अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५२ | Colorodo: 14:07

सन्दर्भ: पर्थ नेपाली साहित्य सम्मेलन २०१७- तीर्थराज अधिकारी

बिआरटीनेपाल २०७४ कार्तिक २४ गते १:०९ मा प्रकाशित

पर्थ अस्ट्रेलिया भन्ने देशको पश्चिमी राज्य हो । गत सेप्टेम्बर ९-१० सन २०१७ का दिन, उक्त स्थानमा पाँचौ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भएको थियो । सुनेको हो, त्यस देशमा कल्पना गरेका भन्दा सुरम्य स्थानहरू, दसौँ हजार समुद्री तटहरु, गुलाब रंगी ताल, ५६१४ कि.मि तार बारले जङ्गली कुकुर सित जोगाएको भूमि, जनसङ्ख्या भन्दा धेरै कंगारू, विश्वलाईनै सय पटक ढाक्न पुग्ने पस्विना उत्पादन, १५ करोड भेडाको बथान, ग्रेट बेरियर रिफ, ओपेरा हाउस, सिडनी हार्वर आदि कुराले मलाई त्यस देशमा पुग्ने रहर थियो ।

यस पृथ्वीमा सबै भन्दा धेरै बचेको कलात्मक, संगीतमय र आध्यात्मिक परम्परा स्थापित यो देश बहु सांस्कृतिक कार्यक्रमले पोषण गरेको रहेछ ।२०औ शताब्दीको ६० को दशकमा प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक धरोहरको संरक्षण भएको रहेछ । सन १९७३ मा यहाँका साहित्यकार श्री पेट्रिक ह्वाइटले साहित्यमा नोवेल पुरस्कार जितेर त्यो नयाँ महाँदेशलाई साहित्यिक क्षेत्रमा परिचित गराएका रहेछन् । त्यसैले पनि यो पवित्र भूमिमा नेपाली साहित्य फस्टाउने उर्वर क्षेत्र बन्न पुगेको रहेछ ।

साँच्चै भन्नु पर्दा, दुई कुराले मलाई कौतूहल पैदा गरेको थियो । त्यहाँको बियर कस्तो होला भनेर मलाई पनि त्यहाँको बियर मन फुकाएर पेट भरि पिउने इच्छा जागेर आयो । किन भने ? पूर्बप्रधान मन्त्री बबहकले ११ सेकेण्डमा १.१८ लिटर बियर पिएर विश्व रिकर्ड बनाएका हुन भने अर्को चाहिँ सन २०१३ मा एउटा सुँगुरले १४ वटा बियर खाएर मात्दै गाईसंग जुध्न पुकेको समाचार सुनेको थिएँ ।

कुनै लेखन वा पङ्तिहरुबाट जिन्दगीलाई स्पर्श हुनु नै साहित्य हो भनिन्छ । साहित्य आन्तरिक अनुभूति र सम्वेदनाको अभिव्यक्त रूप हो । प्रवासी साहित्य मूल घर भन्दा टाढा विदेशलाई कर्म भूमि बनाएर सृजन भएको नेपाली साहित्य हो । प्रवासी साहित्यकारहरुले नेपाली अस्मितालाई जिउँदो राख्न भएको प्रयास हो । मानवीय संवेदना वास र प्रवाासमा समान हुन्छन् । कुनै साहित्यको गतिशीलता भैरहदा सम्म जीवित साहित्य भनिन्छ । विश्वमा धेरै साहित्य सृजन भए धेरै हराए पनि ।

प्रवासी नेपाली रचनामा अतीतको सम्झना, वर्तमानको समस्य र भविष्यको चिन्ता अभिव्यक्त भएको पाइन्छ । प्रवासी नेपाली जहाँ रहेका भए पनि न त्यो देशको संस्कृतिसँग भिज्न सके न बिशुद्ध नेपाली पनमा रहन सके । अन्तर्राष्ट्रिय नेपाली साहित्यको एउटा विशेषता आफ्नो मूल्य र अस्मिता तथा नेपाली पन अभिव्यक्त हुनु हो । नेपाली साहित्य समाजले एउटा छुट्टै साहित्य संसारको सृजना गर्‍यो जुन कुरा सारा विश्वमा बिस्तारै फैलदै गै रहेको छ । अब नेपाली प्रवासी साहित्यको छुट्टै एउटा विम्वको रूपमा स्थापित भएको छ।

यो परम्परा दीर्घकाल सम्म रही रहोस्, नयाँ नेपाली पीढीलाइ आवश्यक जानकारी उपलब्ध गराउन सकियोस, नेपाली मूलको प्रतिष्ठा दिन परदिन वृद्धि हुँदै जावस यही चिन्तन हो अग्रज साहित्यकारहरुको ।

हुन त, संस्थाको श्रेयले आँफू परिचित हुने भावना सदस्यहरूसँग नभए सम्म कुनै पनि संस्था विकसित हुँदैन । यस कुराको प्रत्यक्ष अनुभव मैले पर्थका युवा साहित्यकारहरुमा यथेष्ठ मात्रामा पाएँ । प्रस्तुत हुने शैली, अतिथि सत्कार, व्यवस्थापन, कार्यकुशलता र फूर्तिलो छटाले त्यो “साहित्यिक कुम्भ मेला” अविस्मरणीय रूपमा सम्पन्न हुन सक्यो । धेरै धेरै बधाई तथा धन्यवाद ती साहित्यकारहरुलाई जसले पर्थलाई नेपालीको एउटा सानो साहित्यिक संसार बनाएको छ । यसको श्रेय पर्थ च्याप्टर अनेसास र पर्थ निवासी साहित्यनुरागी महानुभावहरु सामूहिक रूपमा दावेदार हुनुमा कुनै अत्युक्ति नहोला ।

अन्त्यमा, हर्कुलसको जस्तो जिम्मेवारी बहन गर्ने मैले नाम सम्झेका नवोदित युवा साहित्यकारहरु श्री गणेश घिमिरे, श्री दिपेश राज रिमाल, श्री निरज क्षेत्री र श्री राजेश बढाथोकी आदीहरु प्रति म आँफू अति प्रभावित भएको कुरा सार्वजनिक गर्न चाहन्छु । धन्यवाद ।

प्रतिक्रिया