अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:०० | Colorodo: 20:15

भारतले सत्य मात्र बोले पनि काफी छ

राम लामा अविनाशी २०७४ वैशाख २९ गते १९:१७ मा प्रकाशित

भारतले भगवान् बुद्ध भारतमा जन्मेका हुन भनी झुट बोली राख्नु जरुरी नै छैन । भगवान् बुद्धका बुद्धत्व प्राप्त गर्ने बेला देखि जीवनको अन्त सम्मका हरेक पलहरू भारतमा बितेका छन् । त्यस अर्थमा मात्र पनि भगवान् बुद्धको जिबनीको सन्दर्भमा भारतको नाम महत्त्वपूर्ण स्थानमा रहन्छ ।

सिद्धार्थ गौतम आज भन्दा २६४१ वर्ष पहिला अर्थात् ५६३ बिसिमा कपिल बस्तुको लुम्बिनीमा जन्मेका थिए । २९ वर्षको उमेरमा घरबार त्यागेर जङ्गल पसेका थिए । ६ वर्षसम्म जङ्गलमा तपस्या गर्दा पनि केही हुन नसकेपछि हार खाएर फर्किएका थिए । शारीरिक अवस्था निकै कमजोर भईसकेका सिद्धार्थलाई बाटोमा एक जना महिलाले खाना खुवाईन । तपस्या तोडेको देखेर अरू ५ जना साथीहरू उनीसँग रिसाए । सिद्धार्थलाई छोडेर हिंडे ।

उनी हिडिरहेको बेलामा एक सङ्गीतकारले आफ्ना विद्यार्थीहरूलाई सितार सिकाई रहको देखे । सितारको तारलाई धेरै कसियो भने मिठो आवाज आउँदैन र तार चुँडिन पनि सक्छ । तारलाई बढी लुलो बनाईयो भने पनि आवाज आउँदैन । त्यसैले मध्यम अवस्थामा राख्नु पर्छ भनेको कुराले सिद्धार्थ गौतमले सुने । जुन कुराले सिद्धार्थको दिमागमा प्रभाव पर्‍यो । त्यस पछि त्यही मध्यमार्गी सिद्धान्तलाई आफ्नो जीवनमा लागू गर्दै जान थाले ।

त्यहाँबाट उनी बोधगया पुगेर पिपलको बोट मुनि तपस्या गर्न थाले । त्यहाँ उनले ४० रात बिताए । सुन्दरीहरु आएर उनको ध्यान भङ्ग गर्न खोजे । तर पनि कसैको केही लागेन । अन्ततः सिद्धार्थ गौतमले ज्ञान प्राप्त गरे र उनी बुद्ध भए । त्यो पिपलको बोट भएको बोध गया भारतको भूमि हो ।

बुद्ध भएपछि आफूसँग विगतमा रहेका र केही गर्न नसक्ने ठानी आफूलाई छोडेर हिंडेका ५ जना साथीहरूलाई खोज्दै हिड्दा बनारसको सारनाथमा भेटे र उनीहरूलाई शिष्य बनाएर शिक्षा दिन थाले । उक्त ठाउँ भारतीय भूमि हो ।

त्यसपछि भारतको विभिन्न स्थानमा आफ्ना दर्शनहरू बाँड्दै हिँड्दा उनी बिहारको कुशीनगर पुगेपछि बिरामी परे । रोगले झन्-झन् च्यापदै लगेकोले त्यहीँ थला परे । सो खबरले उनीलाई भेट्न धेरै टाढा-टाढाबाट भिक्षुहरु आए । करिब ५ सय भिक्षुहरुको माझबाट उनले ८० वर्षको हुँदा ४८३ बिसिईमा सदाको लागि बिदा लिए । उनको अन्त्येष्टी गरिएको स्थल कुशीनगरमा स्तुपा बनाइएको छ । उक्त समाधिस्थल पनि भारतीय भूमि नै हो । 

उनको भौतिक शरीरले त बिदा लियो तर उनको बुद्धत्व संसारभरि द्रुत गतिमा फैलिदै गयो । २६१ बिसिईमा सम्राट अशोकले आन्द्र प्रदेशको उडिसामा गरेको युद्धमा करिब लाखको सङ्ख्यामा मृत्यु भएका थिए । करिब ६० हजार घाइते मानव शरीरका हातखुट्टा छट्पटाई रहेको अवस्थामा देखेपछि उनीमा आत्माग्लानी भएको थियो । जुन प्रायश्चितको लागि उनी आफू बुद्धको शान्ति मार्गमा लागे र विश्वका विभिन्न देशहरूमा बुद्ध धर्म फैल्याउनतिर लागेका थिए । उनी भारतीय थिए ।

आफूले मारेका मान्छेहरू जति नै सङ्ख्यामा विश्वभरि नै भगवान् बुद्धका चैत्यहरु बनाएका थिए । नेपालको पाटनमा पनि उनले बनाएका २ वटा चैत्यहरु अहिले पनि विद्यमान छन् । बुद्ध धर्म विश्वभरि फैल्याउनमा सम्राट अशोकको विशेष भूमिका रहेको पाइन्छ । पातली पुत्र, पटनाको मगत राज्यका सम्राट २४९ बिसिमा लुम्बिनीमा पाली भाषामा एक स्तम्भ बनाएका थिए । जसमा भगवान् गौतम बुद्ध जन्मेको यो पवित्र भूमि लुम्बिनीको कर छुट गरेका छौँ भनी उल्लेख गरिएको छ । यसको अर्थ त्यो बेलामा शाक्यहरुको राज्य मानिने लुम्बिनीका राजा शुद्धोदन र त्यो राज्य पनि पटनाको रोहवरमा थियो । जसलाई सम्राट अशोकले राज गर्दथे भन्ने बुझिन्छ । तर पछि यो भूमि नेपालमा रेखांकित भएको थियो ।

आज विश्व भरी बुद्ध भगवानको नाम र उन्को दर्शन पुर्याउनमा भारतको नै हात रहेको छ भन्ने बिध्वानहरुको कमी छैन । दक्षिण कोरियाका शिक्षक किमले भगवान् बुद्धका आदर्शका कुरा गर्नु भयो । बुद्ध दर्शनका कुरा मनग्य गर्नु भयो मसँग । म यिनै भगवान् जन्मेको देशको मान्छे हुँं भने । आर यु फ्रम इन्डिया ? भनी मलाई प्रश्न गर्नु भयो । होइन, बुद्ध नेपालमा जन्मेका हुन र म पनि त्यही देशको मान्छे हुँं भनेँ । तर मेरो कुरालाई मान्न उहाँ तयार हुनु भएन । किनकि, उहाँले आफू विद्यार्थी हुँदा पढेको यही विषय नै पछि आफू शिक्षक भए पछि पढाउनु हुँदो रहेछ । जस्मा भगवानका बुद्धका उपदेश सहित पञ्चशीलका सिद्धान्तहरुको पनि बाख्या गरिएको रहेछ । उहाँको भगवान् बुद्ध प्रतिको बुझाई तारिफयोग्य थियो । गलत थियो त केवल बुद्ध जन्मेको देशको नाम ।  

यो त एउटा उदाहरण मात्रै हो । यस्तै गलत सूचना सँगै भगवान् बुद्धका आदर्शहरु पनि विश्वको कुना कुना सम्म पुगेका छन् । जसको लागि विश्व बुद्धिस्ट सोसाईटी भारत प्रति आभारी छ । तर त्यति धेरै सगौरब प्रचार गर्न लायक सत्यता हुँदा हुँदै जन्म स्थानको बारेमा झुटो प्रचार गर्न जरुरत थिएन । हुंनत, भगवान् गौतम बुद्ध जन्मेका मात्र त हुन नि नेपालमा । बाँकी बुद्ध्त्व पाएको, बुद्ध्त्व फैलाएको आधार भूमि, मृत्‍यु आदी सबै त भारतमै भएको थियो । यी सबै कुराहरू मात्र पनि भारतले गर्व गर्नका लागि प्रयाप्त हुन्छन् । त्यति मात्र होइन करिब ९० लाख जनता बुद्धिस्ट भएको देशले भगवान् बुद्धको जन्मभुमीको बारेमा झुटो प्रचार गर्न जरुरी थिएन । भारतले सत्य मात्रै बोले पनि काफी छ ।

*लेखक बुद्धिस्ट सोसाइटी अफ क्यालिफोर्नियाका अध्यक्ष हुनुहुन्छ ।