अमेरिकाको डालसमा हालै एक अश्वेत वर्णका किशोरको गोली प्रहारबाट घाइते भएकी नेपाली विद्यार्थी ज्वाला कार्कीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
युएस नेपाल हेल्प नेटवर्क (UNHU)ले गो फण्ड मार्फत सङ्कलन गरेको ४३ हजार १ सय डलर मध्ये गो फण्डको शुल्क कटाएर बाँकी रहेको ३९ हजार १ सय २१ डलर ६५ पेनी अर्थात् करिब ४० लाख नेपाली रुपैंया घाइते कार्कीको व्यक्तिगत खातामा जम्मा गरिएको हो ।
हेल्प नेटवर्कका प्रतिनिधि प्रवेश नेपालसँगै उनको समूहले बुधवार घाइते कार्कीको अपार्टमेन्टमा पुगेर सो रकम खातामा जम्मा गरिदिएको जानकारी दिएको बताइएको छ ।
दुई साता अघि आफ्नै अपार्टमेन्टको लन्ड्री रुममा फोनमा कुरा गरिरहेको समयमा एक अश्वेत वर्णका किशोरले अन्धाधुन्ध गोली चलाउंदा ज्वालालाई शरीरका विभिन्न भागमा ७ वटा गोली लागेका थिए ।
भाग्यबस बाचेकी ज्वाला हाल अस्पतालबाट डिस्चार्ज भएर आफ्नै अपार्टमेन्टमा आराम गरिहेकी छिन् ।
दुई वर्ष अघि मात्र अमेरिका आएकी पोखरा नगरपालिका चौठे १४ कि २४ वर्षिया ज्वाला कार्की दुई महिना अघि मात्रै मेरिल्याडबाट डालस आएकी थिइन् ।