अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४९ | Colorodo: 05:04

आवाज बिहिनको आवाज रवि लामिछाने

निशेष कार्की २०७४ पुष ८ गते ७:२७ मा प्रकाशित

निशेष कार्की

मानव सृष्टि उषाकालिन अवस्था देखि नै मानव जातीले आफ्नो अस्तित्व रक्षाको निम्ति अनेकौँ चुनौती र सङ्घर्षको सामना गर्दै आइरहेको इतिहासमा सर्वविधितै छ । ग्रीस राज्यले मानिसको नैसिर्गिक अधिकारको वकालत गर्दै सर्वसाधरणको निमित्त हक, अधिकार र न्यायको द्वार खोलिदिए पश्चात् मानव सभ्यताको प्रारभ्म भयो । त्यस पश्चात् पनि अधिकार प्राप्तिको निम्ति संसारका विभिन्न राष्ट्रहरूमा अनेकौँ क्रान्ति भए, कति क्रान्ति हुदैछन् र भावी दिनहरूमा कैयौँ हुन्छन् पनि । नेपालको १० वर्षे जनयुद्व पनि त्यसको एक उदाहरण हो । खैर यसको फलस्वरुप हामीले के प्राप्त ग¥यांै त्यसको भिन्नै पाटो छ ।

विकसित मुलुकमा मानव अधिकारको विषयलाई निकै संवेदनाशिल ढङ्गले लिइन्छ । विकासोन्मुख र अविकशित मुलुकमा अधिकार प्रायः दबाईन्छ । फलस्वरुप जनक्रान्ति पटक–पटक दोहोरिरहन्छन् भलै देशले निकास नपाओस् । अधिकार प्राप्तिको निम्ति आफ्नो प्राण आहुती दिनेहरु हराएको सूचीमा पर्छन् र जीवनभर पलाएन भैरहन्छ ।

जब जब समाजमा उत्पीडनले अग्रगामी रूप लिन्छ तब–तब जनचेतनाको लहर उर्लिन्छ । कुनै पनि राष्ट्रको सञ्चार माध्यमले त्यस देशको जनताको प्रतिविम्ब गरेका हुन्छ । हाम्रो मुलुकमा पनि पटक–पटक सञ्चार माध्यमद्वारा अधिकारका मुद्दाहरू उठाइरहन्छन् तर पछिल्लो पटक मिडियामा प्रसारण हुँदै आएको कार्यक्रम ‘सिधा कुरा जनतासँग’ निकै प्रभावकारी साबित भएको छ । कार्यक्रम सञ्चालनमा आएको पहिलो दिनदेखि नै अन्यायमा परेकाहरुलाई न्याय दिलाउँदै आइरहेको कार्यक्रम अहिले लोकप्रियताको शिखरमा छ ।

नेपालीहरू स्वभावैले सिधा सादा हुन्छन् तर यही समाजमा ठगेर खानेहरुको समूह पनि बाक्लै छ । हुने खाने र पहूँचवालाहरुको मनोमानी चल्छ । देशमा प्रशासन र न्यायपालिका त छ तर फोहोरी राजनैतिक हस्तक्षेपले ग्रस्त छ । अन्यायमा परेका र ठगिएका सर्वसाधारणको पहुँच राज्यसम्म कमै छ । यस्ता आवाज विहीन जनताहरुको निम्ति कार्यक्रम ‘सिधा कुरा जनतासँग’ एउटा नवीन आस बनेर उदाएको छ ।

आर्थिक प्राप्तिको निम्ति रोजगारीको सिलसिलामा लाखौँ युवा युवतीहरु विदेशीन बाध्य छन्। खाडी मुलुकको तातो मरुभूमिमा पसिना बगाएर श्रम बेच्ने नेपालीहरूले विदेशी भूमिमा धेरै कठिनाइको सामना गर्नुपर्छ । त्यहाँ नेपाली दूतावास त छ, तर दुतावाससंग नेपालीहरूको समस्याको समाधान छैन । विदेशमा धेरै नेपाली चेलीहरु घरेलु हिंसाको सिकार भएका छन् । पहिले पिडितहरुको आवाज सुनिदिने कोही थिएन् तर अहिले ‘सिधा कुरा जनतासँग’ द्वारा विदेशबाट यस्ता पीडित युवा युवतिहरुको उद्धार गरेर आफू जनताको आवज भएको पुष्टि गरेको छ ।

हाम्रो समाजमा राम्रो काम गर्नेहरुको खुट्टा तान्नेहरुको लर्को लामै लाग्छ । सोझा साझा जनतालाई ठगी खान पल्लेकाहरु र अन्याय अत्याचारका ठेकेदारहरुलाई ‘सिधा कुरा जनतासँग’ मा नङ्ग्याउन थालेपछि समाजका खलनायकहरु हतोत्साही भएर सञ्चालक रवि लामिछानेको विरोधमा उत्रनु स्वभाविक हो । विदेशी अनुदानको आस गरेर बस्नेहरु रविको विदेशी नागरिकता भएकोमा आपत्ति जनाउँछन् । रवि नेपालको छोरो हो उ नेपाली धर्तीमै जन्मेर यहीको मूलको पानी पिएर हुर्केको एक कर्तव्यनिष्ठ व्यक्ति हो । अमेरिकाको विलासी जीवन परित्याग गरी स्वदेश फर्केर राष्ट्र सेवामा होमिएका रवि नेपालको ईमान्दार छोरो हो । व्यक्तिगत सुरक्षाको पर्बाह नगरी जनताको हक र अधिकारुको वकालत गर्ने रवि नेपाली जनताको सहासी छोरो हो ।

दत्तचित्त भएर समाजप्रति आफ्नो दायित्व निर्वाह गरिरहेका रविबाट हामीले सिक्नु पर्ने धेरै छ । विकृति र विसंगतीहरुलाई जरैदेखि निर्मूल पार्न तल्लीन रविको योगदान प्रशंसनीय छ । हाम्रो युगको उदाहरण हो रवि । रवि नेपालको राष्ट्रिय छोरा हो !

जुन देशका जनता शक्तिशाली हुन्छ्न् त्यो देश पनि शक्तिशाली हुन्छ । जनताकै समर्थनमा अथाह शक्ति हुन्छ । रविको कार्यक्रमलाई जनताको पूर्ण समर्थन छ । सत्यको विजय र समाज परिवर्तनको निम्ति पनि ‘सिधा कुरा जनतासँग’ ले निरन्तरता पाउनु पर्छ । कार्यक्रम सुरु भएदेखि धेरैले न्याय पाएका छन् । अन्यायमा परेकाहरुमा आउँदाको गुनासो र न्याय प्राप्ति पछि उनीहरूको चम्किलो अनुहारले मनलाई शितलता प्रदान गर्छ । रवि प्रति गौरवान्वित हुँदै भन्न मन लाग्छ “स्याबास् रवि सलाम छ” तिमीलाई ।

‘सिधा कुरा जनतासँग’ ले कानुनलाई आफ्नो हातमा कदापि लिएको छैन बरु यसले कानुन, प्रहरी र राज्यलाई सघाईरहेको छ । जनताको भरोसा जितेर ‘सिधा कुरा जनतासँग’ सर्वसाधारणको निम्ति भरपर्दो न्यायपालिका भएको छ । जनताको आवाज भएको छ ।

के समाजको विकृति र विसंगतिलाई उजागर गर्नु, ठगहरुको पर्दाफास गर्नु, अन्यायमा परेकालाई न्याय दिलाउनु र सर्वसाधरणको हक र हितको वकालत गर्नु रविको अपराध हो भने सरकार रविलाई गैर नागरिक घोषित गरेर देश निकाला गरिदिए हुन्छ ।

प्रतिक्रिया