हाम्रो कला, संस्कृति, भाषा, साहित्य, गीत, सङ्गीतलाई भुल्यौं भने हाम्रा सन्ततिले भोलि हामीलाई पनि भुल्ने छन- रामप्रसाद खनाल

रामप्रसाद खनाल

पछिल्लो समयमा आएर नेपाल बाहिर अमेरिकामा होस् वा अन्य देशमा होस् यहाँ पनि नेपालको फोहोरी राजनीतिको प्रभावले समाज विभाजित हुन थाल्नु, “नेपाल र नेपाली ”भन्ने भावनाको सट्टा राजनीतिक पार्टी र तिनका भातृसंस्था,जातीय सङ्घ संस्था आदि आदि कुराले गीत, सङ्गीत, साहित्य, कला र संस्कृतिलाई पनि केही वाधा पुग्न थालेको देखिएको छ । यसका अलावा छाडा संस्कृति, गीत, सङ्गीत, कलाले पनि चाहिने भन्दा बढी स्थान लिईदिंदा झन् दुखद अवस्था सिर्जना हुन थालेका छन् देश बाहिर पनि ।”

देश बाहिर अमेरिका होस् वा अन्य देशमा होस् जता बसेपनि हामीले हाम्रो कला संस्कृति, भाषा, साहित्य, गीत, सङ्गीतलाई भुल्यौं भने हाम्रा सन्ततिले भोलि हामीलाई पनि भुल्ने छन् । हाम्रा सन्तति र आफन्तजन बिचको पारस्परिक सम्बन्धको डोरी पनि चुँडिन सक्नेछ ।
-रामप्रसाद खनाल

गुल्मी धरम्पानी मैनडाँडामा जन्मिएको भएर होला म बालक अवस्था देखी नै गीत गाउँथें रे-मेरी आमा त्यसै भन्नुहुन्छ । म २ कक्षामा पढ्दा अर्थात् ७ वर्ष पुगेर ८ वर्ष लाग्न थाले देखी हालसम्मका सबैकुरा सम्झिन्छु र मेरो मानसपटलमा ताजै छन् । हुन पनि गाउँ घरमा कतै मादल फुटुङ टुङ गर्‍यो कि म घरबाट लुकेर, भागेर, आमाका आँखा छलेर त्यहाँ पुगी हाल्थेँ । मारुनी, लाखे, कालीका, झ्याउरे, रोधी, तीजका गीत, नाटक, कुनै कार्यक्रम छुट्दैनथे । मेरी आमा र मेरो दाजु लाई सधैंको चिन्ता त्यो के भने बाउनको छोरो भएर नाच गान तिर म लाग्यो भन्ने । त्यति बेला कस्तो भ्रम थियो भने नाच गान त मतला जातिले मात्रै गर्ने चिज हो । आमा भन्नुहुन्थ्यो तैँले-आमा बाउको इज्जत फाल्ने भईस यो नाच गानमा लागेर ।

पाँच दशकको छेउछाउ आई पुग्दासम्म हालसम्ममा मैले १२ सय गीत लेखेँछु, गाएँछु, ४१ वटा एल्बम नै प्रकाशित भएर बजारमा अाईसकेछन् । लोकगीत,दोहोरी गीत, राष्ट्रिय र आधुनिक गीत समेत लेखेको, संगीतवद्ध गरेको, गाएको र म जन्मिएको गुल्मीको माटो लोकगीत, दोहोरी गीत, लोक संस्कृतिको एक प्रखर खानी भएर होला मलाई रेडियो नेपाल पुग्न, नेपाल टेलिभिजन पुग्न ४१ वटा एल्बम निकाल्दा, १२ सय गीत गाउँदा सम्मको अवस्थामा आउँदासम्म होस् वा लोकगीत, सङ्गीत, कला, संस्कृति र दोहोरी गीतका लागि नेपाल अधिराज्यभर अभियान छेड्ने क्रममा ठुला अप्ठ्यारा जटिल मोड आए पनि म सँग हारिरहे । गुल्मीको माटोले मलाई मजबुत ढङ्गले स्थापित गराएको भएर होला म आफूलाई कहिल्यै कमजोर ठानिन ।

प्रथम पटक रेडियो नेपालमा स्वर परीक्षा पास गर्दा र पहिलो पटक रेडियो नेपालबाट मेरो गीत बज्दाको क्षण कसरी व्याख्या गर्न सक्छु र म ? ओहो ! त्यो दिन संसारै जितेको जस्तो भान भएको थियो । तर सङ्घर्ष गर्दा गर्दा पछि बल्ल थाहा पाएँ मैले अझ धेरै गर्न बाँकी रहेछ र अझै पनि बाँकी छ । यद्यपि रेडियो नेपालबाट प्रारम्भिक श्रेणीमा स्वर परीक्षा पास गरी घ, ग, ख, क श्रेणी हुँदै “विशिष्ट श्रेणी” मा नेपालका बहुत थोरै औंलामा गन्न सकिने गायक/ कलाकारहरूमा आफ्नो नाम पनि दर्ज भएको देख्न पाउनु पक्कै खुसीको कुरा हो ।

नेपाल सरकारको तर्फबाट रेडियो नेपालले लिने स्वर परीक्षा/स्तर निर्धारण नै आजसम्म पनि रहँदै आएको नेपाल सरकारको परीक्षा हो । यस बाहेक नेपाल टेलिभिजनबाट पनि भ्वाईस टेष्ट/स्क्रिन टेष्ट पास गरेर विशिष्ट श्रेणीको गायक बन्नु, लोकदोहोरी क्षेत्रको अभियन्ता बन्नु म जस्तो एक गुल्मेली गाउँले केटाको लागि चानचुने कुरा थिएन । 

कठिन सङ्घर्ष गर्दै गएँ, सफलता पनि हात पार्दै गईयो । रेडियो नेपालमा बजियो, नेपाल टेलिभिजनमा प्रसारित पनि भईयो । पछि दुवै संस्थामा महत्त्वपूर्ण जिम्मेवारी पनि वहन गरेँ । केही समय रेडियो नेपालमा कार्यक्रम निर्माता, निर्देशक एवं सञ्चालक भएर रहेँ भने नेपाल टेलिभिजनमा व्यवस्थापन हेर्ने गरी टेलिभिजनकै सञ्चालकको रूपमा जिम्मेवारी बहन पनि गरियो ।

मैले नेपाल टेलिभिजनमा रहँदा विभिन्न खाले कार्यक्रम सञ्चालन गर्ने, निर्माण निर्देशन गर्ने मात्र गरिन टेलिभिजनकै व्यवस्थापन हेर्ने सञ्चालकका रूपमा सरकारले दिएको जिम्मेवारी पनि कुशलतापर्वक वहन गरेँ । मेरै कार्यकालमा नेपाल टेलिभिजनमा कैयौँ सुधार कार्यहरू भए जसका कारण म नेपाल टेलिभिजन छाडेर बाहिर आएपछि पनि नेपाल टेलिभिजन परिवारले मलाई सधैँ सम्झिने गर्नुहुन्छ र त्यसमा म सन्तुस्टी महसुस गर्ने गरेको छु ।

विशेष गरेर नेपालमा लोकगीत, दोहोरी गीत, सङ्गीत, लोक संस्कृतिका लागि, रेडियो नेपाल र त्यहाँ कार्यरत हाम्रा अग्रजहरुले महत्त्वपूर्ण भूमिका निर्वाह गरे पनि म नेपाल टेलिभिजन प्रवेश नगर्दासम्म नेपाल टेलिभिजनले लोकगीत, दोहोरी गीत, सङ्गीत एवं सांस्कृतिक पक्षलाई त्यति धेरै महत्त्व दिएको देखिंदैनथ्यो । जब म नेपाल टेलिभिजनमा प्रवेश गरेँ त्यसैबेला लोकगीत प्रवेश गर्‍यो, दोहोरी गीत प्रवेश गर्‍यो, तीजको बेला तीजको गीत प्रवेश गर्‍यो, तिहारका बेला देउसी भैलोका गीतहरू प्रवेश गरे । मैले नेपाल टेलिभिजनको व्यवस्थापनमा आफू गए पछि होस वा जानुभन्दा अगाडि होस व्यवस्थापन टिमसँग एक प्रकारको विश्वास कायम गरेर नेपाल टेलिभिजनलाई अगाडि बढाउन कुनै कसर बाँकी राखिन, सो बारेमा मैले भन्दापनि नेपाल टेलिभिजनका दर्शकहरूले मूल्याङ्कन गर्नुभएकै छ होला ।

पप र र्यापले जकडिएको नेपाल टेलिभिजन म गएको एक वर्षभित्रै आमूल रूपमा परिवर्तन मात्र भएन दर्शक सर्वेक्षणमा साङ्गीतिक कार्यक्रमहरुतर्फ मेरै कार्यक्रम “लोक दोहोरी” लगातार सात वर्षसम्म एक नम्बरमा पर्न सफल भई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एक प्रकारको नयाँ माहौल/रौनक सिर्जना भयो । पश्चिमेली गीत पूर्वियाले नगाउने, नसुन्ने, पूर्वेली गीत पश्चिमेले नगाउने नसुन्ने चलनलाई तोड्न म पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मको दौडाहा, प्रत्यक्ष रेकर्डिङ्ग/प्रत्यक्ष प्रसारण गर्नुका साथै आफ्नो वर्कतले भ्याएसम्म लगातार गरिरहें ।

मेरो त्यही अभियानसँगै नेपालमा मेरै प्रयासमा प्रदर्शनी, महोत्सव अभियानपनि छेँडियो । मलाई निम्तो गर्ने हरेक जिल्ला, नगरका आयोजकहरुलाई म भन्थें – तपाईँहरू प्रदर्शनी/महोत्सव आयोजना गर्नुस्, लोकगीत, दोहोरीगीत, हाँस्यव्यंग्य, ठाउँ र क्षेत्र अनुसार सांस्कृतिक कार्यक्रम गरौँ । आफ्नो कला संस्कृतिको पहिचान पनि हुने, दर्शक श्रोतालाई मनोरञ्जन पनि हुने, आयोजकलाई खर्च धान्नपनि सजिलो पर्ने, कलाकारहरुपनि बाँच्ने, समग्रमा यसले सबैलाई फाइदा पुग्छ । नभन्दै नेपाल अधिराज्यभर यसै गरियो । हामीले सुरु गरेको अभियान करिब २० वर्ष हुनलाग्दा पनि अहिले पनि त्यत्तिकै आकर्षक अभियान बनेको छ, पटक्कै पुरानो भएको छैन । यसकै फलस्वरुप आज देशभर प्रदर्शनी/महोत्सव मेला आयोजना भइरहेका छन् । कलाकार बाँचेका छन्, दर्शक श्रोताले मनोरन्जन पाएकाछन, आयोजकले यसै कारण हुने आम्दानीको हिसाब किताब गर्दै औंला भाँचेका छन् । समग्र कला संस्कृति बाँचेको छ, सबैलाई फाइदा पुगेको छ भन्ने मलाई लाग्छ ।

देशमा सिर्जित विषम परिस्थिति, लाखौँ लाख युवाहरूको विदेश पलायनसँगै म पनि २०६४ सालदेखि अमेरिकामा बस्न थालेँ । ९ वर्षअघि म अमेरिका आउँदा न यहाँ तीज आएको थाहा हुन्थ्यो न त दसैँ न त तिहार । न त अन्य कुनै चाडवाड । नेपाली क्यालेन्डर मुस्किलले भेटिन्थ्यो । तर म आएको वर्षदेखि मेरै नेतृत्वमा अमेरिकामा हामीले तीजमा तीज महोत्सव, दसैँमा सांस्कृतिक कार्यक्रम, तिहारमा देउसी भैलो, नेपाली चाडवाड अनुसार नेपाली क्यालेन्डर अनुसार हामीले यहाँपनि नेपालमा जस्तै सांस्कृतिक अभियानहरु सुरु गर्‍यौँ । अमेरिकाका विभिन्न राज्य, सहर जहाँ जहाँ नेपाली बस्छन् सबैतिर कहिले म एकल सो लिएर पुगें, कहिले सामूहिक कार्यक्रम लिएर पुगें । अमेरिकामा स्थापित नेपाली सङ्घ संस्थाका वार्षिक भेला/सम्मेलन देखि पिकनिक सम्म हामी पहुँच बढाउँदै गयौँ । आज अमेरिकामा नेपालमा जस्तै वातावरण बनेकोछ, सांस्कृतिक माहौल पैदा भएको छ । अमेरिका र क्यानडा मात्र होइन संसारका ३४ देशमा पुगेर हामीले यसै प्रकारले कला,संस्कृति साहित्य,गीत सङ्गीतको माहौल बनाउँदै अगाडी बढीरहेका छौँ र नेपाल बाहिर पनि हामीले नेपाल स्थापना गरेको आभास दिएका छौँ ।

म अमेरिका आएकै वर्ष अमेरिकी सरकारको नियम कानुनको दायराभित्र रहेर हामीले अन्तर्राष्ट्रिय कलाकार मञ्च (www.iafamerica.com) स्थापना गरी कला, संस्कृति, गीत, सङ्गीत, साहित्यलाई टेवा दिन जुन अभियान सुरु गर्‍यौँ आज अन्तर्राष्ट्रिय कलाकार मञ्च संसारका ३२ देशहरूमा आफ्नो सञ्जाल बनाएर क्रियाशील रूपले लागिरहको छ । यो नै नेपाल बाहिर चलिरहेको र पहिलो नेपालीले नेतृत्व गरेको कलाकारहरूको अन्तर्राष्ट्रिय संस्था थियो त्यो बेला ।

हामीले स्थानीय रूपमा अरू संस्थाहरू पनि जन्माउँदै, सहयोग गर्दै, मिलेर अगाडि बढ्दै गयौँ । जस्तो कि अमेरिकामा “नेपाली अमेरिकन कलाकार सङ्घ” जन्मियो । हाम्रो मञ्चका उपाध्यक्ष यम बरालकै अध्यक्षतामा यो सङ्घ सुरु भयो । त्यस्तै अन्यत्र अरू सँग मिलेर काम गर्ने, कला, संस्कृति, गीत, सङ्गीत, साहित्यका लागि काम गर्ने काम गर्‍यो अन्तर्राष्ट्रिय कलाकार मञ्चले । यो विशुद्ध सामाजिक, सांस्कृतिक, मुनाफा रहित संस्था हो र सोही अनुसार काम गर्दै अगाडि बढिरहेको छ र बढिरहनेछ ।

यति राम्रा कुरा हुँदाहुँदै पनि अहिले पछिल्लो समयमा आएर नेपाल बाहिर अमेरिकामा होस् वा अन्य देशमा होस् यहाँ पनि नेपालको फोहोरी राजनीतिको प्रभावले समाज विभाजित हुन थाल्नु, “नेपाल र नेपाली ”भन्ने भावनाको सट्टा राजनीतिक पार्टी र तिनका भातृसंस्था,जातीय सङ्घ संस्था आदि आदि कुराले गीत, सङ्गीत, साहित्य, कला र संस्कृतिलाई पनि केही वाधा पुग्न थालेको देखिएको छ । यसका अलावा छाडा संस्कृति, गीत, सङ्गीत, कलाले पनि चाहिने भन्दा बढी स्थान लिईदिंदा झन् दुखद अवस्था सिर्जना हुन थालेका छन् देश बाहिर पनि । यी सबै कुरालाई दर्शक, श्रोता, कलाकार, हामी सबैले गंभीरतापूर्वक मनन गर्न सक्नुपर्दछ र यसका नराम्रा पक्षहरुलाई निरुत्साहित गर्दै राम्रा पक्षलाई अँगाल्न सकियो भने अवश्य हाम्रो नेपाली पहिचान बचाउन सकिनेछ । नेपाली संस्कृति, कला, गीत, सङ्गीत, साहित्य बचाउन सकिनेछ । यसका लागि हामी सबैमा चेत आउनु जरुरी भैसकेको छ ।

देश बाहिर अमेरिका होस् वा अन्य देशमा होस् जता बसेपनि हामीले हाम्रो कला संस्कृति, भाषा, साहित्य, गीत, सङ्गीतलाई भुल्यौं भने हाम्रा सन्ततिले भोलि हामीलाई पनि भुल्ने छन् । हाम्रा सन्तति र आफन्तजन बिचको पारस्परिक सम्बन्धको डोरी पनि चुँडिन सक्नेछ । हाम्रो पुस्तासँगै हामीले सबैकुरा गुमाउनुपर्ने पीडादायी अवस्था सिर्जना हुनसक्ने भएकोले यस विषयमा हामी सबैको ध्यानाकर्षण हुनु जरुरी छ ।

हामीले नेपाली संस्कृतिको जगेर्नाका लागि निम्नानसारका कुराहरू गर्न वान्छनिय छ:
१) घरमा छोराछोरीसँग बोल्दा नेपालीमा बोल्ने ।
२) घरमा फुर्सदको बेला नेपाली चलचित्र/ म्युजिक भिडियोहरु/ दकुमेन्ट्री सपरिवार हेर्ने ।
३) नेपाली गीत सङ्गीत सुन्ने /सुनाउने ।
४) नेपाली कार्यक्रममा सहभागी हुने ।
५) नेपाली समुदायसँग आतेजाते गर्ने वा सम्पर्क बढाउने ।
६) नेपाली चाडवाड/रिती रिवाज मान्ने मनाउने ।
७) नेपाली मिडियाहरु पत्रपत्रिका/अनलाइन पनि हेर्ने/हेर्न लगाउने ।
८) नेपाली कला, संस्कृतिको महत्त्व एवं विविध पक्षका बारेमा छोराछोरी बाबुआमा सँगै बसेर छलफल गर्ने वा गर्न लगाउने ।
९) सकेसम्म छिटो छिटो नेपाल जाने, आफन्तजन भेट्न लगाउने, बोलाउने, नेपाली
पोशाक लगाउने ।
१०)नेपाली कला, संस्कृति, गीत, सङ्गीत, साहित्य यावत पक्षहरुका बारेमा छोराछोरीसँग कुराकानी गर्ने/गराउने । चाडवाड रिती रिवाजको वैज्ञानिक ढङ्गबाट व्याख्या गर्ने, गराउने, पारिवारिक सामुदायिक बहस गर्ने/गराउने ।

माथि उल्लिखित १० बुँदा मात्र मनन गर्न सक्यौं भने हाम्रो कला, संस्कृति, समाज, आफ्नोपन लगायत हर कुरामा टेवा पुग्नेछ, मौलिकता बाँच्नेछ । छोराछोरी र बाबु आमाको त्यसै गरी देश बाहिर हुने र देशभित्र हुनेको दुरी बढ्न पाउने छैन । अन्तमा सम्पूर्ण देश विदेशमा छरिएर रहेका नेपालीहरुमा लोकगीत, दोहोरी गीत, कला, संस्कृति, मौलिकपन बचाई राखौं भन्ने सन्देश दिन चाहन्छु । नव वर्ष २०७४ को हार्दिक शुभकामना पनि । धन्यवाद ।

Published on April 17, 2017 at 9:10 pm

Loading...

यसमा तपाइको मत