अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०८ | Colorodo: 02:23

चौधरी पक्राउप्रति निजी क्षेत्रको प्रतिक्रियाः कसुर प्रमाणित नभई पक्राउ गरेर आतंकित पारियो

बिआरटीनेपाल २०८० माघ १८ गते ६:३४ मा प्रकाशित

उद्योगी तथा व्यवसायी अरुण चौधरी प्रक्राउ परेको प्रति निजी क्षेत्रले आपत्ति जनाएको छ ।नेपाल उद्योग परिसंघ (सीएनआई) ले बिहीबार आकस्मिक पत्रकार सम्मेलन गर्दै चौधरी नेपालको माटोमा हुर्किएका उद्यमी रहेको र उनी देश छाडेर कतै जान नलागेको भन्दै हठात पक्राउ गरिएको प्रतिक्रिया दिएको छ । सीएनआईले पक्राउअघि प्रहरीले कुनै सूचना नदिएको र अनुसन्धानका लागि समेत नबोलाएको बताएको छ । व्यवसायी मात्र नभएर सबै निजी क्षेत्र त्रसित हुने गरी धरपकड गरिएको निजी क्षेत्रको गुनासो छ ।‘यसले सम्पूर्ण उद्योगी–व्यवसायीको मानमर्दन भएको हामीले महसुस गरेका छौं,’ सीएनआई अध्यक्ष राजेश अग्रवालले भन्नुभयो । आजको घटनाले सरकारले आर्थिक समृद्धिमा निजी क्षेत्रको उपदेयता उपेक्षा गरेको हो कि भन्ने सोच्न बाध्य तुल्याएको समेत निजी क्षेत्रको प्रतिक्रिया छ ।

उचित र पर्याप्त कारण भएको अवस्थामा बाहेक अभियुक्तलाई शंकाका भरमा वैयक्तिक स्वतन्त्रता हनन् हुने गरी पक्राउ गर्ने काम कुनै न्यायसंगत नभएको समेत सीएनआईको प्रतिक्रिया छ । कसुर प्रमाणित भए कारबाहीको भागिदार हुनुपर्छ भन्नेमा भने विमति नरहेको सीएनआईको भनाइ छ । तर, कसुर प्रमाणित नै नभई धरपकड गर्नु न्यायसंगत नभएको उहाँले बताउनुभयो । नेपाल उद्योग वाणिज्य महासंघले पनि सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक–पटक गरेको आग्रह सरकारले बेवास्ता गरेको जनाएको छ ।मुलुक आर्थिक समस्यासँग जुधिरहेका बेला उद्यमी–व्यवसायीमाथि धरपकड र पक्राउ गरिएको महासंघको प्रतिक्रिया छ । ।

पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यावसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीलाई थप निरुत्साहित बनाएको महासंघको प्रतिक्रिया छ ।महासंघले यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गरेको छ । केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन गइरहेको सन्दर्भमा यस्ता पक्राउले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने समेत महासंघको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू