अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:३२ | Colorodo: 18:47

हामी कुकुर हौँ साथी – कृष्णराज खनाल

बिआरटीनेपाल २०७३ पुष २८ गते २२:५४ मा प्रकाशित

जरुर साथी
हामी कुकुर हौँ
निरन्तर भुकिरहन्छौँ ।
किनकि भुक्नु हाम्रो धर्म हो ।
कुकुर आफ्नो धर्ममा हिँड्छ
आफ्नै धर्ममा बाँच्छ ।
अहित गर्नेहरुका लागि,
ठगहरुका लागि,
चोरहरुका लागि
कुकुर एक अभिषाप हुन्छ
र त उनीहरू ढुङ्गा बर्साउँछन् कुकुरमाथि !
कुृकुर कहिल्यै टेढिँदैन,
कसैको अहित गर्दैन,
कसैलाई टोक्दैन
जवसम्म चोर लुटेराहरु,

ठगहरु
उसको घरभित्र छिरेर
धनसम्पति लुट्दैनन्
उसको पसिनाको कमाइमा गिद्धेदृष्टि लगाउँदैनन् ।
त्यसैले त अहोरात्र कुकुरहरु जागा हुन्छन्
जनताका खातिर चौकिदारी गरिरहन्छन् ।
जाग्नु कुकुरको धर्म हो ।
तिम्रो आँखामा फुलो परेछ साथी
त्यसैले हामीलाई कुकुर देख्यौ
हो, हामी कुकुर हौँ
भुकिरहन्छौँ
भुक्नु हाम्रो धर्म हो ।
तिमीले जस्तो हामीले कहिल्यै निष्ठा खाएनौँ
कसैलाई झुक्याएनौँ,
न त विष्टा नै खायौँ
न कसैको श्रीसम्पतिमा रजाइँ हाल्यौँ
तिमीले जस्तो
न साल बसाल नयाँ गाडी फेर्न सक्यौँ,
न नयाँ घरबार जोड्न सक्यौँ,
न युरोप घुम्न सक्यौँ ।

किनकि हामी कुकुर हौँ
हाम्रो नियति यस्तै छ
हामी भुकिरहन्छौँ ।
हाम्रो घ्राणशक्ति तिम्रो भन्दा कडा छ
त्यसैले त हामी चोर चिन्न सक्छौँ,
फटाहा चिन्न सक्छौँ,
समाजसेवाको छद्म भेषमा
सेतो कोटभित्रको कालो मन भएकाहरुलाई
पनि चिन्न सक्छौँ ।
त्यसैले हामी कुकुर हौँ
जनतालाई जगाउन,
सुतेकालाई उठाउन
हामी निरन्तर भुकिरहन्छौँ ।
हाम्रो घरभित्र तिमी पस्दा
हामीले सानो औँला दिएका थियौँ
लालाबालाको गाँस काटेर
तिमीलाई मानो भरेकै थियौँ
तर तिमीले डुडुल्नो नै निलिदियौ ।
हाम्रै ढाडमाथि टेकेर हामीलाई बन्दुक तेस्र्यायौ ।

तिमीसँग हामीले कहिल्यै
यो र त्यो भनेर प्रश्न गरेनौँ
तर तिमीले दूर भविष्यको भ्रम दिएर
कमिसनको लोभमा
मित्रलाई घात गरेर
जलप लगाएको मुन्द्री बेच्यौ,
खोटो सिक्का बेच्यौँ
ठुला सपना देखाएर,
आकाशेखेतीमा हामीलाई रुँगाएर
आफ्नै मृत्यु कुर्न लगाएका छौँ प्रियतमालाई,
या उनकै मृत्यु कुरेर बसेका छौँ हामी
एकमुठी डलरको लोभमा !
थुक्क जिन्दगी !
त्यसैले साथी । हामी कुकुर हौँ
हामी भुकिरहन्छौँ । भुक्नु हाम्रो धर्म हो ।
किनकि हामी भुकेनौँ भने
तिमीले फेरि अरुहरुलाई
सुनको जलप लगाएर
सिलावरको मुन्द्री बेचिरहन्छौ, बेचिरहन्छौ ।

प्रतिक्रिया