अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:५८ | Colorodo: 00:13

काठमाडौमा क्यानडा दिवस मनाइयो

बिआरटीनेपाल २०७४ असार १७ गते १२:५९ मा प्रकाशित

नेपाल–क्यानडा मैत्री तथा सांस्कृतिक सङ्घले नेपालको राजधानी काठमाडौमा एक कार्यक्रमको आयोजना गरी १५०औ क्यानडा दिवस मनाइएको छ । सङ्घले विगत चार वर्षदेखि दुवै देशको जनस्तरिय सम्बन्ध विस्तार गर्न निरन्तर यसै गरी क्यानडा दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले जलबिध्युत, पर्यटन र व्यापारका माध्यमबाट क्यानडासँग सम्बन्ध बढाएर फाइदा लिन सकिने धारणा राखे । उनले नेपाल विश्वकै आर्कर्षक स्थल भएकाले क्यानडाबाट सिक्न लायक कुरा सिक्नपर्ने र पन्छिन पर्ने कुरामा समयमै पन्छिदा राम्रो हुने बताए । साथै, उनले महाकाली सन्धी गर्दा क्यानडालाई सन्दर्भ मानेको स्मरण गरेका थिए ।

काठमाडौँ महानगरपालिकाका उपमेयर हरिप्रभा श्रेष्ठले क्यानडामा पचास प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित भएको सुन्दा आम नेपाली महिलाको लागि प्रेरणाको विषय भएको बताइन् । काठमाडौँ महानगरपालिकाले धुलो र धुवाँरहित हराभरा महानगरपालिका तथा यहाँको सम्पदाहरु निर्माण गर्न सबैको सहयोग रहनपर्ने तर्क उनले गरिन् ।

सङ्घका पूर्व अध्यक्ष हिरण्यलाल श्रेष्ठले नेपालले क्यानडाबाट लिन सक्ने फाइदा धेरै भएको र क्यानडाले नेपालमै राजदूतावास राख्न पर्नेमा जोड दिए । उनका अनुसार क्यानडाले दिल्ली र बेइजिङका आँखाबाट नेपाललाई हेर्न हुँदैन ।

नेपालस्थित क्यानडाका अवैतनिक कन्सुलर डा. बुद्ध बस्नेतले भूकम्प यता मात्र क्यानडाले विभिन्न स्रोतबाट ५२ लाख डलर सहयोग दिएको बताए । उनले क्यानडा दिवसका दिन त्यहाँको सरकारले सार्वजनिक बिदा नगर्नुको कारण श्रममा विश्वास गर्नु रहेको प्रसङ्ग सुनाए ।

क्यानडास्थित नमस्ते रेडियोका संस्थापक सभापति अनिल थापाले क्यानडामा नेपाली भाषा बोल्ने पचास हजार रहेको र त्यसमध्ये अठार हजार नेपाली क्यानडामा बसोबास गरेको जानकारी दिए । उनले क्यानडाले वैदेशिक सहयोगभन्दा पनि वैदेशिक व्यापार बढाउने नीति लिएको र भूकम्पपछि नेपाललाई सक्दो सहयोग गरेको स्मरण गराए ।

नेपाल पर्वतारोहरण सङ्घका अध्यक्ष आङ छिरिङ शेर्पाले नेपालको पर्वतीय पर्यटन र वातावरणका क्षेत्रमा क्यानडेली नागरिकको विशेष योगदान रहेको बताए । सङ्घका अध्यक्ष प्रा.डा. प्रदीप खड्का, महासचिव प्रा.डा. श्रीधर गौतम, सदस्य प्रा.डा. गोपाल पोखरेल लगायतले क्यानडा र नेपालको हावापानी, जनसङ्ख्या, सङ्घीयता, बहुसंस्कृतिजस्ता विषयमा समानता रहेको चर्चा कार्यक्रममा भएको जानकारी सङ्घको मुखपत्र न्युजलेटरका सम्पादक डा. दीपेन्द्र रोकायाले दिए । उक्त कार्यक्रमको सञ्चालन सङ्घका सदस्य मनिषा थापाले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू