अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

चर्चित गायिका विष्णु माझी सार्वजनिक, ११ वर्षपछि परिवारसंग भेट

बिआरटीनेपाल २०७५ पुष २२ गते ७:५९ मा प्रकाशित

विगत ११ वर्षदेखि गुमनाम चर्चित लोक गायिका विष्णु माझी सार्वजनिक हुनुभएको छ । माझी आफ्ना पति गायक सुन्दरमणि अधिकारी सहित आइतबार जिल्ला प्रहरी कार्यालय स्याङजामा सार्वजनिक हुनुभएको हो ।

गायिका माझी गुमनाम रहेको समाचार विभिन्न संचारमाध्यममा प्रकाशित भएपछि स्याङजाका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको निर्देशनपछि एसपी राजकुमार लम्सालको सक्रियतामा माझी दम्पती जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक भएको जनाईएको छ ।

विष्णु र सुन्दरमणि सार्वजनिक भएसंगै विष्णुकी बहिनी जीवन, दाजु बाबुराम, बाबु ताराबहादुर र आमा धर्मकुमारी पनि सँगै प्रहरी कार्यालयमा गएको बताईएको छ । एसपी लम्सालले सुन्दरमणिको फोन नम्बर खोजेर सम्पर्क गरेपछि उनीहरू प्रहरी कार्यालय आएका थिए । यसअघि, गुमनाम जस्तै वनेपछि कतिपय सञ्चारमाध्यमले माझीलाई सुन्दरमणिले बन्धक बनाएको आशङ्कासमेत गरेका थिए ।

प्रहरी कार्यालयमा विष्णु, सुन्दरमणि र विष्णुको परिवारसँग प्रजिअ निरौला, एसपी लम्साल, प्रमुख प्रशासकीय अधिकृत यादवराज शर्मा र राष्ट्रिय अनुसन्धान प्रमुख रोशन केसीसहितले छलफल गरेका थिए । सुन्दरमणिसँगै बसेका विष्णुले छलफलमा थोरै मात्र बोलेको र प्रश्नहरूको उत्तर सुन्दरमणिले नै दिएको बताइएको छ ।

छलफलका क्रममा गायक सुन्दरमणिले आफ्नो छुट्टै एउटा लक्ष्य भएकाले सार्वजनिक नभएको बताउनुभएको थियो । सुन्दरमणिले अन्तरजातीय विवाहमा छुटाउन खोजेकाले गुमनाम जस्तै हुनुपरेको बताएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जानकारी दिएको छ ।

विदेश यात्रामा माझीलाई किन नगएको भन्ने प्रश्नमा सुन्दरमणिले विष्णुलाई मात्र विदेश यात्राको अफर आउने र आफूलाई पनि लैजाऊ भन्दा नलग्ने भएकाले नगएको बताउनुभएको थियो । “कतिपयले त विष्णुलाई मात्र अमेरिका लैजान्छु भने, मैले विष्णुसँग म पनि जान खोजेँ । लैजाने भए दुवै जनालाई लैजाऊ भने तर, मलाई कसैले लैजान खोजेनन् । उनी सामान्य लेखपढ गरेकी केटी हुन् । बोल्न जान्दिनन् । लेख्न, पढ्न पनि जान्दिनन् । बाहिर फेस गर्न नसक्ने भएकाले म सँगै जान खोजेको थिएँ। र, एक्लै पठाइनँ” सुन्दरमणिको भनाइलाई उद्धृत गर्दै एसपी लम्सालले बताउनुभयो ।

प्रतिक्रिया