अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:४३ | Colorodo: 00:58

मधेश र थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकार तयार, संसद सुचारु गर्न राजपा सहमत

बिआरटीनेपाल २०७५ चैत ४ गते ९:२६ मा प्रकाशित

सरकारले यथाशीघ्र मधेश र थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ । टीकापुर घटनाबारे सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा नेपालले लगातार प्रतिनिधिसभाको बैठक अवरोध गरेपछि सरकारको तर्फवाट आज कानुन,न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले लाल नेतृत्वको कार्यदलको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको हो ।

राजपाले संसद बैठक अबरुद्ध गरेपछि सभामुख कृष्णबहादुर महराले प्रतिवेदनको विषय पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आउनुभएको थियो । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेसम्म बैठक चल्न नदिन भन्दै आजको बैठक पनि राजपाले अवरोध गरेको थियो ।

राजपाको अवरोधपछि सभामुख महराले आजको बैठक १० मिनेटका लागि स्थगित गर्नुभएको थियो । यसपछि सरकारका तर्फवाट उपप्रधानन्त्री ईश्वर पोखरेलले कानुनमन्त्री ढकाल,नेकपा नेता सुवास नेम्बाङ,राजपाका सांसदसहित संसद बैठक सूचारु गर्न छलफल गर्नुभएको थियो ।

छलफलमा सरकारले प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएपछि राजपा अवरुद्ध संसद बैठक सुचारु गर्न सहमत भएको हो । यसैबीच, प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावली अनुसार प्रधानमन्त्रीसंग प्रश्नोत्तरको कार्यक्रम गर्न माग गरेको छ । नेपाली कांग्रेसको माग पछि सभामुख महराले संसदको विधि र प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू