अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

महिला दिवसबारे छलफल गर्न एनआरएनएले बोलाएको बैठकमा भनाभन

बिआरटीनेपाल २०८० फागुन १ गते २१:१५ मा प्रकाशित

कलोराडो । गैर आवासीय नेपाली संघ अमेरिका (एनआरएनए) र कलोराडो च्याप्टरले आगामी मार्च ९ तारिखमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय महिला दिवसबारे छलफल गर्न विभिन्न संघ संस्थाका प्रतिनिधि तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरूलाई गत फेब्रुवरी ४ तारिखमा बोलाएको बैठकमा भाँडभैलो भएको छ । बैठकमा सहभागीहरूका अनुसार आईतबार भएको उक्त छलफल कार्यक्रममा एनआरएनए कलोराडो च्याप्टरका निवर्तमान अध्यक्ष तथा सल्लाहकार आरसी पन्तले एनआरएनएका पूर्व बोर्ड सदस्य राज ढुंगानालाई “तं यो कार्यक्रमबाट निस्केर गईहाल’ भनेका थिए । त्यसपछि झन्डै हात हालाहालको स्थिति भएको थियो । बैठकमा सहभागीहरूले पन्त र ढुंगानालाई समाएपछि हात हालाहालको स्थिति टरेको थियो ।

‘बैठक अराजक बन्न थाल्यो । मैले एनआरएनए कलोराडो च्याप्टर अध्यक्ष प्रकाश पौडेललाई हामीलाई रमिता हेर्न बोलाएको हो भनेपछि आरसी पन्तले “तैँले चाहेको यही हो, तँ निस्केर जा भन्नुभयो,’ ढुंगानाले भने ‘विभिन्न संघ संस्थाका प्रतिनिधि र समाजका अगुवा उपस्थित बैठक मै त्यसो भनेपछि म पनि एनआरएन तपाईँको बिर्ता हो ? मलाई निस्की भन्ने तपाईँ को हो ? भन्दै चर्किएँ । मुठभेडको सम्भावना बनेकै हो ।’

कार्यक्रममा सहभागीहरूका अनुसार सृजना भट्टले सामाजिक अभियन्ता सरिता गुरुङ विरुद्ध व्यक्ति केन्द्रित अभिव्यक्ति गरे पछि तनाव शुरु भएको थियो ‘व्यक्ति केन्द्रित हुनु हुँदैन । त्यहाँ पर्सनल अट्याक भयो,’ कार्यक्रममा सहभागी रकी माउन्टेन फ्रेण्डस् अफ नेपालका अध्यक्ष अर्जुन बगालेले बिआरटी नेपालसंग भने ।

अन्तर्राष्ट्रिय महिला दिवस कसरी आयोजना गर्ने भन्ने विषयमा छलफल राखिएको भए पनि सृजना भट्टले आफू बोल्ने क्रममा सरिता गुरुङले अगुवाइ गरेको संस्था साथी वुमन अलायन्सबारे नकारात्मक टिप्पणी गर्न समय खर्चेकी थिइन् । गुरुङले भट्टले छलफलको एजेन्डा भन्दा बाहिर गएर आफू र आफ्नो संस्था विरुद्ध आक्रमण गरेको भन्दै भट्टको टिप्पणी प्रति आपत्ति जनाएकी थिइन् ।

छलफलको एजेन्डा बाहिर गएर भट्टले व्यक्ति केन्द्रित टिप्पणी गरेको, त्यसप्रति गुरुङको प्रतिक्रिया र डंगोलको टिप्पणीले बैठक अराजक बन्न थालेपछि एनआरएनएका पूर्व बोर्ड सदस्य ढुंगानाले अध्यक्ष पौडेललाई रमिता नदेखाउन र छलफल नियन्त्रण गर्न भनेका थिए । त्यसपछि बिच्किएका पन्तले ढुंगानालाई बाहिर जान भनेका थिए ।

कार्यक्रममा सहभागीहरूले अन्तर्राष्ट्रिय महिला दिवस एकै दिन छुट्टाछुट्टै आयोजना गर्ने तयारी गरिरहेका एनआरएनए र सरिता गुरुङलाई आपसमा कुरा नमिलाई बैठकमा राखेको भन्दै यस्तो अवस्थामा दुवै पक्षलाई सहयोग गाह्रो हुने बताएका थिए । नेपाली समाजका अगुवाहरूले नै यस्तो व्यवहार देखाएपछि उनीहरू चिन्तित छन् । अमेरिकामा नेपाली समाज कता जाँदै छ र यसले कस्तो सन्देश दिँदै छ भन्ने उनीहरूको चिन्ता छ । बिआरटी नेपालसँगको कुरामा पन्तले भने गत आइबार भएको घटनाका विषयमा प्रतिक्रिया दिन मानेनन् ।

बिआरटी नेपालले अन्य उक्त मिटिङमा गएका अन्य प्रत्यक्षदर्शीलाई पनि फोन गरेर सोध्ने प्रयास गरेका थियौ कसैको फोन पनि उठेन, कतिले म केही नबोल्ने, मेरो नामै उल्लेख नगर्नु, के बोल्नु जति बोल्यो त्यति बढ्छ, भनेर आफ्नो प्रतिकृया दिनु भएको थियो ।

घटनाका विषयमा बिआरटिनेपाल डट कमले प्रत्यक्षदर्शी र सहभागीहरूसँग गरेको कुराकानीको सम्पादित अंश:

यो घटनाले समाजमा राम्रो सन्देश गएन: अर्जुन बगाले, अध्यक्ष – रकि माउन्टेन फ्रेण्डस अफ नेपाल

फेब्रुवरी ४ को कुरा हो । एनआरएन कलोराडो च्याप्टरले विभिन्न संघ संस्थाका प्रतिनिधि र समाजका अगुवालाई मार्च ९ मा वुमन्स डेसेलिब्रेसन कसरी गर्ने भन्ने छलफलका लागि बोलाएको थियो । छलफलमा थुप्रै संघ संस्थाका प्रतिनिधि हुनुहुन्थ्यो । छलफल हुनु भन्दा अघि देखि नै वुमन्स डे सेलिब्रेसनका सम्बन्धमा विवाद थियो । साथी वुमन्स अलायन्सले वुमन्स डे हामी आयोजना गर्छौँ भनेको थियो । पछि साथी वुमन्स अलायन्स र एनआरएनए कलोराडो च्याप्टरबिच एक किसिमको सहमति भएको रहेछ । साथी वुमन्स अलायन्सका तर्फबाट सरिता गुरुङ दिदीले लिड गरिरहनु भएको थियो । सहमति पछि चाहिँ वुमन्स डे कार्यक्रमको कोअर्डिनेटर सिर्जना भट्ट बनाउनुभयो । बिचमा के के भयो, ४ तारिखको भेलासम्म आइपुग्दा महिला ग्रुपभित्र पनि दुई वटा ग्रुप भइसकेको रहेछ । साथी वुमन्स अलायन्स पहिला देखि नै थियो । अर्को नेपाली वुमन्स फोरम भइसकेको रहेछ ।

एनआरएनए एनसिसीले पनि यहीँ गर्ने र कलोराडो च्याप्टर त्यसको को-होस्ट रहने र सबै संस्था सहभागी हुने अपेक्षा थियो । हामी त्यही अनुरूप सहभागी हुने र सहयोग गर्ने कुरा छँदै थियो । उहाँहरूले कस्तो खालको सहयोगका अपेक्षा गरेको हो भन्ने जानकारी भयो भने हामीलाई त्यही अनुसार संस्थामा निर्णय गर्नु सजिलो हुन्थ्यो । कुराहरू आउने क्रममा पर्सनल अट्याक पनि गरे । सरिता दिदी हुनुहुन्थ्यो । सिर्जना भट्ट थिइन् । त्यही सन्दर्भमा बोल्ने क्रममा हाम्रो आरसी पन्त जो कलोराडो च्याप्टरको यस अघिको अध्यक्ष र हालको सल्लाहकार पनि हुनुहुन्छ, बिचैमा राज ढुंगानालाई इंगित गर्दै ‘तिमिले चाहेको यही थियो । भाँडभैलो होस भन्ने चाहेका थियौ । तिमी यो प्रोग्रामबाट निस्किहाल’ भन्नु भयो । ठ्याक्कै शब्द त्यही नै थियो ।

‘निस्किहाल’ भनेपछि ‘हामी किन निस्कने ? तिमी को हो हामीलाई यसो भन्ने ?’ भन्ने कुरा त आउने नै भयो । राज ढुंगाना एनआरएन एएनसिसीको पूर्व बिओडि पनि, एनआरएन कलोराडो च्याप्टरको अध्यक्ष भइसकेको र गएको चुनावमा भाइस प्रेसिडेन्टमा उठेको मानिस हो । कुमारजङ्ग पनि त्यहीँ हुनुहुन्थ्यो । उहाँलाई पनि तिमी पनि मसँग चुनाव हारेको भन्नुभयो । हामीले यस्तो होला भन्ने अपेक्षा गरेका थिएनौँ ।

हामी कसैप्रति बायस हुनुहुँदैन । हामीले समाजमा आएका इस्यूहरुलाई सकेसम्म सामाजिक रुपमै समाधान गर्नुपर्छ । इन्डिभिजुएली जानुहुँदैन भन्ने नै हो । हामीले सोसल हार्मोनी सकेसम्म कायम गर्नुपर्छ । यो हाम्रो आफ्नै प्रोग्राम पनि हो । तर, उहाँहरुले नै बोलाउनु भएको कार्यक्रममा उहाँहरुले नै त्यसरि अपमानित गर्नु भयो । त्यसरि कसैले कसैलाई भन्ने अधिकार छैन । त्यो त एउटा ठूलो ह्यारासमेन्ट जस्तोपनि भयो । किन जाने हामी ? को हो र ? भन्ने कुरा उठ्यो । त्यसपछि अरु साथीहरु उठेर दुवै पक्षलाई बसाउनु भयो ।

पछि उहाँ (आरसी पन्त) ले सरि भन्नुभयो । त्यो सरि कसलाई भनेको हो भन्ने पनि थाह छैन । यो इगो प्रब्लम हो, राज र म भइन्जेल यस्तोभइरहन्छ भन्नुभयो । त्यसले चाहिँ भोली जसले जसलाई जे भन्दा पनि हुन्छ भन्ने सन्देश गयो । सार्वजनिक स्थानमा पर्सनल अट्याकभइरहेको छ । यसले सबैको मान सम्मानमा आँच आउने कुरा पनि भयो । त्यो किसिमले नगर्दिएको भए हुन्थ्यो । यसले समाजमा राम्रोम्यासेज दिएको छैन । यो घटनालाई कसरि लिने भनेर हामी बैठक बस्छौं ।

हाम्रो समाज कता जाँदैछः कुमार कार्की, एनआरएन भुपु अध्यक्ष कलोराडो च्याप्टर

अघिल्लो आइतबार ४ तारिखको घटना हो । महिला दिवस मनाउने सन्दर्भमा विवादास्पद कुराहरु थियो । विभिन्न संघ सस्थाका प्रतिनीधि कसरि जाने भन्ने छलफल गर्न कार्यक्रम बोलाइएको थियो । कार्यक्रम अघि बढ्दै जाँदा बैठक अनियन्त्रित भयो । सिर्जनाजी बोल्दै गर्दा वर्तमान अध्यक्ष प्रकाश पौडेललाई कार्यक्रम रुलिङ गर्नु परो, अध्यक्षको दायित्व बन्छ भन्नुभयो । त्यसपछि एक्कासी आरसी पन्तजी आक्रामक रुपमा उठेर प्रस्तुत भए । ‘तिमीले यहि चाहेका थियौ । तिमी निस्किहाल’ भनेर राज ढुंगानालाई भन्नुभयो ।

राज ढुंगानाले त्यो सहने कुरा भएन । त्यत्रो मान्छेले देखिरहेका छन् । भन्न खोजेको के ? चुप लागेर बस्ने कुरा भएन । लगभग हात हालाहालको अबस्था भयो । इन्टरभेन गरियो । जा भन्दैमा बाहिर जाने कुरा भएन । सामाजिक हैसियत भएको मान्छे हो । उनले फेरि अर्को पटक टेबुल ठोके । सिचुएसन वर्स्ट भयो ।

यो घटनाको जिम्मेवारी सार्वजनिक रुपमा भएको कसैले लिएको छैन । आफ्नो सल्लाहकारबाट भएको घटनाबारे एनआरएनए कलोराडो च्याप्टरले पनि केही बोलेको छैन । आफ्नो सल्लाहकारबाट आफ्नो पूर्व अध्यक्षहरु प्रति गरिएको तल्लो स्तरका घृणित शब्दबारे च्याप्टरले बोलेको छैन । यो पराकाष्ठ भयो । अब सहन नसकिने भयो । यस विषयमा यहाका प्रमुख संघ संस्थाले बैठक राख्दैछ ।

कार्यक्रममा एक जना महिला हुनुहुन्थ्यो । त्यो पाटोमा म धेरै जान्न । उहाँले मलाई बेइज्जत गर्न बोलाइएको भन्दै हिड्दा पनि आरसी पन्तले जान दिनु भएन । उहाँको शैली दम्भी भयो । अध्यक्ष पनि रबर स्टाम्प जस्तो भए, अध्यक्ष जस्तो भएनन् । भित्र जे भएपनि बाहिर पब्लिकले त्यस्तो देख्नु राम्रो भएन ।

कलोराडोमा अघिल्लो पटक पनि महिला दिवसको सेरोफेरोमा ठूलो विवाद भएको थियो । त्यसको तुष बाकिँ हुन सक्छ । जे भए पनि प्रश्न समाज कता जाँदैछ भन्ने हो । यो अराजक भयो । समाज ठीक दिशामा गइरहेको छैन । तर, जे भयो त्यसको सम्बोधन हुनुपर्छ । व्यक्तिगत नाफा घाटा हेरिनु हुन्न । ठूलो छाति गर्नु पर्छ ।

महिला महिला बिच मनमुटाव हुनु दु:खदायी: सरिता गुरुङ

अन्तराष्ट्रिय नारी दिवस मार्च ९ मा एनआरएनए एनसीसी र कलोराडो च्याप्टरले आयोजना गर्ने तयारी थियो । अब हामी आफैँले पनि मनाउँदैछौं । र छुट्टै तयारी पनि पनि गरिहेका छौं । साथी वुमन्स अलायन्स कोलाराडो, कलोराडो नेप्लीजकम्युनिटि र सिटि अफ अरोराको सहकार्यमा मार्च ९ मै कार्यक्रम मनाउने तयारी भइरहेको छ ।

जनवरी १ तारिख आरसी पन्तजीले कार्यक्रम मिलेर गरौं भनेर प्रस्ताव गर्नुभयो । मैले हुन्छ भने । सबैका लागि राम्रो हो भन्ने सकारात्मक सोच थियो । जनवरी २० मा हामी मिल्यौं । नारी दिवससँगै गर्ने सहमति भयो । हाम्रो १४ सदस्यीय तयारी समिति बनिसकेको थियो । उहाँहरु काम गर्ने भनेर समितिमा आउनु भएको हो । त्यहि भएर उहाँहरुलाई छुटाउनु हुँदैन भन्ने साथी वुमन्स अलायन्सको सर्त थियो । त्यस्तै हामी मिलेर एउटै कार्यक्रम गर्न लागेको सहमति एनआरएनएले आधिकारिक रुपमा दिनुपर्छ भन्ने थियो ।

सम्झौतामा उहाँहरुकै बोर्ड सदस्य शर्मिला शर्माले “मलाई वहांहरूको विश्वास छैन, सहमति लिखित रुपमा चाहिन्छ” भन्नु भएको थियो । उहाँ एनआरएनए कलोराडोको बोर्ड सदस्य मात्र नभएर साथी वुमन्स अलायन्समा हामीसँगै हुनुहुन्थ्यो । उहाँले नै त्यसो भनेपछि हामी सबै सहमत भयौं ।

शर्मिला शर्मा र सुनन्दा डंगोल दुवै जना साथी वुमन्स अलायन्स र एनआरएनए बोर्डमा पनि हुनुहुन्थ्यो । एनआरएनएले पनि नारी दिवस मनाउने भएपछि उहाँहरुलाई दुवैतिर हुँदा काम गर्न अप्ठ्यारो हुन्छ, एक तिरमात्र संलग्न हुनुहोस भनेको थिएँ । उहाँहरुले दुवैतिर बस्दा फरक पर्दैन भन्नु भएको थियो । अझ सुनन्दा डंगोलले म तपाइँ तिरै हो भन्नु भएको थियो । उहाँहरुलाई एनआरएनए बोर्डमा पठाउन हामीले सहयोग गरेका थियौं । त्यतिमात्र होइन, हामी तीन जनाले पहिले पनि नारी दिवस भव्य रुपमा आयोजना गरेका थियौं ।

कार्यक्रमसँगै गर्ने सहमति भएपनि आरसी पन्तले दिदी र म यो कार्यक्रममा संलग्न हुँदैनौं भन्नुभयो । मैले हुन्छ भने । हामी दुवै जना संलग्न नरहने भनेर निर्णय गरेपछि साथी र च्याप्टरलाई शुभकामना र बधाइ समेत दियौं । तर, पछि आरसि पन्त संलग्न हुन थाल्नु भएको पाईयो ।

आरसी पन्तले एनआरएनए कलोराडो च्याप्टर र साथी वुमन्स अलायन्स बीचको सहमतिको ड्राफ्ट लेटर आइतबार जनवरी २१ मा मलाई पठाउनु भयो । उहाँले फोन पनि गर्नुभयो । त्यसमा एउटा बुंदामा आरसी पन्त र म संलग्न नहुने भन्ने थियो । संलग्नै नहुने भनेर बोलिसके पछि आरसीजीले मलाई सहमतिको ड्राफ्ट पठाउन र फोन गर्न जरुरी थिएन । त्यसको अर्थ मलाई नआउन भनिएको हो । मैले त्यो लाईन हटाउनुहोस् भने । कोअर्डिनेटर सिर्जना भट्टलाई त्यसको ड्राफ्ट पठाएँ । सहमती अनुसार ड्राफ्ट च्याप्टर अध्यक्षले कोअर्डिनेटरलाई पठाउनु पर्थ्यो । पहिलो कदम नै गलत भयो । त्यसका बावजुद हामी पोजिटिभ थियौं ।

सिर्जना भट्टले ड्राफ्ट हेरेर केही चेन्ज गरेर पठाउनु भयो । तर, उहाँहरुले सहमति साधारण पानामा पठायो । हामीले एनआरएनएको अफिसियल लेटरमा सहमतिपत्र मागेका थियौं । आरसी पन्त र प्रकाश पौडेलको हिस्ट्री नै छ, भनेको कुरा पुरा नगर्ने । त्यसका बावजुद च्याप्टर सहआयोजक मात्र हो । आयोजक गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नै हो, जसले सिंगो अमेरिकाको प्रतिनीधित्व गर्छ भनेर हामी मिलेका थियौं ।

हामी आधिकारिक चिठ्ठीको पर्खाईमा थियौं । त्यसैबिच उहाँहरुले फेब्रुवरी ४ तारिखको बैठकको पोष्टर सामाजिक संजालमा हाल्नुभयो । त्यसमा साथी वुमन्स अलायन्सको नाम थिएन । हामीसँग गर्नुभएको सहमति कतै पनि सार्वजनिक गर्नु भएन । जबकी सहमति भएको घोषणा उहाँहरुले गर्नु पर्ने थियो । हामीले हाम्रो कार्यक्रम रद्द गरेर उहाँहरुलाई सहयोग गर्ने निर्णय गरेका थियौं । यस्तो ब्यबहार भएपछि महिलाहरूले आपत्ति जनाउनु भयो । उहाँहरुले ‘हामीलाई के गर्न खोजेको हो?’ भनेर प्रश्न गर्नुभयो, जुन स्वाभाविक थियो ।

मैले आधिकारिक लेटर नआउँदासम्म भएको सहमति हामीले पनि नमानौं भनेर सम्झाएँ । उता अर्गनाइजिङ कमिटिको च्याट ग्रुपमा समेत ठूलो वादविवाद भयो । हिजो अफिसियल लेटर नै चाहिन्छ भन्ने एनआरएनए कलोराडो च्याप्टर बिओडि शर्मिला शर्माले बोलि फेर्नुभयो । च्याट ग्रुपमा ठाडै हामीलाई लेटर नै चाहिँदैन भन्नुभयो । जबकी सबै सदस्यहरू अफिसियल लेटर चाहिन्छ भनेर अडान लिएर बसेका थियौं । मैले हामी महिला नै लड्दैछौं भने राम्रो भएन, सहमति तोडौं र हाम्रो कार्यक्रम हामी आफैँ गरौं भने ।

एनआरएनएको अफिसियल पोस्टर आयो । त्यसमा इन कोल्याबोरसन विथ कलोराडो विमन्स फोरम भनेर उल्लेख गरियो । साथी अलायन्सको नाम आएन । उहाँहरुले साथीले आफैँ कार्यक्रम गर्दैछ भन्नुभयो रे । एनसिसि बोर्ड सदस्य नवराज न्यौपाने मार्फत अध्यक्ष अर्जुन बन्जाडे, महासचिव राम हरि अधिकारी र महिला उपाध्यक्ष सुनिता कंडेललाई यो नाम परिवर्तन गरि सहमती बमोजिम साथी वुमन्स अलायन्स राख्नुहोस म मिल्न तयार छु भन्दा पनि खासै चासो राख्नु भएन । उहाँले धेरै प्रयास गर्नुभयो । तर, फोहोरी राजनीति भयो । समाज भाँड्ने, फुटाउने र व्यक्तिगत रिसइबी साँध्ने काम भयो । एनआरएनए कलोराडो च्याप्टरले गर्दा महिला महिलाबीच तनाव भयो । साथी अलायन्स फुटेर गयो । एनआरएनएसँग जान चहानेलाई हामीले रोकेनौं । हामीले अर्को ग्रुप बनाएर अघि बढ्यौं ।

२०२२ को नारी दिवसमा पन्तजी अध्यक्ष र म सल्लाहकार थियौं । साथै कार्यक्रम आयोजक समितिको संयोजक पनि । त्यतिबेला एउटा सानो असमझदारी भएको थियो । ढाँचा फरक भयो भनेर मैले कार्यक्रम छोडेको थिएँ । उहाँहरुका लागि महिला दिवस बहाना मात्र थियो । उहाँहरु एनआरएनएले कार्यक्रम गर्‍यो भनेर देखाउन चहानुहुन्थ्यो । तर, हामी साँच्चिकै सार्थक कार्यक्रम गर्न चहान्थ्यौं । महिला दिवसको महत्व र गरिमा अनुसार कार्यक्रम गर्न चहान्थ्यौं ।

त्यतिबेला महिलाको कार्यक्रम भएपनि पुरुष हावी भयो । कार्यक्रममा महिला उपाध्यक्ष दीक्षा बस्नेत पनि आउने भएपनि सिनीयर भीपीपुरुष हुनुहुन्थ्यो । उहाँहरुले प्रमुख अतिथी सिनियर भीपी अर्थात पुरुषलाई नै बनाउने हुनुभयो । मैले महिलालाई बनाउँ भनेको थिएँ । यस्तै यस्तै विषयमा कुरा मिलेन । नारी दिवसमा पुरुष हावी बन्ने देखेपछि मैले कार्यक्रम नै छोडेकी थिएँ । अहिले पन्तजीले त्यसैको बदला लिएको हो । त्यतिबेला अन्तिममा छाड्दा उहाँ रिसाउनु भएको रहेछ ।

आईतबारको बैठकमा पन्तजीको विशेष अनुरोधमा म गएकी थिएँ । तर, उहाँले मलाई सुनियोजित रुपमा बोलाउनु भएको रहेछ । मेरो विरूद्धमा महिलाहरू उचालेर ताली बजाउन लगाईएको थियो । महिला समूह फुटेर हामी आफैले कार्यक्रम गर्ने भए पछि पहिले जानु हुँदैन भनेर बसेकी थिएँ । तर, पन्तजीले पटक पटक टेक्स्ट मेसेजमा अनुरोध गरे पछि म सकारात्मक सोच लिएर गएको थिएं । मैले पनि सबै संघ संस्थाका अध्यक्ष, प्रतिनीधि तथा बुद्धिजीवि हुन्छन्, आफ्नो भनाई प्रष्ट राख्दा राम्रो होला भन्ने ठाने ।

छलफल कार्यक्रममा तेस्रो नम्बरमा मलाई बोल्न दिनुभयो । मैले सबैको राय सल्लाह सुनेर अन्तिममा बोल्छु भने । त्यसपछि सचिवले सिर्जना भट्टलाई बोल्न दिनुभयो । सिर्जना भट्ट साथी वुमन्स अलायन्स् विरुद्ध खनिनु भयो । यो कसरि, के कारणले जुट्यो र फुट्यो भनेर बृतान्त ब्याख्या गर्न थाल्नु भयो । छलफलको एजेण्डा नारी दिवस कसरि आयोजना गर्ने भन्ने थियो । उहाँ एजेण्डा बुझेर आउनु भयो कि नबुझी थाह भएन । केही समय त सुने । तर, मलाई थाह नदिइ मेरो नाम कोअर्डिनेटर भनेर समाचारमा छाप्नुभयो भनेपछि आपत्ति जनाए । समाचार बिआरटिनेपालमै छापिएको हो । नाम उहाँकै सहमतिमा दिएको हो । त्यो समाचार उहाँ आफैँले शेयर गर्नु भएको छ । समाचारमा उहाँलाई कोअर्डिनेर भनेकै छैन । ढाँट्नुको पनि सीमा हुन्छ ।

मैले प्रकाश पौडेललाई मलाई किन बोलाएको ? मेरो साथी भन्ने संस्थाको विषय खोतल्न ? त्यसमा यहाँ उपस्थित कसलाई रुची होला ? भनेर सोधेँ । उहाँले एजेण्डामा छलफल गरौं, व्यक्तिलाई दोष नदिउँ भनेर शान्त गराउनु भयो । आपत्ति नै थियो भने समाचार छापिना साथ किन भनिएन ? तीन हप्ता किन कुरियो ? म बस्न पनि पाएको थिइन, पन्त जी जुरुक्क उठेर राज ढुंगाना तिर सिधै औंला ठडाएर “तैले यहि चाहेको थिइस् होइन? तैले जे चाहेको थिइस् त्यहि भयो । तँ निस्केर गई हाल’ भन्नुभयो”।

पन्तजी ढुंगाना भए तिर अघि बढे । ढुंगाना प्रतिकार गर्न पन्तजी तिर जानुभयो । दुवैलाई समातेर छुटायौं । नत्र मुक्का हानाहान हुन्थ्यो । हो, त्यतिबेलै सुनन्दा डंगोलले मलाई साइड कमेन्ट गर्‍यो । तनावग्रस्त वातावरणमा मैले कुरा सुनिन र आइम नट टकिङ टु यु, यु शटअप भने । उ शट अप भएन । सेकेन्ड टाइम शट योर माउथ भने । तर सोझै मतिर आयो । अनित अधिकारीले रोकेर मात्र । नत्र आक्रमण हुन्थ्यो । त्यसपछि मात्र मैले वाध्य भएर एफ वर्डमा गाली दिएं ।

यो दुर्भाग्य होः राज ढुंगाना, पूर्ब बोओडि, एआरएनए

महिला दिवस मनाउने सन्दर्भमा स्थानीय संघ संस्था र कम्युनिटी मिटिङ राख्ने भनेर बोलाउनु भयो । त्यहाँ सरिता दिदीमाथि अलि धेरै कुरा भयो । दिदी रिसाउनु भयो । मेरो बेईज्जत गर्न बोलाएको हो भने म निस्केर जान्छु भन्नुभयो ।

मिटिङ अराजक भयो । मैले अध्यक्षलाई रमिता देखाउन बोलाको भने । त्यसलगत्तै आरसी पन्त तैले चाहेको यहि थिइस् । त निस्केर जाभन्नुभयो । मैले पनि तपाइँले के भन्नु भयो रे ? एनआरएन तपाईँको मात्र विर्ता हो ? भने । तनावको स्थिति चाहिँ भयो । त्यत्रो मानिस उपस्थित समाजमा म माथि त्यस्तो अभद्र ब्यबहार भयो । परिस्थिति मुठभेडमा जान सक्ने संभावनासम्म पुगेकै हो । त्यसपछि अबस्था भद्रगोल भएर मिटिङ बिना निर्णय सकिएको हो ।

ममाथि लगाएको आरोप गम्भीर थियो । उहाँ अहिले माफी मागिसके भन्नुहुन्छ रे । इगोको कारण यस्तो भयो भनेर सरि भनेको चाहिँ भनेको हो । त्यो सरि मसँग भनेको होइन । मसँग माफी मागेको छैन । यस विषयमा च्याप्टर अध्यक्षले पनि केही बोलेका छैनन् । माफी नमागी माफी मागे भन्दै हिड्नु गलत हो ।

यो घटनाले समाजमा जहाँ जे गरेपनि हुने रहेछ भन्ने भएको छ । त्यसो गर्न विभिन्न किसिमका मान्छेलाई पनि बल र प्रश्रय दिएको छ । अब सार्वजनिक रुपमा माफी नमागेसम्म सार्वजनिक कार्यक्रम गर्न गाह्रो हुने अबस्था बनेको छ । आफैँ समाजको अगुवा भन्ने अनि आफैँ त्यस्तो ब्यबहार गर्ने ? अरुले के सिक्ने ? यो दुर्भाग्य हो ।

सामाजिक चाहिँ हुने, समाज सेवा गरेको ढोंग पनि पिट्ने तर ब्यबहार व्यक्तिवादी भयो । नेतृत्वमा बसेका साथीहरु सिन्डिकेट गर्ने, सानोस्वार्थ समुहमा सीमित हुने । यो त्यसैबाट सिर्जित समस्या हो । एनआरएन एनसिसीका अध्यक्षले पनि यो घटना गम्भीर रुपमा लिएको देखिएन । यो पनि दुर्भाग्य हो । मलाई यो घटना सुनाइरहँदा आफैँलाई लाज लागिरहेको छ। मैले गल्ति गरेको छु भने स्वीकार्न तयार छु । तर, साथीहरु बहुलठ्ठीपना गरिरहनु भएको छ । क्रमश:

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू