अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:४६ | Colorodo: 08:01

“ओला” को विमोचन

बिआरटीनेपाल २०७४ असार २४ गते ७:४९ मा प्रकाशित

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती गंगा उप्रेतीको प्रमुख आतिथ्यतामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा भएको एक समारोहमा शुक्रवार नियात्रा सङ्ग्रह ओलाको बिमोचन भयो ।

४३ वटा नियात्रा समेटिएको सङ्ग्रह ओला ३६२ पृष्ठमा समेटिएको छ । बिमोचन समारोहमा बोल्दै कुलपति उप्रेतीले नेपाली वाङ्मयले नयाँ कृति पाएकोमा खुसी व्यक्त गरे । उनले साहित्यको विकास र अन्तर्राष्ट्रियिकरण लागि प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा अनेसास नेपालका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यिक बजारमा नयाँ कृति आउनु अत्यन्तै सकारात्मक कुरा भए पनि यस्ता कृतिहरूलाई सुरक्षित राख्न नसकिएकोमा चिन्ता व्यक्त गरे । उनले नेपाली कला, साहित्यको इतिहास बचाउन सरकारले सुरक्षित तथा भुकम्पप्रतिरोधी भवनमा सङ्ग्रालय निर्माणका लागि सरकारसङ्ग आग्रह गरे ।

बिमोचन समारोहमा वरिष्ठ समालोचक डा लक्ष्मणप्रसाद गौतमले ओलाले समाजको दर्शनसङ्गै व्यवहारिक चिन्तन बोकेको बताए । उनले पछिल्लो समय नियात्रामा विकृति आएको भन्दै लेखकले पाठकलाई ढाट्नै नहुने बताए । उनले ओलामा भएको भाषागत त्रुटीलाई सच्याउन लेखक खड्कालाई आग्रह गरे । 

समारोहमा नियात्रा समाज नेपालका अध्यक्ष चन्द्रप्रसाद भट्टराईले पाठकहरूले अत्यन्तै रुचाएको साहित्यको नियात्रा विधामा स्रष्टाहरूको आगमन बढेकोमा खुसी व्यक्त गर्दै यसको बचाउका लागि सकारले सहयोग गर्नुपर्ने बताए । पुराना राम्रा कृति बजारमा भेटिन छोडेको बताउँदै उनले सबै मिलेर यसलाई व्यवस्थित गर्न लाग्न आग्रह गरे । आफ्नो कृतिको गुणस्तर उच्च बनाउन स्रष्टा स्वयम्ले ख्याल गर्नुपर्ने उनको भनाइ थियो ।

वरिष्ठ साहित्यकार एवं नियात्राकार युवराज नयाँघरेले पछिल्लो समय नियात्रा तथा निबन्धको क्षेत्रमा आएको बाढी नेपाली साहित्यको पुँजी भएको भन्दै खुसी व्यक्त गरे ।

नियात्राकार नयाँघरेले विविधताले भरिएको ओलाले विश्वको संस्कृतिलाई कलात्मक लेखाइ भनेका छन् । वरिष्ठ नियात्राकार दामोदर पुडासैनीले विश्वका मानिसको अवस्थालाई कलात्मक तरिकाले लेखेर पाठकलाई घुमाएको बताए । कार्यक्रममा ओलाका लेखक खड्काले पहिलो कृतिलाई पाठकले न्यायोचित तरिकाले पढे आगामी कृति अझै उत्कृष्ट आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा साहित्यकार डा. गार्गी शर्मा, हिरण्यकुमारी पाठक, अच्युतरमण अधिकारी, धुर्ब मधिकर्मीलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन स्रष्टा पुष्पा खनालले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू