अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

टिसर्ट, टोपी र बालबालिका प्रयोगः निकाय मौन

बिआरटीनेपाल २०७४ भदौ २४ गते २:०६ मा प्रकाशित

आगामी असोज २ गते प्रदेश नं २ मा हुने हुन लागेको स्थानीय तह निर्वाचनको प्रचारप्रसार सप्तरी जिल्लामा अत्यन्त तीव्र भएको छ । निर्वाचनमा सहभागी दलका नेता तथा कार्यकर्ता, उम्मेदवार र स्वतन्त्र उम्मेदवार आआफ्नो पक्षमा मतदान गर्न घरदैलो अभियान पनि सुरु गरेका छन् । पार्टीका झन्डा, तुल, घोषणापत्र र चुनाव चिह्नसहित प्रत्येक सहर तथा ग्रामीण भेगका गाउँ, टोल र घर घरमा सम्बन्धित दलका उम्मेदवार र कार्यकर्ता पुगी मतदानका लागि महिला, वृद्धवृद्धा र युवालाई आग्रह गरिरहेका छन् । प्रत्येक चिया पसल, टोल र चोकमा सर्वसाधारण कसले जित्ने र हार्ने, कसलाई मत दिने र नदिनेजस्ता गफमा व्यस्त छन् ।

सुरक्षा निकाय भने जिल्लामा निर्वाचन बिथोल्ने कुनै किसिमको काम हुन नदिन पूर्ण सुरक्षाका साथ लागिपरेको प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो । जिल्ला सुरक्षा समितिको बैठक शुक्रवार बसी सुरक्षा गतिविधिबारे जिल्ला मुख्य निर्वाचन अधिकृत सप्तरीलाई जानकारी गराएको छ ।

निर्वाचन प्रचारप्रसारका क्रममा पसल र होटलको बिक्री र व्यापार बढ्दै गएको छ भने पम्पहरुमा पेट्रोल र डिजेल लिनेको भीड लागेको छ । प्रचारप्रसारका क्रममा निर्वाचन आचरसंहिता विपरीत पार्टीको चिह्नसहित टिसर्ट र टोपी वितरण गरेको पाइएको छ भने पदयात्रामा बालबालिकाको प्रयोग भएको पाइएको छ । यसबारे सम्बन्धित निकाय भने मौन रहेको पाइएको छ ।

जिल्लामा स्वतन्त्रसहित कूल पाँच हजार ६८३ जना विभिन्न राजनीतिक दलका उम्मेदवारले चुनावी मैदानमा भाग लिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा रहेका १८ स्थानीय तहमध्ये नौ नगरपालिकाका प्रमुख पदमा १०३ र नौ उपप्रमुख पदमा ९२ जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् ।

त्यस्तै नौ गाउँपालिका प्रमुखमा ११४ र उपप्रमुखमा भने ७४ जनाले उम्मेदवारी दिएका छन् । कूल १६४ वडाका लागि अध्यक्षमा भने एक हजार २१७ जनाले उमेदवारी दिएको बताइएको छ । यस्तै खुला वडा सदस्य ३२८ सदस्यमा दुई हजार ३०, १६४ दलित महिला सदस्यका लागि ९८२ र १६४ महिला सदस्यका लागि एक हजार ७४ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालयबाट थाहा भएको छ ।

जिल्लामा तीन लाख ३१ हजार ७९ मतदाता रहेकामा एक लाख ७० हजार ८८८ पुरुष, एक लाख ६० हजार ७७० महिला र २१ तेस्रोलिंगी रहेको जिल्ला निर्वाचन कार्यालय सप्तरीले जनाएको छ । निर्वाचनका लागि दुई हजार ७७२ कर्मचारी खटिएका छन् भने ४६२ मतदान अधिकृत र सोही सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।

जिल्लाका ४६२ मतदान केन्द्रमध्ये २२४ अतिसंवेदनशील र २३८ संवेदनशील तथा २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ संवेदनशील मतदानस्थल रहेको जिल्लाका प्रहरी प्रमुख मुकेशकुमार सिंहले जानकारी दिनुभयो । निर्वाचनका लागि जिल्लामा चार हजार नेपाल प्रहरी, दुई हजार सशस्त्र प्रहरीलगायत राष्ट्रिय अनुसन्धान आयोगका कर्मचारी र सैनिकसमेत परिचालन गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू