अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२३ | Colorodo: 07:38

विद्यालयको लुट, अभिभावकको बाध्यता र विद्यार्थीको अन्योल भविष्यको जिम्मेवार को ?

उत्तम पौडेल २०७४ चैत २८ गते ९:१९ मा प्रकाशित

धन भन्दा विद्या ठुलो भन्ने कुरा स्कुल पढ्दा वादविवाद प्रतियोगितामा धेरै विद्यार्थी पढ्दै र घोक्दै आएको विषय हो | प्राय गरेर धन भन्दा विद्या ठुलो भन्ने विषयमा बोल्न सबैले मन पराउँछन् | तर जब त्यही बच्चा हुर्किँदै जान्छ उसले विद्या भन्दा धन ठुलो भन्ने सोच्न थाल्छ किनकि धन को कारण उसले भविष्य निर्धारण गर्ने शिक्षा बाट बन्चित हुनुपर्छ | जति जति नेपालमा प्राइवेट विद्यालयको संख्यात्मक वृद्धि हुँदै गयो त्यति त्यति गुणस्तरिय शिक्षा मा ह्रास आउँदै गएको छ | पछिलो समय गुणस्तरिय शिक्षामा भन्दा व्यावसायिक शिक्षामा सबैको ध्यान केन्द्रित भएको छ | विद्यालय व्यवसाय बनेका छन् | गुणस्तरमा भन्दा संख्यात्मक हिसाबले विद्यालयको वृद्धि हुँदै आएको छ | आयस्रोत र मुनाफाको हिसाबले विद्यालय सञ्चालन गर्नेहरुको लहर चलेको छ | नेपाल सरकार ,अनुगमन गर्ने निकाय र विद्यालय बिच पछिल्लो समय यस्तो तालमेल भएको छ कि अभिभावक र विद्यार्थी टुलुटुलु हेर्दै बस्न र विद्यालयको मनलाग्दी सहन बाध्य भएका छन् | 

पोखराका नाम चलेका देखि नचलेका प्राय सबै विद्यालयहरू विद्यार्थी र अभिभावकलाई आर्थिक रूपमा शोषण गर्दै आइरहेको पोखराबासीको गुनासो रहेको छ | पछिल्लो समय शुल्क र भर्नाको विषयलाई लिएर अभिभावक निकै नै आतंकित भएका छन् | लगातार पढ्दै गरेका विद्यार्थीसँग हरेक वर्ष भर्ना गर्न बाध्य बनाउने प्रवृत्तिले अभिभावक मारमा परेका छन् | अतिरिक्त शुल्क को नाममा गरिने व्यापार , बच्चालाई विद्यालयमा गरिने व्यवहार र बच्चाको मनस्थितिमा पर्ने बोझ साथै स्तरिय शिक्षा को कमीले बच्चा र अभिभावकको लगानी बालुवामा पानी हाले जस्तै बन्न पुगेको उनीहरूको ठहर छ |

१ ) हरेक वर्ष भर्ना गर्नु पर्ने परिपाटीले अभिभावकलाई आर्थिक भार पर्ने गुनासो अभिभावकको छ भने विद्यालयले यसमा कुनै प्रतिक्रिया दिने गरेको छैन | सहियौ विद्यार्थीको हरेक वर्ष भर्ना प्रक्रिया अन्तर्गत लाखौँ रुपैयाँ विद्यालयले असुल्ने गरेका छन् | पोखराका हरेक विद्यालयले भर्नाको नाममा गरिरहेको लुट सम्बन्धित निकायलाई थाहा हुँदा हुँदै पनि सम्बन्धित निकाय मौन रहनुले बिधालय र सम्बन्धित निकायको मिलेमतो छ भन्न सकिन्छ |

२ ) प्रकाशन गृह र विद्यालयको मिलेमतोमा लुट को खेती भइरहेको आरोप अभिभावकले लगाएका छन् भने स्थानीय प्रशासन र सम्बन्धित निकाय मौन रहेको पनि उनीहरूको गुनासो रहेको छ | विद्यालयले आफ्ना विद्यार्थीलाई आफूले तोकेकै पुस्तक पसलमा तोकिएकै प्रकाशन गृहका किताब कपि किन्नु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना गरिदिएका हुनाले विद्यार्थी र अभिभावकले चर्को मूल्यमा किताब कपि किन्नु परेको र त्यस बापत कमिसन विद्यालय र पसलेले खाने गरेको पनि अभिभावक बताउँछन् |

३ ) ड्रेस पनि विद्यालयले तोकेकै ठाउँमा किन्नु पर्ने अर्को बाध्यात्मक स्थिति सिर्जना गरिदिएकोले पनि अभिभावकले आक्रोस व्यक्त गरेका छन् |

४ ) अनुगमन गर्ने सम्बन्धित निकायले अनुगमन गरे जस्तो गर्ने तर सबै पक्ष सँग मिलेर अनुगमनलाई प्रभावित पार्ने गरेको गुनासो पनि अभिभावकले गरेका छन् |

५) शैक्षिक क्षेत्र जस्तो पवित्र क्षेत्र भित्र कमिसन र मनपरी गरिँदा पनि राज्य पक्ष चुप चाप बस्नुले नेपालको शैक्षिक क्षेत्र भित्र माफिया तन्त्र बढ्दै गएको पनि पीडित अभिभावकहरूले गुनासो गरेका छन् |

विद्यालय र प्रकाशन गृहको सिन्डिकेटका कारण नेपाल अधिराज्य भरिका प्राय सबै जसो शैक्षिक क्षेत्र प्रभावित बन्ने गरेका छन् | नागरिक समाजले बेला बेलामा विज्ञप्ति निकाले पनि कागजमा मात्र सीमित हुने गर्दछ | अनुगमनको नाममा राज्यका सम्बन्धित निकाय २/४ दिन बहाना बाजी गरेर मौन बस्ने गरेको पनि पीडितहरूको गुनासो रहेको छ | यसरीनै शैक्षिक क्षेत्र जस्तो पवित्र क्षेत्रमा सिन्डिकेट बढ्दै जाने हो भने सुनौलो भविष्यको परिकल्पना गर्ने बच्चा बच्ची र उनीहरूका अभिभावकले सफल र सम्बृद्ध भविष्यको सपना देख्न सक्दैनन् | त्यसैले जिम्मेवार निकाय हरू चुप लगेर बस्नु भन्दा आजै समस्याको समाधान खोज्न तिर लाग्ने कि ?

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू