विश्वकै सबैभन्दा धेरै पशुबलि दिइने मेलाको रूपमा प्रख्यात बाराको गढीमाईमा चलिरहेको मेलाबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले महत्त्वका साथ समाचार प्रकाशित गरिरहेका छन् । अमेरिकाको द न्यूयोर्क टाइम्सले शुक्रवार पशुबलि रोक्ने अभियन्ताका कारण गढीमाईमा पशुबलि कम हुँदै गएको शीर्षकमा लामो समाचार प्रकाशित गरेको छ ।
’केही वर्षयता बलि दिइने पशुहरूको संख्या उल्लेख्य रूपमा घटिरहेको छ,’ समाचारमा भनिएको छ । ’बलि दिने काम मज्जाको काम हो,’ एक हप्तामा ३० भन्दा बढी राँगाको बलि दिइसकेका राम आशिष दासको भनाई उदृत गर्दै समाचारमा लेखिएको छ, ’यदि यो प्रथा नै खराब हो भने किन यात्रा धेरै मान्छे आउँछन् त ?’
त्यस्तै चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मार्निङ पोस्टले विरोध हुँदा हुँदै पनि हजारौं पशुबलि दिइएको भन्दै समाचार प्रकाशित गरेको छ । ’भक्तजनहरूले खुकुरी नामको बांगीएको ठूलो चक्कु प्रयोग गरेर ३ हजार भन्दा बढी राँगाहरू बलि दिइसकेका छन्,’ समाचारमा भनिएको छ, ’बुधवारदेखि शुरू भएको बलि दिने काम आजसम्म पनि चलिरहेको छ ।’