अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१० | Colorodo: 09:25

न्यु योर्क ज्याक्सन हाइट्समा एभरेष्ट क्रेडिट युनियनको औपचारिक शुभारम्भ

बिआरटीनेपाल २०७६ असोज १९ गते ९:३० मा प्रकाशित

न्यु योर्क । अमेरिकामा नेपालीहरूले प्रवर्द्धन गरेको पहिलो सामुदायिक बैङ्क एभरेष्ट क्रेडिट युनियनको शनिवार (अक्टोबर ५ तारिख) औपचारिक उद्घाटन भएको छ । न्यु योर्क ज्याक्सन हाइट्स स्थित ७४–१८ ३७ रोडमा रहेको युनियनको मुख्यालयमा आयोजित एक समारोहमा फुलपातीको अवसर पारेर संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

क्रेडिट युनियनका अध्यक्ष डिल्ली भट्ट, प्रमुख व्यवस्थापक बिराज रिजाल, शेर्पा किदुगका अध्यक्ष उर्गेन शेर्पा र गैर आवासीय नेपाली सङ्घ अमेरिकाका पूर्व उपाध्यक्ष श्री पराजुलीले संयुक्त रूपमा रिबन काटेर संस्थाको औपचारिक शुभारम्भ गरेका थिए । कार्यक्रममा विभिन्न नेपाली सङ्घ संस्थाका पदाधिकारी, प्रतिनिधि एवं सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

संस्थाका कार्यालय व्यबथापक सुदर्शन कडरियाले ‘विक डे’ मा दैनिक बिहान साढे ९ बजे देखि साँझ ५ बजेसम्म सेवा दिने जानकारी दिए । साथै छिटै एटिएम सेवा सुरु गरी २४ सै घण्टा सेवा उपलब्ध गराउने उनले बताए । संस्थामा ५० डलरले खाता खोल्न सकिने जनाइएको छ । त्यसमध्ये आधा रकम संस्थाको सदस्यता शुल्क एवं आधा खाता ‘मेन्टेन’ शुल्कको रूपमा रहनेछ ।

प्रमुख व्यवस्थापक बिराज रिजालले तीन वर्ष देखिको निरन्तर प्रयास पछि संस्थाको मुख्यालय एवं पहिलो शाखा स्थापना गर्न सफल भएको बताए । ‘प्रबर्धकहरुले संस्था यो अवस्थासम्म ल्याउन अनवरत मेहनत गर्नुभयो, अब भने यो अमेरिकामा बस्ने सबै नेपालीको साझा संस्था बनेको छ, उनले भने– यसबाट यहाँ रहेका नेपाली व्यक्ति एवं सङ्घसंस्थाले भरपुर फाइदा लिन सक्नुपर्छ ।’

अध्यक्ष डिल्ली भट्टले संस्थाले अब नेपालीको बाक्लो उपस्थिति भएका टेक्सस, क्यालिफोर्निया, भर्जिनिया, मेरिल्यान्ड, मासाचुसेट्स लगायत राज्यहरूमा शाखा विस्तारलाई तीव्रता दिने बताए । एक वर्ष भित्र एक हजार सदस्यता विस्तार गरिसक्ने उद्देश्य लिएको उनले जानकारी दिए । यस्तै संस्थाले तीन वर्ष भित्र पाँच हजार सदस्य सङ्ख्या पुर्‍याउने लक्ष लिएको छ ।

संस्थामा बालबालिका बचत लगायतका भविश्यमूखी कार्यक्रमहरू पनि रहेको अध्यक्ष भट्टले जानकारी दिए । ‘कतिपयमा संस्थाले गरेको प्रगतिको लाभ प्रबद्र्धकहरुले मात्र लिन्छन् भन्ने बुझाइ रहेको समेत पाइएको छ, उनले भने– तर त्यसो होइन, अहिले आएर लगानी गर्ने हरेक सदस्यले प्रवर्द्धक बराबरकै सुविधा पाउने प्रस्ट गर्न चाहन्छौँ ।’ प्रतिशत शेयर २५ डलरका दरले संस्थाको शेयरमा लगानी गर्न पाइने उनले जानकारी दिए ।

अमेरिकामा सामुदायिक बैङ्कहरूको सङ्घीय नियामक नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसियुए)ले सन् २०१८ को पहिलो क्रेडिट युनियनको रूपमा गत वर्ष अगस्टमा एभरेस्टलाई लाइसेन्स दिएको थियो । कार्यालयका लागि उपयुक्त स्थान र भवनको खोजी, तयारी लगायतका व्यवस्थापकीय गृहकार्य सम्पन्न गरी संस्थाको औपचारिक उद्घाटन गरिएको हो ।

अमेरिकामा क्रेडिट युनियनहरूले आफ्ना सदस्य एवं शेयर धनीलाई विभिन्न प्रकारका वित्तीय सुविधा प्रदान गर्छन् । विभिन्न देशबाट आएका आप्रवासीहरूले आफ्नो जनसङ्ख्या एवं आर्थिक अवस्था सुधार हुँदै जाँदा अमेरिकामा क्रेडिट युनियन सञ्चालनमा ल्याउने गरेका छन् । यसै क्रममा नेपालीहरूले पहिलो क्रेडिट युनियनको रूपमा एभरेष्ट सञ्चालनको अनुमति पाएका हुन् ।

संस्थाले नियमित शेयर बिक्री, शेयर ड्राफ्ट एवं प्रमाणपत्र जारी, विभिन्न किसिमका कर्जा प्रवाह, मनी अर्डर, क्रेडिट कार्ड जारी, निक्षेप सङ्कलन लगायतका कारोबार सुरु गर्ने अनुमति पाएको छ ।

पाँच वर्षभित्रमा कम्तीमा १० शाखा र १० हजार निक्षेपकर्ता पुर्‍याइ कारोबार २० करोड अमेरिकी डलर नघाउने लक्ष लिएको सञ्चालक समितिका अध्यक्ष भट्टको भनाइ छ । कम्युनिटी बैङ्कको रूपमा क्रेडिट युनियनहरू गैर नाफा मूलक रहने र कर छुट समेत पाउने भएका कारण आफूहरूले निक्षेपकर्तालाई धेरै ब्याज र ऋणीलाई सस्तोमा कर्जा प्रवाह गर्ने उनको भनाइ छ ।

प्रतिक्रिया