अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२६ | Colorodo: 00:41

ह्युस्टनका नेपालीहरू कम दानी हुन् कि कमजोर अभियान ?

बिआरटीनेपाल २०७४ साउन ३१ गते १४:४९ मा प्रकाशित

सुजन पण्डित, ह्युस्टन
प्रवासमा नेपालीहरूका अनगिन्ती संस्थाहरू छन्। केही गिने-चुनेका संस्था र नेतृत्वछन् जसको प्रयास र जाँगरले नेपालीहरूको घनत्व भएको सहर र स्थानीय कानुनले कुनै बाधा नपुय्राउने देश र सहरमा नेपालीहरूले आफ्नै मन्दिर र सामुदायिक भवन बनाउने क्रम बढ्दोछ। टेक्ससको डालास र क्यालिफोर्नियाको लसएन्जलसमा नेपालीहरूको आफ्नै मन्दिर भैसकेकोछ।

टेक्ससकै अर्को सहर ह्युस्टनमा बसोबास गर्ने नेपालीहरूले पनि नेप्लिज एशोसियन अफ ह्युस्टनको (एनएएच) अगुवाईमा आफ्नै पशुपतिनाथ मन्दिर बनाउने लक्ष्यले गत दुईबर्ष देखि गरिरहेको योजना अब सफल हुने संघारमा पुगेकोछ

ह्युस्टन बाहिरका नेपाली मन्दिर निर्माण अभियान
न्यूइंग्ल्याण्ड/बोस्टन बस्ने नेपालीहरूले आफ्नै सामुदायिक भवन र त्यसैभित्र पशपतिनाथ र बुद्ध मूर्ती स्थापना गर्ने उद्देश्यले प्रख्यात पण्डित दिनबन्धु पोखरेलको वाचनमा गतसाता मात्र सम्पन्न भागवत पुराणबाट १५ लाख ३० हजार डलर सङ्कलन भएको जानकारी गराइरहँदा बोस्टनका विरोचन नेपाल निकै खुसी थिए। बोस्टन सप्ताह पुराणका दौरान दान गर्नेहरुको उत्हाहपूर्ण भीड देख्दा प्रवासमा नेपालीहरू आफ्नोपन, नेपाली धर्म र संस्कृतिको पक्षमा कतिधेरै जागरुक र एकताबद्द रहेछन् भन्ने प्रस्ट भएकोछ।

रिजवुड, न्यूयोर्कका नेपालीहरू पनि पण्डित पोखरेलको जादुयी बाचनकलाको प्रयोगबाट अर्थसंकलन गर्ने तरखरमाछन् र अगष्ट तेस्रो साताबाट भागवत पुराण शुरुहुँदैछ।
लसएन्जलसमा श्री पशुपति फाउण्डेशनको लागि त्यहाँबस्ने केही नेपालीहरूले गरेको व्यक्तिगत आर्थिक सहयोग विदेशमा पैसा भएका नेपालीहरूको मन पनि ठुलै हुँदोरहेछ भन्ने उदाहरण बनेकोछ। लसएन्जलसमा एकराज पाण्डे एक्लैले १ लाख २५ हजार डलर दिएकाछन् भने बेदभक्त जोशीले ८१ हजार र ऋषि ढकालको परिवारले ७३ हजार डलर दिएकाछन्। यसै गरी रामबाबु पाण्डे, राम लामा, भक्त थापा र राजेन्द्र-संगिता सिवाकोटीहरु जस्ता दानी नेपालीहरूले ५२ हजार देखि ७१ हजार डलर सम्म मन्दिरको नाममा समर्पण गरेकाछन् । धन र मन दुवै भएका सामाजिक अगुवाहरु भएको सहरमा नेपाली मन्दिर, नेपाली सामुदायिक भवन/केन्द्र बन्ने क्रम बढ्दोछ।

टेक्ससमा सबैभन्दा धेरै नेपाली बस्ने सहरको रूपमा परिचित डालासमा रहेको नेपाली मन्दिर संभवत नेपालीहरूको बढी घनत्व भएकै स्थानमा रहेको सबभन्दा व्यवस्थित र पहिलो नेपाली मन्दिर र सामुदायिक केन्द्र हो। नेपाली भाषा, धर्म, संस्कृतिको जगेर्ना गर्न र अमेरिकामा नै जन्मे हुर्केका बालबालिकाहरुलाई नेपालीपन सिकाउन अर्भिंग, टेक्ससको नेप्लिज कल्चर एण्ड स्पिरिच्यूल सेन्टर (एनसीएससी), लसएन्जलसको श्री पशुपति फाउण्डेसन, बोस्टनको पशुपति-बुद्ध फाउण्डेशन जस्ता संस्थाहरूको महत्त्व र योगदान वर्तमानमा भन्दा भविष्यमा बढी हुनेछ। १० हजार डलर सहयोग गर्ने ५९ जनाको ‘बोर्ड अफ ट्रष्टी’ र २ हजार ५ सय डलर दान गर्ने २१० जना संस्थापक सदस्य भएको (पछि ३ हजार डलर दान गरेर ‘बेनफ्याक्टर मेम्वर’का हैसियतमा थपिएका सदस्यहरू समेत) अर्भिंगको नेपाली मन्दिर धेरै नेपालीहरूका लागि उदाहरण बनेकोछ। नेपाली समाज टेक्ससका वर्तमान अध्यक्ष कृष्ण लामिछाने, पूर्व अध्यक्षहरु गौरी जोशी, राम सी. पोखरेल, डा. प्रेम अधिकारी, भुवन आचार्य लगायत स्थानीय सामाजिक अगुवा/बुद्धिजीवीहरू डा. शेखर पण्डित, डा. मुरली अधिकारी लगाएतका धेरै सामाजिक अगुवा नेपालीहरूको परिश्रम र योगदानको सुन्दर सृजना हो भन्दा फरक पर्दैन, डालासको नेपाली मन्दिरलाई।

ह्युस्टनको सुस्त आर्थिक सङ्कलन अभियान
ग्रेटर ह्युस्टन अन्तर्गत नै पर्ने रिचमण्डमा रहेको कृष्णप्रणामी मन्दिरको भौतिक संरचना सहितको करिब ८.२ एकर जमिनको स्वामित्व सेप्टेम्बरको अन्तसम्ममा नेपाली समाज ह्युस्टनले प्राप्त गर्ने तैयारी भैसकेकोछ। ३ लाख ५० हजार डलरमा जमिन र हालको मन्दिर लगाएतको संरचना किन्ने र तत्काल केही संरचना निर्माण र रिमोडलिंग गर्न ५ लाख डलर सङ्कलन गर्ने लक्ष्य सहित नेपाली समाज ह्युस्टनले करिब डेढ महिनादेखि आर्थिक सङ्कलन अभियान चलाएकोछ। स्थानीय स्तरका भेटघाट र व्यक्तिगत सम्पर्कका माध्यमबाट सहयोग जुटाउने क्रम जारीछ र हिजोसम्ममा (अगष्ट १४) करिब २ लाख डलर मात्र सहयोगको प्रतिबद्धता प्राप्त भएको जानकारी एनएएचको वेभसाइटबाट प्राप्त भएकोछ। यो रफ्तारले कुनै दानी नेपालीले ठुलै रकम दानको घोषणा नगरे अगष्ट ३० सम्ममा ५ लाख डलर सङ्कलन गर्ने लक्ष्य पुरा हुन निकै गाह्रो हुने देखिन्छ।

डालासको नेपाली मन्दिर निर्माणका क्रममा एउटै व्यक्तिबाट धेरै रकम लिने भन्दा धेरैबाट थोरै लिएर धेरै नेपालीहरूलाई सहभागी गराउने लक्ष्य लिइएको देखिन्छ भने लसएन्जलसमा एक सेन्ट देखि १ लाख २५ हजारसम्म दान गर्नेहरु ६ सय जतिछन्। बोस्टनमा एकसाता मै १५ लाख उठ्यो।

यी सबै पूर्व अनुभव हेर्दा ह्युस्टनका नेपाली कम दानी हुन् कि कमजोर आर्थिक सङ्कलन अभियानका कारण आर्थिक सङ्कलन सुस्त भएको हो भन्ने प्रश्न खडा भएकोछ। यहाँको नेपाली समाजमा केही आर्थिक हैसियत भएका भनेर चिनिएकाहरुले दानको मुठ्ठी हालसम्म नखोल्दा ह्युस्टनको नेपाली समुदायमा आफ्नै ‘मन्दिर सपना’ साकार नहोला कि भन्ने शंसय पनि उत्तिकैछ। नेपाली समाज ह्यस्टनका पदाधिकारी र आर्थिक सङ्कलन अभियानका व्यवस्थापकहरुको निकै कमजोर अर्थ सङ्कलन अभियान परिचालन र संयोजनले केही पैसा भएकाहरुको मन पनि पगाल्न सकेको देखिन्न भने मन भएका र थोरै दिन सक्नेहरुका बिच जाने कुनै प्रयास नै गरेको देखिन्न। विद्यार्थी र नियमित काम गरेर जीविकोपार्जन गर्नेहरु केही दिन उत्सुक त छन् तर उनीहरूबाट अर्थ सङ्कलन गर्ने कुनै संयन्त्र नै बनाइएको देखिन्न। २५ डलर दिने वेभ्स्टरका प्रतीक देखि १०० डलर दिने एल्भिनका अमिर र १० हजार डलर दान गर्ने आशियाना रेष्टुरेण्टका चन्द्रकान्त शर्मा जस्ता मन भएका नेपालीहरुबीच नगएसम्म सहयोग सङ्कलन सीमित नेपालीहरूका बिच नै अड्किरहने पक्काछ। अगष्टसम्म २५ सय डलर दिनेहरु ट्रष्टी हुने र त्यसपछि ५ हजार दिए पछि मात्र ट्रष्टी हुन सक्ने भनेर धेरै दिनेहरुलाई मात्र अर्थ सङ्कलनको मुख्य दायरामा पार्न खोज्नु नै यहाँका सामाजिक अगुवाहरुको ठुलो कमजोरी हो। यस्तो योजनाले न त धेरै दिनेलाई आकर्षण गर्न सक्यो न त केही रकम बढाएर ट्रष्टी वा स्स्थापक सदस्य हुन्छु भन्नेबाट बढी सहयोग लिन सक्यो।

स्थानीय स्तरका नेपालीहरूले पनि चासो नदिएर समन्वय/संयोजनको जिम्मा लिएर बसेकाहरुको भर परेको भए अहिलेसम्म प्रतिबद्धता जाहेर भएको जति रकम पनि सङ्कलन हुन सक्ने थिएन। करिब १५ हजार नेपालीहरू भएको अनुमान गरिएको ग्रेटर ह्युस्टनमा पाँचलाख डलर उठ्न पनि धौ-धौ हुनु भनेको निकै कमजोर ढङ्गको अभियान परिचालन हो भन्न कठिन हुने कुरै भएन।

यस अतिरिक्त लसएन्जलसका जस्ता धन र मन दुवै भएका नेपालीहरूको घनत्व कम भएर पनि अर्थ सङ्कलन ढिलो भइरहेको हुनुसक्छ। तसर्थ नेपाली समाज ह्युस्टनको नेतृत्व र समाजका अगुवा भनेर चिनिएकाहरुले सर्वसाधारण नेपालीहरुबीच व्यापक पहुँच बढाउने र आर्थिक हैसियत राम्रो भएका नेपालीहरुबाट केही बढी सहयोग प्राप्त गर्ने योजना बनाएर अभियानलाई पूनसंयोजन गर्नु उपयुक्त हुनसक्छ।

पैसा उठाएर नयाँ वर्ष, तीज र दसैँ जस्ता पर्व मनाउँदैमा दैनिक श्रममा बाँच्ने बहुसङ्ख्यक नेपालीहरूको मन जित्न र समुदायमा सहभागिता बढाउन सकिन्न भनेर एनएएचका पदाधिकारीले जति ढिला बुझ्छन्, त्यति नै कम नेपालीहरूको सहभागिता यस्ता अत्यन्त राम्रा र प्रवासमा नेपालीहरूको पहिचानको आधारशिला मानिने सुन्दर संरचनाहरू बनाउने अभियानमा हुनेगर्दछ। त्यसैले नेपाली समाजका अगुवाहरुले बहुसङ्ख्यक नेपालीहरूको लागि कामलाग्ने कामहरू जस्तै-कामको खोजी, सवारी साधन खरिदका लागि आवश्यक परामर्श/समन्वय, साना व्यवसाय सञ्चालनका लागि आवश्यक सल्लाह/सहयोग, विद्यार्थीहरुका लागि पढाइपछिको उचित कामका लागि परामर्श/सहयोग, कमजोर आर्थिक स्थिति भएकाहरुलाई स्वास्थ्य उपचार र स्वास्थ्य बिमाको लागि आवश्यक सर-सहयोग गर्ने कुरालाई प्राथमिकता दिनु निकै जरूरीछ। हेर्दा-सुन्दा अति साधारण लाग्ने तर धेरै नेपालीका लागि अति नै महत्त्वपूर्ण लाग्ने कुराहरूमा ध्यानदिने हो भने अहिले समाजसंग नजोडिएका नेपालीहरू आफैँ सहभागिता जनाउन आइपुग्छन्। अब समाजका अगुवाहरुले सोच्ने बेला भएकोछ, सीमित ‘एलिट’हरुको साँघुरो घेराभितेर रमाउने कि बाहिर निस्केर बृहत् नेपाली समुदायको नेतृत्व गर्ने?

नेपालीहरूको आफ्नै मन्दिर बनाउने यो पवित्र र सुन्दर सामाजिक अभियानमा सहभागी हुनु ह्युस्टन र वरिपरि बस्ने सबै नेपालीहरूको पनि कर्तव्य हो। कसैले सहयोग गर् नभनेपनि थाहा पाउने बित्तिकै सहयोग गर्न तत्पर हुनु हामी सबै ह्युस्टनबासीको दायित्व भित्रै पर्दछ। तसर्थ आउनुहोस् ह्युस्टनमा नेपाली मन्दिर बनाउने अभियानमा सकेको सहयोग गरौँ र आफ्नै पशुपतिनाथ मन्दिर बनाऔं।

सहयोग स्थानीय स्वंयसेवक अर्थ संकलक मार्फत वा Nepalese Association of Houston (NAH) को नाममा चेक/ नगद, मनि अर्डरबाट पनि पठाउन सकिने जानकारी एनएएचका पदाधिकारीले गराएकाछन्। यसबाहेक एनएएचको वेभसाइटको यो लिंक मार्फत पनि अनलाइन सहयोग गर्न सकिने व्यवस्था रहेकोछ।

http://nahtx.org/donation/cause/pashupatinath-temple

प्रतिक्रिया