अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३४ | Colorodo: 08:49

निर्वाचनपछि पर्यटक आगमनमा उत्साहजनक वृद्धि, ११ महिनामै १० लाख पर्यटक आए

बिआरटीनेपाल २०७५ मंसिर २७ गते ८:३४ मा प्रकाशित

संसदीय निर्वाचनपछि देश स्थिरतामा जान थालेपछि पर्यटकको सख्या पनि बढ्न थालेका छन् । अंग्रेजी महिनाको शुरुवाति ११ महिनामा दश लाख बढि पर्यटक भित्रिएका छन् । यतिको सख्यामा पर्यटक भित्रिएपछि स्वयम पर्यटन बोर्ड, व्यवसायीहरुले खुशी प्रकट गरेका छन् । नेपालमा पर्यटक आगमन १० लाख नाघेको छ। सन् २०१८ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामै १० लाख एक हजार ९३० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको हो। गत वर्षको ११ महिनामा नेपालमा ८ लाख ५७ हजार २ सय ५२ जना पर्यटक आएका थिए ।

तथ्यांक अनुसार यो संख्याको पर्यटक आगमन हालसम्मकै बढी हो । यो वर्षको डिसेम्बरको तथ्यांकले पर्यटक आगमन करिब एक लाख बढ्ने अनुमान गरिएको छ । गत वर्षको डिसेम्बरमा नेपालमा ८२ हजार ९ सय ६६ जना पर्यटक नेपाल आएका थिए । यो सहित गत वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए। यही तथ्यांक अनुसार पर्यटक आगमन दर बढेमा यो वर्षको पर्यटक आगमन करिब ११ लाख पुग्ने भएको छ। सन् २०१८ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय पर्यटक छन् ।

हालसम्म नेपालमा १ लाख ७८ हजार १३० जना भारतीय पर्यटक नेपाल भित्रिसकेका छन् । भारतीय पर्यटकको नेपाल आगमन गत वर्षको नोभेम्बरसम्मको तुलनामा यो वर्षको सोही अवधिसम्मा २३ प्रतिशतले भारतीय पर्यटक बढेको उल्लेख छ । गत वर्षको नोभेम्बरसम्ममा नेपालमा १ लाख ४४ हजार ३७९ जना पर्यटक नेपाल आएका थिए। नेपालको पर्यटन प्रवद्र्धनको प्राथमिकतामा परेको भारतपछिको दोस्रो छिमेकी गन्तव्य चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल आएका छन् । चीनबाट आउने पर्यटकको आगमन दर गत वर्षको तुलनामा ४३ प्रतिशतले बढी हो ।

यस्तै पर्यटक धेरै भित्रने तेस्रो देशमा अमेरिका रहेको छ । अमेरिकाबाट सन् २०१७ मा ७३ हजार ६५० जना पर्यटक भित्रिएकामा यो वर्ष १२ प्रतिशतले बढेर ९८ हजार ६४६ जना नेपाल आएको उल्लेख छ। यस्तै चौथौ गन्तव्यमा बेलायत र पाँचौमा जर्मनी रहेको छ ।

बेलायतबाट सन् २०१८ मा ५७ हजार ५५५ जना पर्यटक आएकामा गत वर्ष यस्तो संख्या ५० हजार ६५२ जना रहेको थियो । जर्मनीबाट भने सन् २०१७ मा २८ हजार ७०२ जना पर्यटक नेपाल आएकामा सन् २०१८ मा यो संख्यामा २० प्रतिशतले बढेर ३४ हजार ४७९ जना आएको उल्लेख छ । समग्रमा सन् २०१७ को ११ महिनाको तुलनामा २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १६.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू