अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४६ | Colorodo: 09:01

फुलमालाको विकल्पमा खादाको प्रयोग कति उचित ?

राम लामा अविनाशी २०७४ जेठ २६ गते २१:११ मा प्रकाशित

आजभोलि विशेष गरी नेपाली समुदायमा खादाको प्रयोग बढ्दो छ । हामी केटा केटी हुँदा ताका खादाको प्रयोग बुद्ध संस्कारवालाहरुले मात्र गरेको पाइन्थ्यो । तर आजभोलि कुनै त्यस्ता नेपाली कार्यक्रमहरू छैनन् होला जहाँ रङ्गी चङ्गी खादाले कार्यक्रमको मञ्च शोभायमान बनेको नहोस् । चाहे जुन सुकै जाती र समुदायको कार्यक्रम होस् । चाहे त्यो स्वदेशको होस् या विदेशमा । ताजा फुलको गुच्छा तथा माला सर्ब सुलभ नहुने र पाए पनि सुकेर जाने भएकोले खादाको प्रायोगले स्थान पाएको हो भन्ने मेरो ठम्याई हो । विशेष गरी समुन्द्र पारिका मुलुकहरूमा । 

नेपालका तल्लो हिमाली भेगहरुमा लालिगुरांस फुल यदाकदा पाइने बाहेक अन्यत्र फुल पाईदैन । त्यसैले कुनै जन्म देखी मृत्यु सम्मका संस्कारका कार्यक्रमहरूमा या कुनै हर्षोल्लास तथा आत्मीय र सम्मान भाव दर्साउन घाँटीमा राखिदिने चीज खादा नै थियो । यसलाई कतै कतै खतग पनि भनिन्थ्यो । जुन सेतो रङ्गको सिल्कको हुने गर्दथ्यो । कसैलाई स्वागत गर्दा तथा बिदाइ गर्दा घाँटीमा पहिर्याइदिने यो खादाको अर्थ तपाईँ प्रति मेरो आत्मा सफा छ भन्ने हुन्थ्यो ।

हिमाली भेगमा बस्नेहरु प्राय बुद्ध मार्गी हुंने भएकोले यो बौद्ध संस्कारको परिचायक बन्न पुगेको हुन सक्छ । समय आधुनिकीकरण तिर लम्किदै जाँदा खादामा पनि परिवर्तन आयो । सिल्क रोड हुँदै व्यापार गर्न हिँड्ने ब्यापारीहरुले तिब्बत तीरबाट सिल्क कपडा तथा विभिन्न रङ्ग र छाप भएका खादाहरु लगेर मङ्गोलिया, भुटान, थाईल्याण्ड, बर्मा, साइबेरिया, नेपाल आदि देशका बजारमा बेच्न थाले । त्यसैले हिमाली भेकमा बस्नेहरुमा सिल्कबाट बनेका लुगाहरु लोकप्रिय छन् । 

बुद्ध संस्कारका पूजामा अष्टयन्त्र छापिएका र मन्त्र लेखिएका खादाहरुको प्रयोग हुन थाल्यो । त्यसैले बुद्ध मार्गीहरुका लागि यी खालका खादाहरुमा धार्मिक आस्था जोडिएकोले बढी र गहिरो आत्मीय सम्बन्ध रहन्छ । त्यसमा छापिएका अष्ट यन्त्र र मन्त्र प्रतिको आदर गर्दै प्रयोग पश्चात खादालाई राम्रोसँग चोखो ठाउँमा सम्हालेर राखिन्छ । “काठमाण्डौको स्वयम्भुमा पुराना खादाहरु फ्याल्नकोलागि छुट्टै कण्टेनर राखिएको छ । जसलाई बेला बेलामा लामाले मन्त्र पढेर नष्ट गर्ने प्रचलन छ” भन्नु हुन्छ अमेरिकाको पासाडिना निवासी बलराम तमाङ्ग ।

आजभोलि यसको प्रयोगकर्ताहरुको वृद्धि भएको छ । नेपालमा पनि अत्याधिक प्रयोग बढेकोले चाईना तीरबाट आयत हुन थाल्यो । धेरै पैसा बाहिरियो भन्दै तत्कालीन प्रधान मन्त्री के पी ओलीले स्वदेशमै उत्पादन गरेर प्रयोग गर्ने सल्लाह दिएकोले नेपालमै बनाउन थालियो । जुन ढाका जस्तो डिजाइनका खादाहरु यदा-कदा प्रयोगमा आएको देखिन्छ ।

सुभेच्छा थापा थापा नामकी प्र्ख्यात मोडेलले मोडलिङ्गको क्रममा सेतो रङ्गको खाताले आफ्नो नंग्न शरीरको स्तन ढाक्ने गरी गलामा पहिरिईन् र निलो रङ्गको खादाले आफ्नो गुप्ताङ्ग छोप्ने गरी हिपमा बेरिन् । उक्त फोटो बजारमा आए पछि बुद्ध मार्गीहरुले चर्को विरोध गरे । उनले माफी पनि मागिन् । आफ्नो चिजको दुरुपायोग हुनु जो कोहीलाई पनि सैह्य हुँदैन । त्यो कुराको विरोध बुद्धिस्ट समुदायले गरे । जसको अर्थ खादाको सरोकारवाला बुद्ध मार्गीहरु रहेछन् भन्ने कुरा अझ बढी प्रस्ट हुन्छ । 

“खादा जोकोहीले प्रयोग गर्दा पनि आफ्नो आपत्ति नरहे पनि यसरी दुरुपयोग हुँदा या कहिले काहीं आफूले अति नै नराम्रो आचरणको लागेको व्यक्तिलाई पनि खादाले सम्मान गरिएको देख्दा मन खिन्न हुन्छ” भन्नु हुन्छ न्यु योर्क बासी पत्रकार आङ्ग छिरिङ्गग शेर्पा । “बुद्धमार्गीहरुबाट खाताको प्रयोगको सुरुवात भएको अनुमान लगाइएको भएता पनि अरू जुनसुकै समुदायले पनि प्रयोगमा ल्याउन सक्छन्” भन्नु हुन्छ सन्फ्रान्सिस्को बासी डा. किशोर शेरचन ।

“यसको प्रायोग त धार्मिक आस्थाको सम्मानार्थ मात्र गरिदिए हुन्थ्यो” भन्नु हुन्छ क्यालस्टेट युनिवर्सिटी, यु एस् ए का प्रोफेसर ग्याल्बो लामा । “बुद्ध धर्मको परिचायकको रूपमा लिईने महत्त्वपूर्ण खादालाई अन्य समूहले प्रयोग गर्दा महत्वहीन चीज जस्तो लाग्छ” भन्नुहुन्छ रेडियो नेपाल तथा नेपाल टेलिभिजनका पूर्व प्रश्तोता तथा सनातन धर्मबिद पुरुश्वत्तम सापकोटा । “बुद्ध धर्मको आस्था र संस्कारको महत्त्वपूर्ण चीज खादालाई अन्य समुदायले प्रयोग गरिदिनु उचित होइन” भन्नु हुन्छ क्लेरमण्ट युनिभर्सिटी यु एस् ए का प्रोफेसर तथा बुद्ध धर्मबिद डा दीपक शिंखडा । 

पहेलो रङ्गमा रातो अक्षरले हरे राम हरे कृष्ण लेखेको हिन्दुहरुले प्रयोग गर्ने स्कार्फ, मुसलमानले टाउकोमा राख्ने कालो बुट्टा भएको सेतो रुमाल र कालो डोरी , क्रिस्चियनको क्रस आदि आ-आफ्ना धर्मका परिचायक भए जस्तै खादा बुद्धिस्टहरुको परिचायक हो । शुद्ध मनले जसले जे प्रयोग गरे पनि हुन्छ । सम्बन्धित समुदायको भावना र सम्मानमा ठेस लाग्ने गरी उक्त चीजहरुको दुरुपयोग गरिदिंदा सरोकारवालाहरुको चित्त दुखाई हुनु स्वभाबिकै हो ।

भगवान् बुद्धका हेराईमा यो जगतका सम्पूर्ण प्राणीहरु बराबर हुन् । त्यसैले बुद्ध संस्कारका कुनै पनि चीजहरु साझा छन् । तर ती कुराहरू प्रयोग गर्दा त्यसका महत्त्व राम्ररी बुझिदिए मात्र पुग्छ । छाता, जोर स्वर्णमाछा, शंख, कमलको फुल, विजय तुल, कलश, धर्म चक्र, अटुट गांठो जस्ता अष्ट यन्त र चौडाईका दुई छेउमा तिब्बती भाषामा मन्त्र र लम्बाईका दुई छेउमा बज्र अंकित चिन्हहरुले विभिन्न रङ्गका खाताहरु पवित्र बनिसकेका हुन्छन् । यी अष्टयन्त्रहरुको महत्वमा बुद्धत्व समेटिएको हुन्छ । जसमा,  धर्मलम्बीहरुको आस्था र सम्मान जोडिएको हुन्छ ।

त्यसैले त सुभेच्छा थापाको मोडलिङ्गमा गलत तरिकाले खाताको प्रयोगमा विरोध रह्यो । त्यसैले त समारोहमा तपाईँलाई लगाई दिएको खाता हतारमा गाडीको पछाडिको सिटमा फालेर तल झर्दा पछाडिको सिटमा बस्नेको खुट्टाको जुत्ताले टेकेको देख्दा मन कटक्क भयो ।