अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२२ | Colorodo: 06:37

मूर्तिकार बराइलीको राष्ट्रलाई हजार मूर्ती उपहार दिने योजना

सुमन घिमिरे, उर्लाबारी २०७४ फागुन २८ गते २१:१९ मा प्रकाशित

उर्लाबारीका मूर्तिकार मञ्जुल बराइली ‘मितेरी’ले विश्वप्रसिद्ध व्यक्तिको ढुङ्गाका एक हजार मूर्ती निर्माण सकेर राष्ट्रलाई उपहार दिने फलामे सपनाको घोषणा गर्नुभएको थियो ।

विंस २०६१ मा १० वर्षभित्र ती मूर्ती राष्ट्रलाई दिने घोषणा गर्नुभएका बराइलीले २०७१ सालसम्म १५० को हाराहारीमा मात्र मूर्ती निर्माण गर्न सक्नुभयो । निर्मित मूर्तीको व्यवस्थापन, कच्चा पदार्थको अभाव, पारिवारिक समस्यालगायत कारणले पूरा हुन नसकेको त्यो फलामे सपना अब १० वर्षभित्र आफूले पूरा गरेरै छाड्ने अठोट उहाँले व्यक्त गर्नुभएको छ । उहाँ जापानमा विश्वकै सबैभन्दा ठुलो ढुङ्गाको बुद्ध मूर्ती निर्माणका लागि डेढ वर्षअघि त्यहाँ पुग्नुभएको थियो ।

राष्ट्रलाई एक हजार मूर्ती उपहार दिने बराइली २०७२ सालमा रु ५० हजार राशिको युवा प्रतिभा पुरस्कारबाट सम्मानित भएपछि उहाँको कला जापानसम्म माग भयो । जापानको एक विशाल पहरामा डेढ वर्षदेखि बुद्धको मूर्ती कोर्दै आउनुभएका बराइलीले केही दिनअघि मात्र आफ्नो घर फर्किएका बेला कुरा गर्दै राष्ट्रलाई दिने भनिएको एक हजार मूर्तीको सपना पूरा गरेरै छाड्ने उद्घोष गर्नुभयो ।

उहाँ भन्नुहुन्छ “अबको पाँच वर्षभित्र जापानमा बुद्धको मूर्ती निर्माण सकेर नेपाल फर्कन्छु र त्यसपछिको पाँच वर्ष हजारौँ मूर्ती निर्माणमा समर्पित हुन्छु ।” जापानको कुमामोतो जिल्लाको खामी आमाकुसामा पर्ने सकिबुचोयामा नामको विशाल चट्टानी पहाडमा छिनो र हम्मर बोकेर उहाँसहित चार जनाले बुद्धको मूर्ती सिर्जना गरिरहनुभएको छ ।

मूर्ती निर्माणबापत उहाँलाई दैनिक नेपाली रु १४ हजार आम्दानी भइरहेको छ । उहाँको नेतृत्वमा काभ्रेपलाञ्चोकका सानुभाइ विश्वकर्मा, उदयपुरका रामचन्द्र पण्डित र मोरङकै गणेशकुमार राई संलग्न । उहाँको परिवार भने हाल उर्लाबारी–६ मै डेरा लिएर बस्दै आएको छ । उहाँको परिवारमा आमा, श्रीमती र एक छोरा हुनुहुन्छ । राज्यले के दियोभन्दा पनि राज्यलाई केही दिनुपर्छ भन्ने सोचका साथ अघि बढ्नुभएका मूर्तिकार बराइली आफूले निर्माण गरेका मूर्तीको व्यवस्थापनको पिरलोमा पर्नुभएको छ ।

राष्ट्रलाई एक हजार ढुङ्गाका मूर्ती दिने फलामे सपना पूरा गर्न सक्छु भन्ने आफूमा विश्वास भए पनि त्यसको व्यवस्थापन समस्या बनेको उहाँले बताउनुभयो । निर्माण गरेका मूर्तीको व्यवस्थापनका लागि उहाँले घर नजिकै वार्षिक रु १५ हजारमा जग्गा भाडा लिएर व्यवस्थापन गर्दै आउनुभएको छ तर वर्षामा आउने बाढीका कारण मूर्ती बगाएर लैजाने चिन्ता छ ।

उहाँले निर्माण गरिसक्नुभएका मूर्ती अहिले सो जग्गामा बनाएको टहरामा छरपस्ट अवस्थामा छन् । आफ्नो आर्थिक अवस्था कमजोर भए पनि राष्ट्रलाई हजार मूर्ती उपहार तिर्ने घोषणा गर्नुभएका उहाँ भन्नुहुन्छ, “मलाई मूर्ती निर्माणका लागि आवश्यक ढुङ्गा, औजार र संरक्षणस्थलको व्यवस्था गरेर राज्यले सहयोग गरेको भए म जापान जाने थिइन । ”

करिब १५ वर्ष अगाडि राजनीतिज्ञ मदन भण्डारी र जीवराज आश्रितको पहिलो मूर्ती निर्माण गर्नुभएका उहाँले हालसम्म दुई हजार ५०० भन्दा बढी ढुङ्गाका मूर्ती निर्माण गरिसक्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू