अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:४३ | Colorodo: 15:58

सम्बन्ध बिच्छेद – गीता खत्री

बिआरटीनेपाल २०७४ असोज २७ गते ३:४१ मा प्रकाशित

मान्छे सामाजिक प्राणी भएकोले समाजबाट ढाटा बस्न रुचाउदैन । जो समाजबाट टाढा बस्छ त्यो सामान्य मान्छे नहुन पनि सक्छ । समाजमै जन्मेर हुर्कि बढेपनि त्यस्ता मान्छेले समाजसंग आफ्नो  सम्बन्धलाई विच्छेद गरेका हुन्छन् । मान्छेसंगै आउने मानवीय विशेष प्रतिभालाई बर्तमान समाजसंग घुलमिल गराउन नसकेर वा आफ्नो प्रतिभालाई नियन्त्रण गर्न नसकेर वा कुनै निश्चित लक्ष्य प्राप्तिका लागि मान्छे समाजबाट टाढिन पुग्छ र एक्लै बस्छ ।

मान्छे सामाजिक प्राणी भएकोले समाजबाट ढाटा बस्न रुचाउदैन । जो समाजबाट टाढा बस्छ त्यो सामान्य मान्छे नहुन पनि सक्छ । समाजमै जन्मेर हुर्कि बढेपनि त्यस्ता मान्छेले समाजसंग आफ्नो  सम्बन्धलाई विच्छेद गरेका हुन्छन् । मान्छेसंगै आउने मानवीय विशेष प्रतिभालाई बर्तमान समाजसंग घुलमिल गराउन नसकेर वा आफ्नो प्रतिभालाई नियन्त्रण गर्न नसकेर वा कुनै निश्चित लक्ष्य प्राप्तिका लागि मान्छे समाजबाट टाढिन पुग्छ र एक्लै बस्छ ।

सम्बन्ध विच्छेद धेरै किसिमका हुन्छन् जस्तै मित्रमित्रबीचको सम्बन्ध, दाजुभाइ दिदीबहिनीबीचको सम्बन्ध, आमाबाबु र छोराछोरीबीचको सम्बन्ध, संगसंगैकाम गर्ने कामदारहरुबीचको सम्बन्ध तथा लोग्नोस्वास्नीबीचको सम्बन्ध । उपरोक्त मध्ये सबै खाले सम्बन्ध सानोतिनो बादबिवाद वा भनाभनमा अथवा सानोतिनो रिसइबीमा वा सानोतिनो व्यवहारिक कठीनाइका कारण छोटो समयका लागि बिग्रीएको हुनसक्छ । यस्ता सम्बन्ध विच्छेदका लागि कुनै कानुनी प्रकृयाको आवश्यकता पर्दैन । एक अर्काबाट टाढियो, देखादेख हुँदा एकजनाले अर्कोलाई नदेखे जस्तो ग¥यो, खतम । समयको अन्तरालमा ती सबै घाउहरु खाटा बस्छन् । निको हुन्छन् । घाउको डोबनै नदेखिएपछि मान्छेमा सकारात्मक भावना पलाउन थाल्छ । मान्छेले आफ्नो गल्ती महसुस गर्न थाल्छन् र अर्काको गल्तीलाई समेत माफ गरिदिन्छन् । अनि बिस्तारै सम्बन्ध पुनः सुधारिन्छ र जोडिन्छ पनि ।

साधारणतया लोग्नो-स्वास्नीबीचको सम्बन्ध मान्छे पाको भएर जोडिएको सम्बन्ध हो । त्यसैले सबैभन्दा बढी बलियो र प्रगाढ सम्बन्ध हुनुपर्ने हो । आमाबाबुसंगको सम्बन्ध पछिको बलियो सम्बन्धको श्रेणीमा यसले स्थान पाउनु पर्ने हो, तर समाजमा यस्तो भइरहेको छैन । पहिले-पहिले यस सम्बन्धमा पश्चिमी सभ्यता र पूर्बीय परम्परामा निकै फरक बिचार थियो तर आजको समयमा झण्डै-झण्डै समानता आउन लागि सकेको देखिन्छ । बिबाह पूर्ब केटाकेटीबीचको भेटघाट, उठबसको चलन पश्चिमी परम्परामा थियो भने पूर्बीय मुलुकमा यस्तो थिएन । मागी बिबाहको प्रचलन थियो । मागी बिबाहमै सम्बन्ध बलियो हुने आशा र विश्वास पूर्बीय समाजले राखेको थियो । तर समयको प्रभावहसंगै बिस्तारै त्यो विश्वास हराउंदै गयो । अनि पश्चिमी सभ्यता नै राम्रो हो की भन्दै पश्चिमी परम्परालाई आत्मसात गर्न थाल्यो । केटाकेटी दुबैले एक अर्काको बिचार बुझ्ने, बानीबेहोरा बुझने, केही समय उठबस गर्ने परम्परा आइसकेकोले सबैभन्दा बलियो सम्बन्ध बन्नु पर्ने थियो । तर माथिका सबै सम्बन्धहरु मध्ये सबैभन्दा कमजोर सम्बन्ध लोग्नोस्वास्नीबीचको सम्बन्ध बनेको देखिन्छ । शिशा फुटेसरी लोग्नेस्वास्नीको सम्बन्ध फुट्ने रहेछ, दोहोर्याएर जोडिनै नसक्ने । यो सम्बन्ध पुनः जोडिएको घटना बिरलै होलान, मैले अहिलेसम्म देखेकी पनि छैन, सुनेकी पनि छैन् ।

मैले यहाँ छोटो चर्चा गर्न लागेको बिषय यही लोग्नेस्वास्नीबीचको सम्बन्ध विच्छेद हो । पूर्बीय लोकोक्तीमा भनिन्छ– “कुण्डकुण्ड पानी, मुण्डमुण्ड बुद्धि ।” जसरी कुण्डैपच्छिे फरकफरक स्वादको पानी पाइन्छ, त्यस्तै मान्छेपच्छिे फरकफरक बुद्धि, विवेक तथा प्रतिभा हुन्छ । यिनै जिजीविषामा मानिस जिइरहेको हुन्छ । जुन आस्था र विश्वासलाई आधार बनाएर यौवनाहरु तथा अन्य उमेरका मान्छेहरु बिबाह बन्धनमा बाँधिन्छन्, समय बित्दै गएपछि ती आस्था र विश्वासमा नमीठोपना र धमिलोपना आउन थाल्छ । यसले लोग्नेस्वास्नी बीचको मायाप्रेममा चिरा पर्न शुरु हुन्छ ।

बैबाहिक सम्बन्धमा धमिलोपना आउनमा समान योग्यता, समान आम्दानी तथा यौन असन्तुष्टीले विशेष भूमिका खेलेका हुन्छन् । सानातिना कुराहरुमा झनक्क रिसाउने, प्रतिबाद गर्ने, कसैले आफ्नो योग्यताको घमण्ड गर्ने, कसैले धनसम्पत्तिको तुजुक देखाउने, कसैले पद र प्रतिष्ठाको रवाफ देखाउने र एकले अर्कालाई होच्याउने, नीचा देखाउने कामको थालनी हुन थाल्छ । कहिलेकाँही लोग्नेमान्छेको परम्परागत जिगीषाको कारणबाट पनि सम्बन्ध विच्छेदको परिस्थितिको जन्म हुन्छ । यस्तो परिस्थितिबाट मुक्ति पाउन लोग्नेस्वास्नी एकअर्काबाट टाढा रहने मनस्थितिमा पुग्छन् । तर छोटो होस या लामो समयको उठबस, अगाध माया विश्वासका कारणले आ-आफ्नो स्वईच्छाले मात्र लोग्नेस्वास्नी अलग्गै बस्न मिल्दैन । त्यसभित्र नावालिग केटाकेटीहरु तथा धनसम्पत्तीको ठूलो किचलो लुकेको हुन्छ जुन पहिले सामान्य र सुखद जीवनयापनको माध्यमको रुपमा चिनिन्थ्यो ।

पतिपत्निबीच एकले अर्कामाथि थोपारिने दोषारोपण लगायत बदला दिने भावनाबाट यो सम्बन्ध विग्रन्छ । त्यस्तै एकआपसमा भरोसा राखेर नै बिबाह गरिएको हुन्छ त्यसलाई कुनै एक पक्षले तोडेपछि अर्कोको मनमा चोट पुग्छ । अनि त्यो चोटको बदला बैबाहिक सम्बन्धको बिच्छेदबाट दिने लालसा हुन्छ । कतै पुरुषले कतै महिलाले यौन सन्तुष्टि दिन नसकेपछि एकले अर्कालाई धोका दिएर अन्य महिला वा पुरुषमाथि आँखा लगाउन थालेका हुन्छन । कहिलेकाँही लोग्ने स्वास्नीबीच प्रेम र भावना विनाको यौनसमागम हुन्छ, जसले लोग्नेस्वास्नीबीचको मायालाई नजिकाउदैन बरु टाढा बनाउनमा बल दिन्छ । बिबाह अगाडि लोग्नेस्वास्नीमध्ये कसैको सम्बन्ध अर्कै संग भएको रहेछ भने पनि बिहेपछि त्यो सम्बन्ध कायमै हुन सक्छ । कुनैपनि बेला त्यो कुरा अर्को पक्षलाई थाहा हुनासाथ त्यो सम्बन्ध टिकाउ हुन सक्दैन । कतिपय महिलाहरु आफुलाई सामान्य खर्च चलाउन आवश्यक पैसा सँधै लोग्नेसंग माग्नु पर्दा आफु कमजोर र निरीहता भएको सम्झेर पर पुरुषबाट उक्त आकाँक्षा पुरा हुने आशामा परपुरुषको खोजीमा लाग्ने सम्भावना हुन्छ ।

यस्तो मौकामा परपुरुषले सानो खुसी दिंदा पनि त्यसलाई ठूलो खुसी सम्झेर त्यता ढल्कने बलियो सम्भावना हुन्छ । जीवनकाल लामो हुन्छ । कहिलेकाही लामो सयमकालमा उही मान्छे, उही ठाउँ, उही कुरा उही बिचारले सम्बन्ध बोरिङ्ग, मोनोटोनस र पट्यारिलो हुन जान्छ । अनि लोग्नोस्वास्नीबीच कुरा मिल्न छाड्छ । साथै कहिलेकाहीँ आइमाइलाई घरमा आवश्यक इज्जत नमिलेको आभास हुन गयो भने पनि बैबाहिक जीवनमा कटुताको जन्म हुन्छ र सम्बन्ध बिच्छेदतिर अग्रसर हुन्छन् ।

कानुनी रुपमा बैबाहिक सम्बन्धलाई समाप्त गर्नु वा लोग्नोस्वानीबीचको नातालाई कानुनी रुपमा च्युत गर्नु नै सम्बन्ध विच्छेद हो । यो निर्णय पश्चात ती दुबै लोग्नेस्वास्नीको रुपमा नरहेर भूतपूर्ब लोग्ने वा स्वास्नीको रुपमा चिनिन पुग्छन् । यसपछि उनिहरु एक किसिमले अबिबाहित जस्तै अवस्थामा पुग्छन् । अन्य समाज वा धर्ममा लोग्नेस्वास्नीसंगै बस्न नसक्ने अवस्था आएपछि सम्बन्ध विच्छेद नै एकमात्र विकल्प हुन्छ तर हिन्दु धर्ममा भने यो बाटोलाई राम्रो बाटो मानिदैन । किनकी हिन्दुधर्मले बिबाहलाई बर्तमान जीवनभरीको सम्बन्धमात्र नभई अन्य सम्भावित जीवनमा समेतसंगै हुन सक्ने आस्था देखाएको छ ।  तर केही शर्तमा महिलाले अर्को बिवाह गर्न सक्ने कुरा उल्लेख गरिएको छ, जस्तै लोग्ने नपुंसक देखियो भने, लोग्ने छ महिना भन्दा बढी अवधि कुनै सूचनाबिना हरायो भने ४ बर्षसम्म पर्खेर यसपछि विवाह गर्न सकिन्छ, लोग्नेले सन्यासी जीवन अपनायो भने, लोग्ने तल्लो जातमा झर्यो  भने वा मर्यो भने । कौटिल्यले पनि माथिकै कुराहरुलाई समर्थन गर्दै र त्यसमा केही थप गर्दै महिलाले आप्mनो  लोग्नेलाई परित्याग गर्न सक्ने बताएका छन् । उनले थपेका शर्तमा लोग्नेको खराब आचारण भयो भने, लोग्नेले विश्वासघात ग¥यो भने र उनको जीवनकै लागि खतरा भयो भने स्वास्नीले अर्को लोग्ने लिन सक्ने बताएका छन् । यस सम्बन्धमा कौटिल्यको एउटा अप्ठेरो धारणा के रहेछ भने सम्बन्धको लागि दुबैको सहमति हुनु आवश्यक छ । तर बास्तविक संसारमा सधैं यो सम्भावना नहुन पनि सक्छ ।

हिन्दु सामाजिक परम्परामा सम्बन्ध विच्छेदलाई विशेष शर्तमा मात्र अनुमति दिइन्थ्यो । तर धर्मको आधारमा भने अनुमति थिएन । किनकी हिन्दुधर्ममा विवाहलाई पवित्र सम्बन्ध तथा दैविक सम्पति हो भनेर मान्यता दिएको थियो । विवाह परिवारलाई अगाडि बढाउने अनि नयाँ सृष्टि तथा नयाँ सिर्जनाको निमित्त बाँधिने पवित्र सम्बन्ध हो । विवाह मान्छेले गर्नै पर्ने अनिवार्य कर्तव्य हो जसलाई लोग्नेस्वास्नी दुबैले जीवन रहेसम्म कायम राख्नको लागि स्वीकार गरेर गरिएको हुन्छ । त्यसैले विवाहको यो पवित्र सम्बन्धलाई एउटादुईटा व्यक्तिगत स्वार्थी कुराको आधारमा विच्छेद गर्न हुदैन भन्ने आस्था र विश्वास थियो । मनुस्मृतिमा विवाह सम्बन्धमा  व्याख्या दिदै मनुले भनेका छन्– “लोग्नेस्वास्नीले सधै यस्तो व्यवहार गरोस कि कहिले पनि उनिहरुको प्रेम, माया र सद्भावमा दरार वा चिरा पर्ने अवस्था नै नआवोस ।”

सम्बन्ध विच्छेद किन ?

बुँदागत कुरा गर्दा खासगरि निम्न कारणहरुबाट लोग्ने-स्वास्नीबीचको मायाप्रेम पतनमा पुग्छ ।

 क) लोग्नेस्वास्नीबीच कटिबद्धताको कमी – हिन्दुहरुले बिबाहका अवसरमा अग्निलाई साक्षी मान्दै आफ्ना सम्पूर्ण मान्यजन, इष्टमित्रहरु बन्धुबान्धवका सामुन्नेमा सात परिक्रमा गर्दै श्रीमानले श्रीमतीको रुपमा स्वीकार गर्दै जीवनभर श्रीमतीलाई मायाप्रेम गरिरहने, सुखी र खुसी बनाउने, कहिल्ले अनादर तथा घृणा गर्ने छैन भनी बाचाबन्धन गरेको हुन्छ भने श्रीमतीले पनि श्रीमानलाइ दुःखमा पनि सुखमा पनि साथ दिई यो जीवन पछि पनि उसैको साथ दिने बाचा गरेकी हुन्छिन । अन्य धर्मका मान्छेहरुको बिबाहमा पनि बिबाह मण्डपमै आफ्ना सम्पूर्ण मान्यजन, इष्टमित्रहरु बन्धुबान्धवका सामुन्नेमा पण्डितको रोहवरमा पतिपत्नि दुबैले उस्तैउस्तै शपथ खाएका हुन्छन् । समयको अन्तरालमा लोग्नेस्वास्नीले ती शपथहरु पुरानो भएको जस्तो ठान्छन् । अनि  आ- आफ्नै स्वार्थमा लिप्त हुन्छन र ती शपथको मूल्यमान्यतालाई भुल्छन् । एक आपसको त्यो विश्वासको बलियो पर्खाल जब ढल्छ त्यसलाई पुर्ननिर्माण गर्न प्रायः असम्भव जस्तै हुन जान्छ । त्यसैले त्यो विश्वासलाई टुटन नदिन बेलैमा दुबैले ध्यान दिनु पर्छ र समयसमयमा आआफ्नो प्रतिबद्धताप्रति स्मरण र समिक्षा गर्नु पर्छ । हामीले पच्चिस बर्षको, पचास बर्षको बिबाह बर्षगाँठ मनाउने गरेका छौं । उक्त अवसरमा हामी बिबाहका बखत देखाएका प्रतिबद्धतालाई नवीकरण गर्ने गर्दछौं । ती प्रतिबद्धताहरु नवीकरण गर्न पच्चिस बर्ष नपर्खि प्रत्येक बर्ष मनाउनु राम्रो हो चाहे लोग्नेस्वास्नीमात्र बसेर होस चाहे सबै मान्यजन, आप्mन्त तथा साथीभाइलाई बोलाएर होस । यसोगर्दा आपूबीच भएका सानातिना असमझदारीहरु दूर हुन जान्छ र सम्बन्ध विच्छेद हुनबाट बच्न सकिन्छ ।

ख) लोग्नेस्वास्नीबीच अनावश्यक तर्कबिर्तक– जुनबेला केटाकेटी बिबाह बन्धनमा बाधिन्छन एकले अर्कालाई गहिरोसंग चिन्ने मौका नपाएको र अर्काको आनीबानी पनि थाहा नहुन सक्छन, त्यसैले निकै गहिरो मायाप्रेम देखाइरहेका हुन्छन् । भित्रि कुनै स्वर्थको कारणले बिबाह बन्धनमा बाँधिएको हो भने त्यो समय अनाएसम्म आफ्नो मनभित्रै लुकेरै बस्छ र समय आउनासाथ निकाल्छन् र आफनो फाइदाको कुरालाई अगाडि बढाउछन् । सच्चा हृदयले नगाँसिएको बन्धन बिस्तारै तर्कवितर्कका माध्यमबाट बढ्न थाल्छन् । फलस्वरुप विच्छेदनको अवस्थामा पुग्छ । यस्तो परिस्थितिबाट बच्न कहिले लोग्ने त कहिले स्वास्नीले तर्कविर्तकलाई अगाडि बढन दिनु हुन्न । एउटा आगो भए अर्को पानी बनि दिनु पर्छ ।

ग) पतिपत्निबीच बद्दो व्यभिचारको शँका– कतिपय समयमा व्यभिचारले बैबाहिक जीवनलाई नष्ट गरिदिन्छ । केही मान्छे स्वाभावैले व्यभिचार आगाल्ने स्वाभाव लिएर जन्मेका हुन्छन । उनिहरुलाई राम्रो र नयाँ मान्छे देख्नै हुन्न । उनिहरुमा कुदृष्टि जन्मी हाल्छ । पैसा, मान प्रतिष्ठा छ भने त्यसलाई जसरी भएपनि लिन लागी पर्छन, होइन भने मौकाको प्रतिक्षामा बस्छन् । कुनै बेलामा मान्छे परिस्थितिको शिकार बन्न पनि पुगेको हुन्छ । व्यभिचार अनैतिक काम हो भन्ने जान्दाजान्दै पनि त्यसमा होमिन पुग्छन् । हाम्रो समाजमा लोग्नेले गरेको व्यभिचारलाई चुपचाप पचाउने र स्वास्नीले गरेका व्यभिचारलाई सहन नसक्ने स्थितिमा छ । समानताको हिसाबले यो मान्य कुरा होइन तर पश्चिमी समाजले दुबैलाई बराबरी मानेर यस्तो व्यभिचार थाहा पाउनसाथ पारपाचुके भइ हाल्छ ।

घ) कलिलो उमेरमै विवाह हुनु – पुरानो हिन्दु समाजमा सानो उमेरमा विबाह गर्ने चलन थियो । जस्ले गर्दा बिबाहको लागि उमेर पुग्दा केटा कतै पढन गएर उतैबाट अर्को बिबाह गरिसक्ने चलन पनि थियो । नेपालको कानुनी परम्परामा २०२१ सालमा मुलुकी ऐन नआएसम्म जतिपटक विबाह गरे पनि कानुनी अबरोध थिएन । सक्ने श्रीमती लोग्नेको घरमा सौतासंग मिलेर वा बेग्लै बस्ने, नसक्नेले आप्mनो माइतीमै बस्ने वा अर्को केटा खोजेर बिबाह गर्र्ने । तर महिलालाई अर्को बिबाह गर्न पुरुषको तुलनामा निकै कठीन पर्दछ । पुरुषको दोस्रो तेस्रो बिबाहलाई समाजले सजिलैसंग पचाउछ भने महिलाको दोस्रो तेस्रो बिबाहलाई राम्रो दृष्टीले हेर्दैन । पश्चिमि समाजतिर १८ पुरा नभइ बिबाहको लागि कानुनी रुपमा योग्य बन्दैनन । तर कतिपय केटाकेटी प्रेममा अन्धो भइ कानुनी रुपमा बिबाह नगरी गन्धर्ब बिबाह गरेर बस्छन् र उमेर पुगेपछि मात्र कानुनी बिबाह गर्छन् । कलिलो उमेरको मायाप्रेम साँचो  र सहि माया नभएर काम बासनाको बसमा परेर गरिएको आकस्मिक बिबाह हो । पछि त्यो पारपाचुकेमा गएर टुगिन्छ । त्यसैले सानो उमेरमा गरिएको बिबाह टिकाउन नहुन सक्छ । कम्तीमा पनि बीस बर्षपछि गरिने बिबाह परिपक्व र बैबाहिक जीवनमा आउने अनगिन्ती समस्याहरुसंग सजिलै जुध्न र सम्हाल्न सक्षम हुन्छन् ।

ङ) पतिपत्निबीच ठूलाठूला इच्छा आकाँक्षाहरु – कहिलेकाँही केटाकेटी मन मिलेरमात्र नभई ठुलाठुला आकाक्षाँहरुलाई पुरा गर्ने रहर मनभित्र बोकेर पनि बिबाह बन्धनमा बाधिएका हुन्छन । समयले सबैलाई सँधै एउटै स्थानमा राख्दैन । जीवनचक्र कहिले माथि कहिले तल भईरहन्छ । जुन चाहना र कल्पना गरेर बिबाह बन्धनमा बाँधिएका हुन्छन त्यो पुरा नभएपछि उनिहरुबीच फाटो आउनु स्वाभाविकै हो । आजभोलि नेपालमा बस्न कठीनाई हुने वा विदेशी जीवनशैलीको लालचमा विदेशमा बस्ने केटी वा केटासंग विवाह गरेर विदेशीने अनि आफ्नो भित्रि इच्छा पुरा भएपछि बिबाह गरेर संगै आएको केटा वा केटीलाई छोडेर अन्यत्र हिडेको उदाहरण धेरै भइसकेका छन् । यस किसिमको व्यवहार गर्नेहरुमा कसैले आफ्नो पढाइ पुरा नभएसम्म उही बिबाह बन्धनमा बाँधिइरहने, कसैले ग्रीनकार्ड नबनेसम्म संगै बसिरहने, चलन चलिरहेको छ । त्यसपछि सकिन्छ भने केही सम्पत्ति हात पार्ने नभए केहीनकेही बहाना बनाएर सम्बन्ध विच्छेदको विन्दुमा पुगको उदाहरण धेरै भइसकेको छ ।

च) पतिपत्निबीच समान सम्बन्धको अभाव– हाम्रो समाज पितृसत्तात्मक समाज भएकोले जहांँपनि पहिले लोग्नेमान्छेको नाम अगाडि आउछ । जुनसुकै धर्म संस्कृतिमा पनि यही परम्परा रहीआएको देखिन्छ । साथै शारीरिक रुपमा पनि महिला भन्दा पुरुष बलियो हुने भएकोले यही परम्परालाई अगाडि बढाइरहेको होला । तर अहिलेको सन्दर्भमा यसप्रकारको विश्वासमा निकै परिर्वतन आइसकेको छ । हरेक क्षेत्रमा महिलाहरु उत्तिकै सक्षम र सबल भइरहेको देखिएको छ । मौकाको अभावमा महिला पछाडि परिरहेका रहेछन् भन्ने कुरा सबैले महसुस गर्न थालेको अवस्था छ ।  त्यसले लोग्नेस्वास्नीबीचको सम्बन्ध पनि यसै समान व्यवहारको आधारमा बलियो बन्छ । एउटाले अर्कोलाई कमजोर र निर्बल छ भन्ने विश्वासमा गरिने व्यवहारले यो सम्बन्धमा बिच्छेद आउने बलियो सम्भावना हुन्छ । यस प्रकारको अवस्था घरमा सिर्जना भयो भने लोग्ने वा स्वास्नीले मौकाको प्रतिक्षा गरेर बस्ने छन र मौका आउनासाथ आफ्नो फाइदा लिएर अर्कोलाई सडकमा छाडि दिन्छन् ।

छ) एक्कासी विवाह बन्धनमा बाँधिनु,– कहिलेकाँहीले समयले कुनै लोग्नेमान्छे र आइमाइलाई एउटा यस्तो जम्काभेटमा लगेर उभ्याइ दिन्छ जुन अवस्थामा उनिहरु बिबाह बन्धनमा बाँधिन बाध्य हुन्छन् । यस प्रकारको विवाह एउटा संयोग नै हो । यस प्रकारको विवाह सफल गराउन केटाकेटी दुबैले निकै ठूलो प्रयत्न गर्नु निकै ठूलो त्याग गर्नु पर्छ । होइन भने जति छिटो बिबाह भएको थियो त्यती नै छिटो बिच्छेद पनि हुन्छ । यस्तो घटना वा अवस्था धेरै जसो प्रसिद्धि कमाएका कलाकार तथा धनाढ्यहरुमा हुने गर्दछ । सामान्य मान्छेले यसप्रकारको विवाहबाट बच्नु उपयुक्त हुन्छ ।

हिजोको नेपाली समाज हिन्दु परम्परामा विकसित हुदैं आएको समाज हो । यद्यपी नेपालमा सबै खाले धर्महरुको उत्तिकै मानमर्यादा तथा मानसम्मान गरिन्छ । मुख्यतया नेपाली समाज हिन्दु परम्परामा आधारित समाज थियो जसमा सम्बन्ध विच्छेदको कुनै स्थान थिएन तर हिन्दु सामाजिक नीतिनियमले कुनै निश्चित आधारमा बिच्छेदलाई स्वीकृति दिने प्रावधान भने थियो । त्यतिबेला भनौ वा अझै कतिपय मान्छेमा विवाहलाई पबित्र बन्धनको रुपमा लिने प्रचलन छ । यसलाई कसैको केही झिनामसीना स्वार्थका निमित्त मान्यता दिनु उचित मानिदैन थियो । यस अर्थमा महिलाहरुलाई पूर्ण स्वतन्त्रता थिएन भन्दा पनि अनुचित नहोला । विवाह पश्चात महिलाको जीवन पूर्णतय लोग्ने वा उसका परिवारको अधिनमा रहनु अनिर्वाय थियो । यस किसिमको महिला दासताको लागि कसैले मनुको त्यतिबेलाको ज्ञानलाई दोष दिन्छन् । किनकी उनले महिलामाथि निकै शंँका उठाएर पूर्ण स्वतन्त्रता दिनु हुन्न  र जहिले पनि महिलालाई लोग्ने मान्छेको संरक्षणमा राखिनु पर्छ भन्ने विश्वास दिलाएका थिए । समयको प्रबाहसंगै कति ठाउँमा त महिलाको बेचबिखनसमेत हुन्थ्यो । नेपाल र भारतका गरिब भागहरुमा अझै अबैध रुपमा महिला बेचबिखन व्यापक रुपमा लुकिरहेकै छ । यति हुंँदाहुंँ दै पनि समयको बहाबसंगै महिलाप्रतिको भावना, माया, प्रेम आदरजस्ता कुरामा निकै परिबर्तन आइसकेको छ । यतिबेला मनुको ज्ञान ऐतिहासिक फ्रेमभित्रको तस्वीर भइसकेको छ ।

नेपालमा महिला हकहितको कुरा गर्दा २०२१ सालमा मुलुकी ऐन लागु भएपछि मात्रै उठान भए जस्तो मलाई लाग्छ । कानुन बनेपनि व्यवहारिक रुपमा खासै लागु भएको थिएन । घरभित्रको समस्या त्यसमा पनि महिलाको कुरालाई बाहिर ल्याउन धेरै कठीन थियो । पारिवारिक तथा सामाजिक दवावमा महिलाले आप्mनो दुःख पीडालाई दवाएरै राख्नु पर्ने अवस्था थियो । धेरै अगाडि बनेको ऐन कानुन भएकोले तत्कालीन समस्यालाई मात्र समावेश गरिएका कानुन थिए जसले आजको समस्याको कुनै निराकरण गर्न सक्ने कुरै भएन । तर सन् १९९० पछि नेपाली राजनीतिमा आएको आमुल परिवर्तनका साथै महिला हकहितका कुरापनि निकै परिवर्तन आयो । यो कार्यमा आजको जुझारु महिला अधिकार कर्मीहरुको निकै ठुलो हात भए जस्तो मैले ठानेकी छु । पहिले पहिले प्रहरी तथा सैनिक सेवामा महिलाहरुको उपस्थिति थिएन । अन्य क्षेत्रमा पनि न्युन संख्यामा महिलाको उपस्थिति हुन्थ्यो । अहिले सबै क्षेत्रमा महिलालाई समाबेश गरिएको छ ।

बर्तमान नेपालको कुरा गर्ने हो भने नेपाल विश्वमा एउटा अग्रगामी राष्ट्रको रुपमा लिन सकिन्छ । जहाँ एउटै समयमा राष्ट्रपति महिला छिन्, प्रधान न्यायाधिश महिला छिन, सभामुख महिला छिन् । देशको सर्बोच्च ओहोदाहरुमा एकै पटक तीनतीन महिलाले ओगोटेको इतिहास कमै देशमा पाइन्छ । त्यतीले मात्र नपुगेर सबै कार्य क्षेत्रहरुमा विशेष आरक्षण दिएर महिलाको सम्मान गर्नमा नेपाल पछि परेको छैन । आरक्षणको विषयमा मेरो अलि बेग्लै धारणा छ । केही समयका लागि आरक्षण दिनु नराम्रो होइन तर लगातारको आरक्षणले महिला वा जसलाई आरक्षण गरिन्छ, उनिहरुको पुस्ता कमजोर हुंदै जान्छ । उनिहरु कहिलेपनि प्रतिस्पर्धाको क्षेत्रमा अगाडि बढन सक्दैनन र फलस्वरुप कालान्तरमा उनिहरु कमजोर वर्गमा पुग्न बाध्य हुनछन् । महिलालाई योग्य र सक्षम बनाउनु सबैभन्दा राम्रो काम हो । समान शिक्षा, समान तालीम, समान तलब, समान अवसरबाट बन्चित गरिनु हुन्न भन्ने मेरो भनाई हो ।

विश्व भूमण्डलीकरण तथा संँचारको तिब्र विकासले आज संसारभरका गतिविधि एकैछिनमा संसारभर पैmलिन्छ चाहे गरिब देशको होस चाहे विकसित । त्यसमाथि सबैले आ आफ्नै किसिमले सकारात्मक वा नकारात्मक चर्चा परिचर्चा गरिहाल्छन । आउने नेपाली समाज यसबाट अलग्गीन सक्ने अवस्था  छैन । विगत केही बर्षदेखि नेपालको धार्मिक सहिष्णुतामा निकै ठुलो बिखण्डन आइरहेको छ । धार्मिक सहिष्णुताको विखण्डनका कारण जातजातिबीचको प्रेम, माया तथा सद्भावमा फाटो आएको छ । बाहिरी संसारसंगको सम्बन्ध तथा जनतामा आएको ज्ञान बुद्धिले बिस्तारै परम्परागत मूल्य र मान्यताहरुमाथि प्रश्नहरु उठन थालेका छन् । फलस्वरुप नयाँ नियम कानुन र परम्परामा परिर्बतन आइरहेका छन् । मान्छे अर्काको अनुकरण गरि हाल्ने प्राणी हो । कहिलेकाँही अरुको देखेर आफुमा पनि सोही अनुसार परिवर्तन ल्याउन खोज्छन् । श्रीमतीले घरको काम सम्हाल्ने परम्पराबाट बाहिर आएर बाहिरी काम सम्हालेपछि बैबाहिक जीवनमा समस्या शुरु हुन थाल्छन् । बाहिर काम गरेर आइसकेपछि घरको काम र बालबच्चाको जिम्मा पनि उनकै भागमा पर्नु त्यसमाथि लोग्नेको आज्ञाकारी स्वास्नी बन्नु त्यति सजिलो हुन्न । यहाँनिर समानता कता गयो भन्ने प्रश्न उठीरहेछन् ।

श्रीमति प्रति लोग्नेले व्यवहार, सासुससुराको व्यवहार आदिको मुल्यांकन श्रीमतीले गरिरहेकी हुन्छिन् । सबैकुराको सीमा रेखा हुन्छ । ती रेखाहरु पार गरेपछि वा उपरोक्त कुराहरु सहन नसक्ने अवस्था आएपछि स्वास्नीले अर्को बाटो रोज्ने निर्णय गर्नु अनुचित होइन । यदि हाम्रो समाजले विस्तारै छोरा र छोरीबीच समान व्यवहार गरेन भने यो सम्बन्ध विच्छेदको खाडल अझ बढ्दै जान्छ र विशेष गरेर महिलाहरुलाई बढी दुःख झेल्नु पर्छ । छोरालाई बोर्डिङ्ग स्कूलमा र छोरीलाई साधारण स्कूलमा हाल्ने वा पढन नगएपनि हुन्छ भन्ने दिनको अन्त्य हुनै पर्छ । यहाँ एउटा स्मरण गर्नु पर्ने कुरा के छ भने जुन बाबुआमाको सम्बन्ध विच्छेद भएको हुन्छ तिनीहरुको बालबच्चाको पनि सम्बन्ध विच्छेद हुने बलियो सम्भावना हुन्छ ।

सम्बन्ध विच्छेदले विवाह बन्धनलाई कानुनी रुपमा मुक्त गरिदिन्छ र यसबाट सिर्जित वा सिर्जाना हुने  कानुनी दायित्वबाट मुक्ति मिल्छ । विवाहबन्धनबाट मुक्त हुँदै मा मान्छे सुखी र खुसी हुन सक्दैन । मानवीय जीवनचक्र यस्तो चक्र हो जुन सदाकाल एकनासले आप्mनो गतिमा गुडिरहन सक्दैन । जसरी उज्यालो दिन पछि अँध्यारो रात आउनु प्रकृतिको अनिवार्य नियति हो त्यसरी नै जीवनमा सुख र दुःख पालैपालो आइरहन्छ । सुख आउँदा मान्छेले आप्mनो औकातलाई जति नियन्त्रणमा राख्न सक्छ त्यति नै ढीला दुःखले मान्छेको ढोका ढकढकाउन आउँछ । सुखमै त हो मान्छेले आप्mनो सक्कली रुप जनसमक्ष चिनाउने । हिजो म को थिएँ, म सानो छँदा कस्ले मेरो लालनपोषण ग¥यो, मैले के कस्ता दुःखहरुसंग झेल्नु पर्यो , मेरा आफ्नै केही कमीकमजोरीहरु पनि थिए की? सुखले साथ दिएको बेला मान्छेले यी सबै कुराहरु चटक्कै विर्सन्छन वा अझ यसौ भनौं सुखको उन्मादले बिर्सिइन्छ । सुखलाई मान्छेले लुकाउन सक्छ । तर थोरैमा मान्छेमा मात्र यो गुण हुन्छ । सुखको नशानै यस्तो हो की यसले जोसुकैलाई एकैछिनमा उन्मादको शिखरमा पु¥याइ दिन्छ । शिखरमा लामोसमय टिकिरहनु कठीन कार्य हो । ओरालो लाग्नु सबैको नियति हो । फरक यति हो की एक्कै पटक झर्ने वा बिस्तारै बिस्तारै । मान्छे ओरालो लाग्नुलाई नै दुःख परेको सम्झन्छ । मेरो बिचारमा दुःख भनेको एउटा बिचार हो, एउटा सोचाइ हो किनकी हिजो सुखको बेलामा पनि मान्छे उही हो आज दुःखको बेलामा पनि मान्छे त्यही हो केवल अवस्था फरक हो । सत्मार्ग र सत्यमा रहीरहन सक्यो भने दुःख र सुखबीचको दूरी नै थाहा हुन्न हामीलाई ।

दुःखको बेलामा मान्छे अर्काको सहयोगको अपेक्षा राख्दछ, भगवानप्रति आस्था देखाउँछ । यस्तो बेलामा मान्छेको भित्रि विचार, सोचाइ जनसमक्ष आउन सकेको हुन्न । उसले अरुबाट आशा र सहयोगको अपेक्षा गरिरहेको बेलामा आफ्नो इच्छालाई दबाइ राखेको हुन्छ । दुःखलाई जति लुकाउन खोजेपनि लुकाउन सकिन्न । दुःख धुवाँजस्तै हो । बतासनै नचलेको बेलामा पनि परपरसम्म देखिनेगरि आकाशभरि फैलिन्छ । त्यसैले मैले सुनेको एउटा लोक भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक ठान्दछु– सुखको बेलामा भगवानको प्रशंसा गर, दुःखमा भगवानलाई खोज, शान्तिको बेला भगवानको आराधना गर, दर्द पीडाको बेलामा भगवानमाथि विश्वास गर । दुःख आपैm जानेछ । जीवन सधैं सुखमय हुनेछ ।

विवाह बन्धनबाट मुक्त हुदैंमा सुख शान्ति र समृद्धि मिल्ने होइन । टाढाबाट हेर्दा यदाकता सुख शान्ति र समृद्धिपनि मिलेको जस्तो देखिन्छ । तर साच्चिकै सुख वा दुःख के छ त्यो त भोग्नेहरुको सच्चा उद्गारबाट मात्र निक्र्यौल हुन सक्छ, बाहिरीलाई देखाउने आडम्बरी बकाइबाट होइन । यदि सांच्चिकै सुख मिल्ने भए अमेरिकामा झण्डै पचास प्रतिशत पहिलो विवाह सम्बन्ध विच्छेदमा गएर टुँङ्गीएको छ  भने दोस्रो विवाह त साठी प्रतिशत भन्दा बढीको सम्बन्ध विच्छेद भएको अभिलेखमा देखिएको छ । तर अमेरिकी र युरोपीयन समाजमा सम्बन्ध विच्द्धेद समाजको एउटा पाटो जस्तै बनिसकेको छ , त्यसैले यसबाट आउने दुःख कष्ट वा समस्यालाई उनिहरुले सहजै आत्मसाथ गर्छन र गरिरहेकै छन् ।

त्यसैले लोग्नेस्वास्नीबीचको सम्बन्धलाई बलियो बनाउने आधार भनेको नै एकआपसमा विश्वास, एकआपसमा मर्यादा र एकआपसमा इमान्दारिता हो । हामी मानव जाति हौ । हामीमा त्रिगुणात्मक शक्ति छैन । त्यसैले कहिलेकाँही हामी आवेशमा आउन सक्छौ, नराम्रो काममा प्रेरित हुन सक्छौ । अनि निकृष्ट काम गर्न बाध्य हुन्छौ । मान्छेको जात अति गुणवान, विवेकशील र बुद्धिमानी हुने भएकोले केहीबेरमा नै आफ्नो अवान्छित कार्यप्रति दुःख तथा खेद महसुस गर्छ मान्छे । यतिबेला मान्छेको मन दुई धारमा बाँडिन पुग्छ । एउटा मनले तुरुन्तै आफुलाई दुःख लागेको र आफुले गरेको कार्य गलत भएको र पश्चाताम भइरहेको भावना पिडित सामु गई व्यक्त गर्दै माफी माग्न उत्साहित गर्छ जस्ले पिडितको जलिरहेको घाउलाई मलम लगाउने काम गर्छ र विस्तारै मेलमिलापको बातावरण सिर्जना गराउँछ । अर्को मन अवान्छित कार्यलाई भित्रभित्रै दुःख र खेद महसुस गर्छ तर व्यक्तिको सामु गएर गल्ती भएको महसुस गर्दै माफी माग्न इज्जत, प्रतिष्ठा वा औकातले नदिने अहंँकार जताउँछ र बोल्न सक्दैन । फलस्वरुप उनिहरुबीचको दुरी बढछ, प्रेम टाढिन्छ । यस्तो परिस्थितिमा कानुनको शरणमा जानु दुबैको लागि फलदायी ठहर्छ र जान्छन् । सम्बन्ध बिच्छेद कानुनी दायित्वबाट मुक्तिको मार्ग हो तर जीवनको सुखदायी मार्ग भने होइन ।

 

 

( लेखिका अनेसास बोर्ड अफ ट्रस्टीकी सह-अध्यक्ष तथा अनेसासकी निबर्तमान अध्यक्ष हुन् ।)

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू