अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०६ | Colorodo: 07:21

शुक्रवारदेखि पोखरा सडक महोत्सव शुरु हुँदै

बिआरटीनेपाल २०७५ पुष १२ गते ८:३० मा प्रकाशित

अंग्रेजी नयाँ वर्षको अवसरमा शुक्रबारदेखि पोखरा सडक महोत्सव शुरु हुँदैछ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराको आयोजनामा भोलीदेखि पुस १७ गतेसम्म अर्थात अंग्रेजी डिसेम्बर २८ देखी जनवरी १ सम्म महोत्सव हुनेछ । बुधबार पोखरामा पत्रकार सम्मेलन गरी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको रेवान पोखराका अध्यक्ष बुधराज भुजेलले जानकारी दिनुभयो ।

महोत्सवबाट आन्तरिक तथा वाहृय पर्यटन प्रबद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीहरुको संरक्षणको उद्देश्य राखिएको छ । ‘सडकमै खाऔं, सडकमै नाचौं र सडकमै रमाऔं’ भन्ने नाराका साथ महोत्सवको आयोजना गरिएको हो ।

पोखराको शहिदचोकदेखि खहरे डिहिकोपाटनसम्म करीब साढे तीन किलोमिटर क्षेत्रको सडकमा महोत्सव हुने आयोजक संस्था रेबानले जनाएको छ । महोत्सवमा सडकमै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाका परिकारहरु, विभिन्न मनोरञ्जनात्मक खेलकुदका कार्यक्रमहरु, हस्तकला प्रदर्शनी, साहसिक पर्यटक खेलकुद, वृत्तचित्र प्रदर्शनी, वाल उद्यानलगायत आकर्षणका रुपमा रहने भुजेलले जानकारी दिनुभयो ।

महोत्सवमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय सांस्कृतिक कार्यक्रम विशेष आकर्षणका रुपमा रहनेछन् भने नयाँ बर्षको दिन नयाँ बषएको स्वागतमा ‘न्यू इयर इभ’ विशेष कार्यक्रम आयोजना गरिनेछ । महोत्सवमा देशका सातै प्रदेशका पहिचान झल्कने सांस्कृतिक टोलीका साथै भारत, पाकिस्तान र चीनको सांस्कृतिक टोलीले पनि विशेष प्रस्तुती दिने सांस्कृतिक उपसमितिका संयोजक चौ बहादुर गुरुङले जानकारी दिनुभयो ।

आयोजकका अनुसार ख्यातिप्राप्त कलाकारहरुको लोक संस्कृतिमा आधारित दोहोरी, हास्य प्रहसन र साँझमा लाइभ कन्सर्ट आयोजना हुनेछ । यसपटक गाडीमा मिनि स्टेज बनाएर सडकमा समेत लाइभ कन्सर्ट आयोजना गरिने आयोजकले जनाएको छ ।

महोत्सवको अवसरमा पर्यटक दौड प्रतियोगिता, डुंगा खियाउने प्रतियोगिता, खुल्ला दौड प्रतियोगिता, रेष्टुरेण्टका कर्मचारीबीच ट्रे रेस प्रतियोगिता लगायतका खेलकुदका कार्यक्रम समेत समावेश गरिने रेबान पोखराका अध्यक्ष बुधराज भुजेल(भीमसेन)ले जानकारी दिनुभयो ।

 

पोखराका दर्शकलाई पैदल नै सहभागी हुन आग्रह

यसैबीच रेबानले पोखराका सडक महोत्सवको विशेष महत्वको दिन नयाँ बर्षको दिन आफ्ना सवारी साधन घरमै राखिदिन आग्रह गरेको छ । महोत्सवका दिन तनहुँ, पर्वत, स्याङ्जा, लमजुङ, बाग्लुङ, चितवन, काठमाण्डौं, धरान बुटवल लगायतका स्थानबाट पर्यटकहरु आउने भएकाले नयाँ बर्षको स्वागत गर्ने दिनमा भने पोखराका दर्शकहरुले पैदलयात्रा मार्फत् नै महोत्सव अवलोकन गरिदिएमा ट्राफिक व्यवस्थापन सहज हुने रेबानका पूर्व अध्यक्ष सुर्यबहादुर भुजेलको भनाई छ । सार्वजनिक यातायातको व्यवस्थापन मिलाइएकाले विशेष गरी पोखराका दर्शकहरुले नयाँ बर्षको एक दिन निजी सवारी साधन प्रयोग नगरिदिएमा सबैलाई सहज हुने उहाँको भनाई रहेको छ ।

आतिसबाजी गर्न अदालतको रोक

उच्च अदालत पोखराले नयाँ बर्षमा आतिसबाजी नगर्न आदेश जारी गरेको छ । बुधबार भएको बहसपछि ध्वनी प्रदुषणका कारण धेरै जीवजन्तुलाई असर गरेको र वातावरणीय प्रभाव परेको भन्दै आतिसबाजी र पटका नपड्काउन आदेश दिएको हो ।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष रामबहादुर पौडेलको उजुरीमा यस्तो फैसला गरिएको हो । बुधबार भएको पत्रकार सम्मेलनमा रेवानले पनि अदालतको आदेश स्वीकार गर्ने बताएको थियो । आयोजकले आतिसबाजी हेर्नकै लागि हजारौं मानिस न्यू इभका दिन महोत्सव स्थल आउँने बताउँदै सकारात्मक फैसला आउने अपेक्षा गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू