिबेला हामी विश्व सर्वहारावर्गका महान् नेता माओको संस्मरण र सम्मानमा १२५ औँ माओ दिवस मनाइरहेका छौँ । यस ऐतिहासिक अवसरमा माओको विशेष सम्मान तथा संस्मरण गर्दै विश्व सर्वहारावर्ग, कम्युनिष्ट, उत्पीडित तथा मुक्तिकामी जनसमुदायमा रातो सलाम अर्पण गर्न चाहन्छौँ । माओले अर्धसामन्ती तथा अर्धऔपनिवेशिक अवस्थामा रहेको चीनलाई दीर्घकालीन जनयुद्धमार्फत नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । समाजवादी क्रान्तिको महान् प्रक्रियामा सर्वहारा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गरी उहाँले महान् सर्वहारा सांस्कृतिक क्रान्ति अगाडि बढाउनुभयो । माओले दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादको विकासमा जुन थप योगदान गर्नुभयो ती सार्वभौम ‘माक्र्सवाद–लेनिनवाद–माओवाद’ संसारका मुक्तिकामी जनताका अजेय हतियारका रूपमा मार्गनिर्देशक सिद्धान्त बनेको छ ।

नेपाल संसदीय दलाल पुँजीवादद्वारा आक्रान्त छ । देशमा क्रान्तिकारी विचार, सिद्धान्त, आदर्श र महान् लक्ष्यका विरुद्ध प्रचण्डमण्डली ढलीमली गरिरहेछ । कथित स्थानीय, प्रादेशिक र प्रतिनिधिसभाको निर्वाचन, कथित वाम गठबन्धनको रोइलो एवम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको चलखेलले धेरै कुराको ‘सङ्केत’ लाई एकैपटक मुखरित गरिदिएको छ । क्रान्तिले गम्भीर धक्का खाएको यतिबेला क्रान्तिलाई अगाडि बढाउनेबारे गम्भीर प्रकृतिका चुनौती खडा भएका छन् तर क्रान्तिकारी ध्रुवीकरणका साथ क्रान्तिकारी कार्यदिशा एकीकृत जनक्रान्तिलाई समृद्ध तुल्याउँदै नेपालमा क्रान्ति सम्पन्न गर्नुको कुनै विकल्प छैन ।

जनताले मुक्ति चाहिरहेका छन्, देशले स्वतन्त्रता खोजिरहेको बेला क्रान्तिकारीहरूले क्रान्तिका सबै साधान र उपायहरूमा विशेष ध्यान दिनैपर्दछ । माओले देखाउनुभएको निरन्तर क्रान्तिको बाटोमा दृढतापूवर्क अगाडि नबढीकन क्रान्तिकारी लक्ष्य प्राप्त हुन सक्तैन । निरन्तर क्रान्तिको आलोकमा कलासाहित्यमा केन्द्रित रहेर चर्चा गर्नु आवश्यक छ । ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ (मई १९४२) मा माओले यसबारे सटिक विश्लेषण गर्नुभएको छ । माओदिवसका सन्दर्भमा कला–साहित्यबारे सङ्क्षिप्त चर्चा गर्ने जमर्को गरिएको हो ।

कला–साहित्यले सही बाटो लिएनन् भने क्रान्तिकारी अभिभारा पूरा गर्न कठिन हुन्छ । माओले भन्नुभएको छ, ‘सङ्घर्षका अनेकौँ मोर्चाहरू छन् जसमा कलम र बन्दुकका मोर्चाहरू, सांस्कृतिक र सैनिक मोर्चाहरू पर्दछन् । शत्रुलाई हराउनका निम्ति हामीले मुख्य रूपले बन्दुकधारी सेनामाथि भर पर्नुपर्दछ तर यो सेना मात्र पर्याप्त हुँदैन । हामीसत सांस्कृतिक सेना पनि हुनैपर्छ । जो हाम्रा पङ्क्तिरूलाई एकताबद्ध पार्न र दुस्मनलाई हराउन अनिवार्य रूपले आवश्यक छ’, (येनान प्रवचन) । सांस्कृतिक सेनाले चिनियाँ क्रान्तिमा पु¥याएको योगदान ऐतिहासिक र महान् छ । भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवादको अतिक्रमणका पोषक दलाल–पुँजीवादी संस्कृतिको दाह्रा–नङ्ग्रा भाँच्न कला–साहित्यको क्षेत्र निकै महत्वपूर्ण साबित भइसकेको कुरा हो ।

प्रतिक्रियावादीहरूले जहिले पनि ‘गुणसित मात्राले टक्कर लिने’ प्रयास गरिरहेका हुन्छन् । दलालहरूसित रहेको अकूत सम्पत्तिको अलिकति मात्र प्रयोग गरेर पनि उनीहरू मात्रात्मक रूपमा गुणमाथि हाबी हुन खोज्छन् । नेपालको कला–साहित्यका क्षेत्रमा यो कुरा छ्याङ्गै देख्न सकिन्छ । यस्तो परिस्थिति क्रान्तिकारी शिविरका लागि चुनौतीपूर्ण बनेको छ । हामीले यो चुनौतीपूर्ण कालो पहाडलाई भत्काउने आँट गर्नुपर्दछ ।

माओले जनपक्षीय कला–साहित्यलाई एकाकार गर्दै प्रतिक्रियावादी कला–साहित्यका विरुद्ध लेखक–साहित्यकारहरूले कसरी काम गर्नुपर्दछ भन्नेबारेमा यथेष्ट चर्चा गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘हामीले आफ्नो क्रान्तिकारी कार्यलाई अघि बढाउने हो भने यी दुईथरी सेनालाई एकाकार गर्नैपर्छ । हाम्रो आजको बैठकको उद्देश्य साहित्य र कला सम्पूर्ण क्रान्तिकारी मेसिनसित अभिन्न पार्टपुर्जाका रूपमा एकदम राम्ररी जोडिऊन्, तिनीहरू जनतालाई एकताबद्ध र शिक्षित तुल्याउने तथा शत्रुलाई प्रहार गर्ने र नष्ट गर्ने शक्तिशाली हतियार बनून् र तिनले जनतालाई एक मन, एक प्राणजस्तो भएर शत्रुसित जुध्न मद्दत गरून् भन्ने कुरालाई सुनिश्चित पार्नु हो’, (येनान प्रवचन) । वास्तवमा क्रान्तिकारी लेखक–साहित्यकार र कलाकारहरूको अभिभारा भनेको प्रतिक्रियावादी तख्ताको छलकपट र निष्ठुरतालाई उदाङ्गो पारिदिनु, जनतामा क्रान्तिकारी आशावाद भर्नु तथा प्रतिक्रियावादीहरूको पराजय अवश्यम्भावी छ भन्ने कुरा औँल्याइदिनु हो । यसले जनतामा क्रान्तिकारी आशावाद सञ्चार हुनुका साथै क्रान्तिकारी परिस्थितिमा गुणात्मक विकास गर्न सकिन्छ ।

कला–साहित्यका क्षेत्रमा रूपान्तरणको ठूलो भूमिका हुन्छ । रूपान्तरण भनेको अरूलाई अर्ती थोपर्ने कुरा पटक्कै होइन । भावनात्मक परिवर्तन निकै महत्वपूर्ण कुरा हो । यस सन्दर्भमा माओका यी भनाइ निकै मननीय लाग्दछन्, ‘मैले विद्यार्थीका रूपमा जीवनको थालनी गरेँ र विद्यालयमा विद्यार्थीको चालचलन सिकेँ । आफ्ना काँधमा वा हातमा एउटा छेस्कोसम्म पनि बोक्न नसक्ने सहपाठीहरूका अगाडि मैले मेरा आफ्नै सरसामानहरू बोक्नेजस्तो मामुली शारीरिक श्रम गर्दा पनि मेरो इज्जत गइहाल्ला कि भन्ने मलाई लाग्थ्यो । त्यसबखत मलाई बुद्धिजीवीहरू मात्रै यस संसारका सफासुग्घर मानिस हुन् र तिनको दाँजोमा मजदुर र किसानहरूचाहिँ फोहोरी मानिस हुन् भन्ने लाग्थ्यो । बुद्धिजीवीहरू सफासुग्घर मानिस हुन् भन्ने विश्वास भएकाले उनीहरूका लुगा लाउन मलाई पटक्कै अप्ठेरो लाग्दैनथ्यो तर मजदुर र किसानहरूचाहिँ फोहोरी हुन् भन्ने विश्वास भएकाले म तिनका लुगा लगाउँदैनथेँ । तर म क्रान्तिकारी भएपछि मजदुर र किसानहरू तथा क्रान्तिकारी सेनाका सिपाहीहरूसँग बसेपछि मैले बिस्तारै–बिस्तारै उनीहरूलाई राम्ररी चिनेँ र उनीहरूले पनि बिस्तारै–बिस्तारै मलाई चिने ।

पुँजीवादी विद्यालयहरूमा छँदा मेरो मनमा जरा गाडेका पुँजीवादी र निम्नपुँजीवादी भावनाहरूलाई मैले त्यसबखत मात्रै आधारभूत रूपमा फेर्न सकेँ । अनि मलाई कस्तो लाग्यो भने संस्कार नफेरिएका बुद्धिजीवीहरू मजदुर र किसानहरूको दाँजोमा सफासुग्घर हुँदा रहेनछन् र अन्तिम विश्लेषणमा मजदुर र किसानहरू नै सबभन्दा सफासुग्घर मानिस रहेछन् अनि हातमा हिलो लागेका र खुट्टामा गोबर लत्पतिएका भए पनि किसान र मजदुरहरू पुँजीवादी र निम्न पुँजीवादी बुद्धिजीवीहरूभन्दा त साँच्ची नै सफासुग्घर पो हुँदा रहेछन् ।

भावनात्मक परिवर्तन, एक वर्गबाट अर्को वर्गमा परिवर्तन भन्नाको अर्थ यही हो । बुद्धिजीवी समुदायबाट आएका हाम्रा लेखक र कलाकारहरू जनसमूहले आफ्ना रचनाहरू राम्ररी रुचाएको देख्न चाहन्छन् भने उनीहरूले आफ्ना विचार र भावनाहरूलाई रूपान्तरण गर्नुपर्छ र पुनः संस्कार गर्नैपर्छ । यस्तो रूपान्तर नगरीकन, यस्तो पुनः संस्कार नगरीकन उनीहरूले कुनै काम पनि राम्ररी गर्न सक्ने छैनन्’, (येनान प्रवचन, माओ) ।

कला–साहित्य नयाँ संस्कृतिको महत्वपूर्ण अङ्ग हुन् । हामीले इतिहासका उत्तरदानका रूपमा प्राप्त कुराहरूलाई राम्ररी पहिचान गर्न सक्नुपर्दछ जहाँ युग र युग उचाल्ने जनसमुदायका रगत, पसिना र बलिदानी भावनाले लछप्पै भिजेका होऊन् । माओले भन्नुभएझैँ हामीले विभिन्न युगदेखि चलिआएको साहित्य र कलाको समृद्ध सम्पदा र श्रेष्ठ परम्पराहरूलाई स्वीकार गर्नुपर्छ तर त्यसो गर्दा पनि हाम्रो उद्देश्य भने जनसमूहको सेवा गर्ने हुनुपर्छ । हामी विगतकालका साहित्य र कलाकारहरूको सदुपयोग गर्ने कुरालाई इन्कार गर्दैनौँ तर यी पुराना रूपहरू हाम्रो हातमा परेपछि तिनमा नयाँ पाइन हालेर र नयाँ विषयवस्तु भरेर हामी तिनलाई जनताको सेवा गर्ने क्रान्तिकारी चीजमा फेरिदिन सक्छौँ । कुनै समस्याको निक्र्योल गर्दा अमूर्त परिभाषाबाट होइन, वस्तुगत तथ्यको विश्लेषणबाट आफ्ना आधारभूत सिद्धान्त फेला पार्नुपर्छ । आधारभूत सिद्धान्त विश्वदृष्टिकोणसित सम्बन्धित छ ।

कला–साहित्यका क्षेत्रमा विश्वदृष्टिकोण सर्वाधिक महत्वपूर्ण पक्ष हो । माओले कला–साहित्य क्रान्तिको नेतृत्व गर्ने मजदुरवर्गका लागि, सबभन्दा व्यापक जनसङ्ख्या भएका र हाम्रो क्रान्तिका दृढ सहयोगी किसानहरूका लागि, क्रान्तिकारी युद्धको मुख्य शक्तिका रूपमा रहेका सशस्त्र मजदुर र किसानहरू अर्थात् आठौँ मार्गसेना र नौलो चौथो सेना तथा जनताका अरू सशस्त्र एकाइहरूका लागि एवम् सहरिया निम्न पुँजीपतिवर्गका श्रमिक जनसमूहहरू र निम्न पुँजीवादी बुद्धिजीवीहरूका लागि हुनुपर्दछ भन्नुभएको छ ।

हाम्रो कला–साहित्य कसका लागि भन्ने आधारभूत सैद्धान्तिक प्रश्न हो । यसको वर्गपक्षधरता हुन्छ । सर्वहारा साहित्यका आफ्नै विशेषता हुन्छन् । लेनिन भन्नुहुन्छ, ‘यो एक स्वतन्त्र साहित्य हुनेछ किनभने लोभ वा जीवनवृत्तिवादको भावनाले होइन, समाजवादी विचार र जनताप्रति सहानुभूतिको भावनाले नौला शक्तिहरूलाई लगातार यसका पङ्क्तिकारहरूतिर आकर्षित गर्छ । यो एक स्वतन्त्र साहित्य हुनेछ किनभने यसले केही अघाएका नायिकाहरूको, पेटमा ढुसी लागेर पीडित भएका र जीवनदेखि वाक्क भएका ‘उपल्ला वर्गका दस हजार मानिसहरू’ को सेवा गर्दैन, बरु यसले देशको मगमगाउँदो फुल, यसको शक्ति र यसको रूपमा रहेका लाखौँ–करोडौँ श्रमिक जनताको सेवा गर्छ । यो एक स्वतन्त्र साहित्य हुनेछ किनभने यसले समाजवादी सर्वहारावर्गको अनुभव र सजीव कार्यद्वारा मानवजातिको क्रान्तिकारी विचारलाई आखिरीसम्म समृद्ध तुल्याउनेछ र यसले विगतकालका अनुभवहरू (वैज्ञानिक समाजवाद अर्थात् समाजवादको आदिम, कल्पनावादी रूपबाट विकसित हुँदै त्यसको पूर्ण रूपको प्राप्तिको अवस्था) तथा वर्तमानकालका अनुभवहरू (मजदुर कमरेडहरूका वर्तमान सङ्घर्षहरू) को बीचमा एक स्थायी पारस्परिक प्रभाव पैदा गर्नेछ’, (लेनिन, सङ्कलित रचनाहरू, सन् १९६२, मस्को) ।

कला–साहित्य सामाजिक जीवन र वस्तुगत यथार्थको कलात्मक प्रतिबिम्बन हो । प्रतिक्रान्तिकारी हावाहुन्डरी मडारिइरहेको यतिबेला एकीकृत जनक्रान्तिद्वारा जनताका कला–साहित्यको रक्षा र विकास गर्न आवश्यक छ । कला–साहित्य क्रान्तिको औजार बन्न जरुरी छ । समकालीन नेपाली राजनीतिमा जस्तै कला–साहित्यका क्षेत्रमा पनि प्रतिधु्रवीय कित्तासित क्रान्तिकारी लेखक–साहित्यकारको गुत्थमगुत्थापूर्ण भीषण लडाइँ चलिरहेको यतिबेला जनताका लेखक साहित्यकारहरू सतिसाल बनेर उभिन आवश्यक छ ।

नेपालको क्रान्तिकारी लेखन माओको येनान प्रवचनबाट प्रभावित छ । नेपालका जनसंस्कृतिकर्मीहरू कलम र बन्दुक एकैसाथ लिएर वर्गसङ्घर्षमा होमिए । उनीहरूले सांस्कृतिक पल्टनको भूमिका पूरा गरे । जनताका माझ निकै लोकप्रियता हासिल गरेका संस्कृतिकर्मीहरूमध्ये कृष्ण सेनको नाम अग्रपङ्क्तिमा स्थापित छ ।

नेपालको क्रान्तिकारी कला–साहित्य नेपाल कम्युनिस्ट पार्टीको स्थापनासँगै ‘येनान गोष्ठीमा साहित्य र कलाबारे प्रवचन’ बारे परिचित भइसकेको थियो । यो प्रवचन समाजवादी–यथार्थवादी लेखक–साहित्यकारका लागि आधारभूत पाठ्यक्रम बनेको छ । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिबाट नेपालका क्रान्तिकारी साहित्यकारहरू सघन रूपमा प्रभावित छन् । नेपालमा नेकपाको स्थापनासँगै सामन्तवाद–सामाज्यवादविरोधी सौन्दर्यचेतनाको प्रवेश भएको हो । त्यसको उच्चतम् रूप जनयुद्धीय सौन्दर्यचेतनाले अभिव्यक्त छ । नेपालको कम्युनिस्ट आन्दोलनमा जनयुद्धीय सौन्दर्यचेतनाको पछिल्लो कडी एकीकृत जनक्रान्तिसित जोडिन आइपुगेको छ ।

महान् सर्वहारा सांस्कृतिक क्रान्तिले करोडौँ जनताको शक्तिलाई एउटा विशाल प्रवाहमा परिचालित ग¥यो । पहाडलाई हटाउन सक्ने, समुद्रलाई सुकाउन सक्ने, हजारौँ चट्याङबराबरको तागत भएको यसले सामन्तवाद, पुँजीवाद र संशोधनवादका नाभी चुँडाल्न निर्वाह गरेको भूमिका ‘निरन्तर क्रान्ति’ का रूपमा स्थापित छ । जनताको महान् गाथाको दस्ताबेजीकरण गर्न लेखक–साहित्यकारको ठूलो भूमिका रहँदै आएको कुरा हामीले कहिल्यै भुल्नु हुँदैन । अन्त्यमा, माओको ‘साहित्य र कलासम्बन्धी दुई निर्देशन’ हेरौँ :

समस्या कलाका सबै विधाहरू नाटक, गीत, सङ्गीत, ललितकला, नाच, सिनेमा, कविता, साहित्यलगायतमा बग्रेल्ती रहेका छन् जसमा जनताको ठूलो सङ्ख्यामा सहभागिता छ । यससँग सम्बन्धित थुप्रै विभागहरूमा समाजवादी रूपान्तरणका क्षेत्रमा थोरबहुत उपलब्धिहरू पनि हासिल भएका छन् । यद्यपि थुप्रै विभागहरू उही मृत कुराहरूले नै प्रभुत्व जमाइरहेको छ । सिनेमा, नयाँ कविता, लोकगीत, ललितकला र उपन्यासका क्षेत्रमा प्राप्त उपलब्धिहरूलाई नजरअन्दाज गर्न सकिन्न तर त्यससँगसँगै त्यहाँ केही समस्याहरू पनि रहेका छन् । यी विभागहरूमध्ये जहाँसम्म नाट्यविभागको कुरा छ त्यहाँ गम्भीर प्रकारका समस्याहरू विद्यमान छन् ।

सामाजिक, आर्थिक आधार परिवर्तन भइसकेका छन् तर उपरिसंरचनाको अङ्गका रूपमा रहेको कला जसले आधारको सेवा गर्छ त्यहाँ अझै पनि गम्भीर समस्याहरू छन् । आजैदेखि हामी यसबारेमा अध्ययन–अनुसन्धान गर्दै अघि बढ्नेछौँ र यसलाई गम्भीरतापूर्वक ध्यान दिनेछौँ । कम्युनिष्ट भएर सामन्ती तथा पुँजीवादी कलाको बढोत्तरीमा लाग्ने तर समाजवादी कलालाई लात मार्ने कुरा हाँस्यास्पद छैन ?

विगत पन्ध्र वर्षयता यी संस्थाहरूले आफ्ना प्रायःजसो प्रकाशनहरू– त्यसमध्ये केही राम्रा छन् भन्ने सुनिन्छ । उनीहरूसँग प्रकाशनहरू थुप्रै मान्छेहरू (प्रत्येक होइन) ले पार्टीको नीति अनुसरण गरिरहेका छैनन् । उनीहरूले आफूलाई उच्च र शक्तिशाली प्रशासक ठान्छन्, उनीहरू मजदुर, किसान र सेनाहरूका बीचमा गइरहेका छैनन् र उनीहरूले समाजवादी क्रान्ति र समाजवादी निर्माणलाई प्रतिबिम्बित गरिरहेका छैनन् । हालैका वर्षहरूमा उनीहरू संशोधनवादी कित्तातर्फ ढल्केका छन् । आफूूलाई यथार्थमा गम्भीरतापूर्वक रूपान्तरण भने उनीहरूलाई हङ्गेरियाली पेटोफी क्लबझैँ बनेकोमा पाता कसिनेछ ।

प्रतिक्रिया