अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

विश्वमा सूचना प्रविधिको विकास तीव्र भए पनि सरकार भने पछि पर्दै

बिआरटीनेपाल २०८१ वैशाख २० गते ७:३३ मा प्रकाशित

सरकारले सूचना प्रविधिमा नागरिकको सरल र सहज पहुँच सुनिश्चित गर्दै राष्ट्रिय विकासमा सूचना प्रविधिको उपयोग बढाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन सुस्त रहेको छ ।शासन, विकास र सेवा प्रवाहका विविध आयामहरूलाई सूचना तथा सञ्चार प्रविधिसँग आबद्ध गर्दै विकास, समृद्धि र सामाजिक न्याय हासिल गर्न सरकारले जोड दिएको दाबी गरेको छ । तर निजी क्षेत्रले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य फड्को मार्दा सरकार भने पछि परेको छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवम् प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको दाबी गरेको छ । तर विश्वमा प्रयोग हुँदै आएका कृत्रिम बाैद्धिकता अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई), क्लाउड कम्प्युटिङ, आईओटी, ब्लकचेन जस्ता नयाँ तथा परिवर्तनकारी प्रविधिको विकास र विस्तारमा सरकारको चासो छैन । संसारका कैयौँ देशले एआईको विकास र विस्तारमा ठूला योजना र अर्बाैँ डलर लगानी गरिरहँदा नेपाल सरकारले भने एआईको क्षेत्रमा अहिलेसम्म न कुनै लगानी गरेको छ, न त योजना नै बनाएको छ ।

विशेष गरेर कृषि, शिक्षा, स्वास्थ्य र सुरक्षामा एआईको महत्त्व र प्रयोग बढ्दै गएको छ । एआईका कारण काममा तीव्रता, सरलता, मानवीय संलग्नता कम गरेर लागत घटाउन सकिने, प्रतिफल बढाउन सकिने लगायतका फाइदा छन् । तर सरकारले भने यो विषयमा हात हाल्न सकेको छैन ।यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा नवप्रवर्तन कोष स्थापनाको व्यवस्था गरिने बताउनुभएको छ । सातौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज काठमाण्डाैमा भएको कार्यक्रममा उहाँले नवप्रवर्तन कोष स्थापनाका लागि आवश्यक कानुन तर्जुमाको गृहकार्य शुरु गरिएको जानकारी दिनुभयो  ।

प्रधानमन्त्रीले देशभित्रै केही गर्न चाहने युवाका निम्ति नयाँ अवसर सिर्जना गरिने स्पष्ट बताउनुभयो । सूचना–प्रविधिलाई ‘लिडिङ फ्याक्टर’ अर्थात् मुख्य तत्त्वका रूपमा स्वीकार गरेर मात्र विकास, सुशासन र रोजगारीमार्फत समृद्धि हासिल गर्न सकिने उहाँको भनाइ छ ।यस्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले युवा वर्गमा पनि सञ्चार तथा सूचना प्रविधिको अधिकतम उपयोग गरेर राष्ट्रलाई विकासको बाटोमा अग्रसर गराउन सकिन्छ भन्ने विश्वास लगाउन आवश्यक रहेको बताउनुभएको छ । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । देशमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू