अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

गीतकार आनन्द राज खनालको गति सङ्ग्रह तिम्रो साथको विमोचन

बिआरटीनेपाल २०७६ वैशाख २२ गते १०:४१ मा प्रकाशित

नेपाल टेलिभिजनको झङ्कार लाइभ सो मार्फत गीतकार आनन्द राज खनालको गीतिसंग्रह “तिम्रो साथ” को हिजो वैशाख २१ गते शनिवार विमोचन सम्पन्न भएको छ । नेपाल सरकारका पूर्व सचिव तथा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाको प्रमुख आतिथ्यता र वरिष्ठ गीतकार प्राध्यापक डा. श्री कृष्णहरि बरालको विशेष आथित्यता साथै वरिष्ठ सङ्गीतकार तथा रोयल्टी सङ्कलन समाज नेपालका अध्यक्ष श्री महेश खड्काको उपस्थितिमा सो गीति सङ्ग्रहको विमोचन कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा यसै गीति सङ्ग्रहमा आफ्नो स्वर र सङ्गीत दिनुभएका श्रष्टाहरू सङ्गीता राना प्रधान, सरिता मिश्र, आशिष् अविरल, भरत सिटौला र बानिका प्रधानको उपस्थिति रहेको थियो । यस गीति सङ्ग्रहमा-तिमीलाई मन पराएँ, बोल्न मन लाग्दो रैछ, सम्झनामा नआऊ तिमी (महिला तथा पुरुष आवाजमा), मनै लोभ्याउने गरी ५ वटा गीतहरू समावेश छन् । यो गीति सङ्ग्रहको बजार व्यवस्थापन बिन्दवासिनी म्युजिक प्रा.ली. ले गरेको छ । 

तनहुँ जिल्लाको दमौलीमा जन्मे हुर्केका आनन्द राज खनालले कक्षा सात सम्मको शिक्षा दमौलीबाटै प्राप्त गरे पनि त्यसपछि आइ एस्सी सम्मको शिक्षा भने काठमाडौबाट पुरा गरेका हुन् । विद्यालय पढ्दा उनी कहिल्यै दोस्रो भएनन् ।आइ एस्सी मा बोर्ड फिफ्थ । घरमा भएको सानो रेडियोबाट मान्छेको आवाज कसरी आउँछ ? टेलिभिजनमा मान्छे नै देखिने गरी श्रव्यदृष्य सामाग्री कसरी आउँछ ?, टेलिफोनमा मान्छेले कुरा गरेको त्यति टाढा कसरी सुनिन्छ? यस्ता प्रश्नले उनको मथिङ्गल हल्लियो।पछि थाहा पाए त्यो बुझ्न र त्यस्तै बनाउने जान्न इलेक्ट्रोनिक्स कम्युनिकेसन इन्जिनियरिङ पढ्नु पर्छ । उनको मनमा त्यो कुरा गहिरो गरी बस्यो। पाकिस्तान सरकार को छात्रवृत्ति पाएर पहिला उनी पाकिस्तान गए।बिच मै छाडेर कोलम्बो प्लानको छात्रवृत्तिमा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ पढ्न उनी भारतको कर्नाटका गए ।

अध्यापन उनको रुचि र अनुरागको विषय थियो।सन् १९९६ मा स्नातक गरेका खनालले काठमाडौँ विश्वविद्यालयमा अध्यापन सुरु गरे।काठमाडौँ विश्वविद्यालय कै छात्रवृत्ति पाएर अन्ना विश्वविद्यालय चेन्नई बाट अप्टिकल कम्युनिकेसनमा स्नातकोत्तर गरे। कानुनको स्नातक(एल एल बी) मा खनाल गोल्ड मेडलिस्ट हुन् ।

सन् १९९७ देखि विश्वविद्यालयहरूमा निरन्तर अध्यापनमा संलग्न खनाल हाल नेपाल दूरसञ्चार प्राधिकरणमा वरिष्ठ निर्देशक छन् । उनी सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा नीति,कानुन,नियमन-प्रारुप निर्माण, समग्र सामाजिक आर्थिक विकासका लागि प्रविधिको प्रयोगको क्षेत्रमा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय मञ्चहरूमा क्रियाशील छन् ।कामको सिलसिलामा धेरै मुलुकमा भएका कार्यक्रममा उनले कार्यपत्रहरू प्रस्तुत गरेका छन्| वक्ताका रूपमा वा कुनै सत्रको अध्यक्ष भएर वा प्यानल मोडरेटरको रूपमा वा प्यान लिस्ट –उनी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा विविध भूमिकामा रहन्छन् । उनको दक्षता,विज्ञता साथै यस क्षेत्रको समग्र विकास प्रतिको लगन,प्रतिबद्धता र योगदानलाई कदर गर्दै विश्व दूर सञ्चार विकास सम्मेलनले उनलाई सन् २०१४ मा अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको विकास ब्युरो अन्तरगत अध्ययन समूहको उपाध्यक्षमा चुनेको थियो भने सन् २०१७ मा त्यसै पदमा उनी पुन छानिएका छन् | उनलाई संयुक्त राष्ट्र सङ्घका महासचिवले सन् २०१९ का लागि इन्टरनेट गभर्नेन्स फोरमको बहु सरोकारवाला समूहको सदस्यमा नियुक्त गरेका छन् ।

दक्षिण भारतको लामो बसाइ सँगै उनले पूर्वीय दर्शन र अध्यात्मको जानकारी मात्रै लिएर आएनन् त्यस प्रतिको गहिरो रुचि र अनुराग पनि सँगै लिएर आए। विभिन्न सद गुरु हरू बाट ध्यान सिकेका खनाल पछिल्लो समयमा बौद्धिक र मानसिक रूपमा काम,क्रोध,लोभ, मोह, मद ,मात्सर्य जस्ता मानवीय गुणबाट पार नपाउँदा सम्म आँखा चिम्लेर ध्यान गर्नुको अर्थ नभएको निष्कर्षमा पुगेको बताउँछन् ।हरपल सचेत भएर सांसारिक अनित्यताको बोध गर्दै निमित्त भावले आशक्तिरहित कर्म गर्नाले सुख मिल्ने उनको अनुभव छ।यही कुरा कक्षा कोठामा वा छलफल हुँदा भन्ने गर्छन् । खनालको सूचना तथा सञ्चार प्रविधि,साहित्य,सङ्गीत, पूर्वीय दर्शन र अध्यात्म जस्ता विविध विषयमा उनका धेरै लेख रचनाहरू प्रकाशित छन् । प्रत्येक दिन आफ्नो फेस बुकमा भगबद्गीताको एक श्लोकको भावार्थ अनुवाद गरी पोस्ट गर्दै गर्दा यही दुई वर्ष मा उनले पुरै गीता अनुवाद गरी सकेका छन् भने अब उपनिषद को अनुवादमा लागेका छन्|

उनले गीत लेख्न थालेको भने धेरै भएको छैन ।करिब दुई वर्ष अघिदेखि मात्र उनको यस क्षेत्रमा प्रवेश भएको हो। प्राध्यापक डाक्टर कृष्ण हरि बराल लिखित –“गीत कसरी लेख्ने” पुस्तक प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनीमा देखेर किनी गीत लेख्न हौसिएका खनालले आशिष् अविरलले सङ्गीत गरेको पहिलो गीत “तिमीलाई मन पराएँ” रेकर्ड भए पछि पछाडि फर्केर हेरेनन्।कोर्दै गए। सिक्दै,लेख्दै गर्दा २०० भन्दा बढी गीत रचना गरी सकेका खनालको यो पहिलो गीति सङ्ग्रह हो। यस सङ्ग्रहमा उनको पूर्ण आस्था र प्रेममा समर्पित गीत देखि वियोग झल्काउने, र अप्ठेरो परिस्थितिमा गरिने प्रेम सम्मका गीत संग्रहित छन् ।कयौँ श्रोताले उनका गीतमा आफ्नो अनुभूति समेटिएको अनुभव गरेका छन् । यी गीतका शब्द, सङ्गीत र सङ्गीत संयोजन तथा गायकीबाट यो गीतकारको पहिलो गीति सङ्ग्रह हो भनेर पत्यार नलाग्न सक्छ।यस अर्थमा गीतकार सफल देखिन्छन् ।

प्रतिक्रिया