अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०९ | Colorodo: 19:24

पाराग्लाइडिङ विश्वकपमा १५ राष्ट्र सहभागी हुने

बिआरटीनेपाल २०७५ असोज २९ गते ९:३० मा प्रकाशित

गण्डकी प्रदेश अन्तर्गत स्याङ्जा जिल्लाको पर्यटकीय ठाउँ स्वरेकमा हुने ‘नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप–२०१८ मा नेपाल सहित १५ राष्ट्र सहभागी हुने भएका छन् । प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरविया, सिङ्गापुर, इन्डोनेसिया, मलेसिया, मङ्गोलिया, भारत, पाकिस्तान र इरानको सहभागिता रहने आयोजकले जनाएको छ ।

नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुन लागेको हो । प्रतियोगिता स्याङ्जाको स्वरेक महापुर मैदान र डौंवफाँटमा कार्तिक १५ देखि १९ गतेसम्म हुनेछ ।

प्रतियोगिता सफल पार्न स्याङ्जा जिल्ला समयन्य समिति प्रमुख सीता सुन्दास को संयोजकत्वमा सबै स्थानीय तहका प्रमुख रहेको व्यवस्थापन समिति गठन गरिएको छ । आवश्यक तयारी भइरहेको , बाबु एड्भेन्चर क्लब स्याङ्जाका संचालक सानुबाबु सुनुवारले जानकारी दिनुभयो ।

प्रतियोगिताले पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णपदकका लागि प्रतिस्पर्धा हुँदैछ । टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुषतर्फ ५ र महिलातर्फ ३ खेलाडीको समूह हुनेछ । प्रतियोगितामा प्रत्येक समूह तथा व्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नुपर्नेछ । छ चरणको अङ्कलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिनेछ ।

प्रतियोगिताका विजयी टोलीले प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १ हजार ५००, १ हजार २०० र ७०० युरो प्राप्त गर्नेछन् भने व्यक्तिगत विधातर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः एक हजार, ७५० र ५०० युरो प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताका लागि रु एक करोड ६० लाख खर्च लाग्ने अनुमान आयोजकको रहेको छ ।

हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पाराग्लाइडिङमा नेपालले एक मात्र रजत पदक जितेर पदकविहीन हुनबाट बचेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू