ललितपुर, ललितपुरको यूएन पार्कमा गोली चलेको छ । प्रहरीको अपराध अनुसन्धान महाशाखाबाट खटिएको विशेष टोलीसँगको मुठभेडमा काभ्रेली समूहका गुन्डा अशोक लामा घाइते भएका छन् । विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका लामालाई प्रहरीले गोली हानेको हो ।
युएन पार्क नजिकै पक्राउ गर्न खोज्दा भागेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाले जनाएको छ । लामाको खुट्टामा गोली लागेको छ । उनलाई उपचारका लागि वीर अस्ताल पुर्याइएको छ ।
महाशाखाले उनी काभ्रेली समूहका गुन्डा नाइके दावा लामाको सहयोगी भएको बताएको छ । उनको साथबाट एक थान पिस्तोल र दुई राउन्ड गोली समेत बरामद भएको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।
लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरूलाई धम्क्याउँदै आएका थिए । उनीसँगै रहेका २ जना भने भागेको प्रहरीले जनाएको छ ।