अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:११ | Colorodo: 19:26

नेकपाले स्व.मदन भण्डारीका विचारलाई छाड्न मिल्दैन – अध्यक्ष ओली

बिआरटीनेपाल २०७६ जेठ ३ गते ५:२१ मा प्रकाशित

नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीका विचारलाई पार्टीले छाड्न नमिल्ने बताउनुभएको छ । २६ औं मदन आश्रित स्मृति दिवस एवं पार्टी एकता वार्षिकोत्सवका अवसरमा नेकपाद्वारा मदननगरमा आयोजित कार्यक्रममा बोल्दै उहाँले भण्डारीले अगाडि सारेका विचार र सोचकै कारण आज पार्टी बहुमतका साथ वर्तमान ठाउँमा रहेकाले उहाँको विचारलाई छाड्न नमिल्ने प्रष्ट पार्नुभयो ।

मदन भण्डारीले अगाडि सारेको जनताको वहुदलीय जनवाद विचारधारालाई पार्टीले नछाड्ने उल्लेख गर्दै अध्यक्ष ओलीले उक्त विचारलाई छाडेर कता जाने जाने ? भनी प्रश्न गर्नुभयो । यसबाट अगाडि बढ्ने कुरामा सबैलाई निश्चित रहन प्रधानमन्त्रीको आग्रह थियो ।

भण्डारीको विचारधाराले पार्टीको एकतालाई अझ खँदिलो समेत बनाउने उहाँको भनाइ थियो । अध्यक्ष ओलीले भण्डारीले अगाडि सारेको विचारलाई मन्त्र र शास्त्रका रुपमा नभई मार्गदर्शक सिद्धान्तका रुपमा लिनुपर्ने विचार पनि ब्यक्त गर्नुभयो ।

बिहीबार मात्र जनवर्गीय संगठनको एकता गरिएको भन्दै अध्यक्ष ओलीले पार्टी एकतालाई फराकिलो ढंगले लैजानुपर्नेमा जोड दिनुभयो । सानो चित्त पारेर र मन दुखाएर नभै फराकिलो मनले पार्टी एकता र एकीकरणको भावनालाई मिलाउनुपर्ने उहाको भनाई थियो । ओलीले दुई वैचारिक धारालाई मिलाएर एउटा पार्टी बनाइएको उल्लेख गर्दै त्यसलाई एक ठाउँमा अन्तरघुलित बनाउन अझै आवश्यक रहेको ठहर गर्नुभएको छ ।

पार्टी एकताका बाँकी काम केही दिनभित्र पूरा हुने उल्लेख गर्दै अध्यक्ष ओलीले महान् आन्दोलनमा लागेकाले नेकपाका लागि परिस्थिति चुनौतीपूर्ण रहेको र पराजित प्रतिक्रियावादीले यथास्थितिलाई भत्काउन खोजेको समेत बताउनुभयो । सरकार देश र जनताका पक्षमा दृढदापूर्वक लागेर काम गरिरहेको दावी गर्दै प्रधानमन्त्री ओलीले कहीँकतै कमजोरी भएमा तिनलाई सच्चाएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू