अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७ | Colorodo: 02:32

अस्थायी मुकाम तोकेपछि प्रदेश १, २, ५ र ७ तनावग्रस्त

बिआरटीनेपाल २०७४ माघ ४ गते २०:०५ मा प्रकाशित

सरकारले बुधबार अस्थायी मुकाम तोकेलगत्तै सातै प्रदेशमा असन्तुष्टि चुलिएको छ । राजधानी माग गर्दै सुरु भएका आन्दोलनका कारण प्रदेश १, २, ५ र ७ का मुख्य सहर तनावग्रस्त छन् । प्रदर्शनकारीले राष्ट्रियसभा निर्वाचन प्रभावित पार्नेसम्मका कार्यक्रम घोषणा गरेका छन् ।

लामो समयदेखि प्रदेश १ को राजधानी माग गर्दै आन्दोलन गरिरहेका धनकुटावासी सरकारले बुधबार विराटनगरलाई अस्थायी मुकाम तोकेपछि आक्रोशित भएका छन् ।बिहीबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका उनीहरू सरकारी कार्यालयमा आगजनी गर्दै तोडफोडमा उत्रिएपछि स्थानीय प्रशासनले बिहीबार बिहान १२ बजेदेखि अनिश्चितकालीन कर्फ्यू लगाएको छ ।

सरकारले प्रदेश २ को राजधानी जनकपुर बनाउने निर्णय गरेलगत्तै वीरगन्जवासीले आन्दोलन चर्काएका छन् । वीरगन्जलाई राजधानी बनाउन माग गर्दै आन्दोलित उनीहरूले बिहीबार घण्टाघर, माईस्थान, मुरलीलगायत ठाउँमा टायर बालेर प्रदर्शन गरे । वीरगन्ज, मेनरोडका पसल र बजार दिनभर नै बन्द भए ।

त्यस्तै प्रदेश ३ को राजधानी हेटौंडा तोकिएपछि भक्तपुरवासी आक्रोशित भएका छन् भने प्रदेश ५ को राजधानी रूपन्देही तोकिएकोमा दाङवासीको आक्रोश चुलिएको छ । प्रदेश ७ को राजधानी धनगढी तोकिएपछि डोटीमा बिहानैदेखि सुरु भएको प्रदर्शन क्रममा आन्दोलनकारी र प्रहरीबीच पटक-पटक झडप भएको छ । दिपायलस्थित क्षेत्रीय प्रशासन कार्यालय अगाडि आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा तीन प्रदर्शनकारी घाइते भएका छन् ।

धनकुटामा कर्फ्यू

धनकुटा संवाददाता हरिबहादुर लम्जेलका अनुसार राजधानी माग गर्दै सुरु भएको आन्दोलन हिंसात्मक बनेपछि स्थानीय प्रशासनले बिहीबार बिहान ११ बजेदेखि लागू हुने गरी सदरमुकामस्थित जिरो प्वाइन्ट, श्रीवानी, बिहीबारे हटिया, त्रिवेणी चोकलगायत क्षेत्रमा कर्फ्यू लगाएको छ । स्थिति तनावपूर्ण भएकाले कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले जानकारी दिए । ‘तनावको स्थिति सामान्य अवस्थामा नआउन्जेलसम्म कर्फ्यू खुल्दैन’, उनले भने ।

आन्दोलनकारीले पूर्वाञ्चल क्षेत्रीय प्रशासन कार्यालयसहित आधा दर्जनभन्दा बढी सरकारी कार्यालयमा तोडफोड गरेका छन् । क्षेत्रीय प्रशासनको फर्निचरमा आगो लगाउँदा टेबल, कुर्सीलगायत फर्निचर जलेका छन् । आक्रोशित समूहले झ्यालको सिसासमेत फुटाएका छन् । डिभिजन सहरी विकास कार्यालय, उच्च अदालत विराटनगरको धनकुटा इजलास, सरकारी वकिलको कार्यालयलगायत तोडफोड भएको छ । त्यसक्रममा को१त १०६४ नम्बरको मोटरसाइकलमा पनि आगो लगाइएको छ । आगो निभाउन हिँडेको धनकुटा नगरपालिकाको दमकल र दलित हकहित समन्वय समिति केराबारी मोरङको को२च ४३२ नम्बरको एम्बुलेन्सलाई पनि आन्दोलनकारीले तोडफोड गरेका छन् । कर्फ्यूको अवज्ञा गर्दै आन्दोलनकारीले बिहीबार साँझ मदन चोकमा टायर बालेका थिए ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गरेको लाठीचार्जबाट कांग्रेस धनकुटाका कोषाध्यष दिनेश राई, आन्दोलन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठसहित सात जना घाइते भएका छन् । राईको टाउकोमा गम्भीर चोट लागेको छ भने अन्य घाइते अवस्था सामान्य छ ।

बिहीबार बिहान बजार बन्द गराउँदै हिँडेको आंशकामा प्रहरी प्रमुख सुदीप राजभण्डारीले आन्दोलनकारीलाई नियन्त्रणमा लिन खोजेपछि तनाव सुरु भएको थियो । आन्दोलन गरिरहेका बजारवासीलाई सुरक्षाकर्मीले धरपकड गरेको घटनाप्रति प्रतिनिधिसभा सांसद राजेन्द्र राई, प्रदेशसभा सांसद निरन राई र इन्द्रमणि पराजुली, एमाले, कांग्रेस, माओवादीलगायत दलले विरोध जनाएका छन् ।

वीरगन्ज बन्द

वीरगन्ज संवाददाता क्रान्ति शाहका अनुसार तीन सातादेखि आन्दोलन गर्दै आएको वीरगन्ज राजधानी संघर्ष समितिको आह्वानमा बिहीबार भएको बन्दका कारण लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधन ठप्प भए । ट्याम्पु, ई-रिक्सा तथा निजी साना चारपांग्रे गाडी पनि दिनभर चलेनन् । बन्द अवज्ञा गरेको भन्दै आन्दोलनकारीले घण्टाघर चोकमा बा१२च ७३६५ नम्बरको निजी सुजुकी कार, ना४च ३०८१ नम्बरको टाटासुमो र ना१ह ५४८० नम्बरको ई-रिक्सा तोडफोड गरेका छन् । उनीहरूले वीरगन्ज महानगरपालिका कार्यालयमा ढुंगा हानेर सिसा फुटाइदिएका छन् ।

जनकपुरलाई मुकाम तोक्ने सरकारको निर्णय नसच्याएसम्म आन्दोलन जारी रहने संघर्ष समितिका सहसंयोजक राजकुमार गुप्ताले बताए । वीरगन्जलाई राजधानी बनाउन माग राख्दै पुस २१ गतेदेखि घन्टारघरमा सुरु रिले अनशन बिहीबार १४ औं दिन पनि जारी छ ।

बारामा पनि बिहीबार बिहानैदेखि प्रदर्शन भइरहेको छ । वीरगन्जलाई राजधानी घोषणा गर्न माग गर्दै बाराको परवानीपुर, नौतन गण्डक, चैनपुर र प्रसौनीमा स्थानीयले टायर बालेर प्रदर्शन गरेका हुन् । बाराको गण्डक चोकमा राजकिशोर गुप्ताको नेतृत्वमा र प्रसौनीमा प्रसौनी गाउँपालिकाका नागरिक समाज अध्यक्ष विनोद पटेलको नेतृत्वमा प्रदर्शन भएको हो । प्रसौनीमा बिहान आठ बजेदेखि दुई घन्टा बजारसमेत बन्द गरिएको थियो ।

कपिलवस्तुमा पनि तनाव

कपिलवस्तु संवाददाता दीपक आचार्यका अनुसार सरकारले प्रदेश ५ को अस्थायी राजधानी रूपन्देही बनाउने निर्णय गरेसँगै कपिलवस्तुवासी असन्तुष्ट भएका छन् । कपिलवस्तु युवा संघर्ष समिति ‘बुद्ध प्रदेश’ ले बिहीबार जिल्ला बन्द आह्वान ग¥यो । बन्दका कारण सदरमुकाम तौलिहवामा दिनभर सवारीसाधन, शैक्षिक संस्था, उद्योगधन्दा, पसल ठप्प भए । चारवटा ‘बुद्ध’ले राज्य गरेको कपिलवस्तुलाई पन्छाई सरकारले बुधबार गरेको निर्णयप्रति दुःख लागेको संघर्ष समितिका संयोजक रउफ अहमद खानले बताए । कपिलवस्तुलाई राजधानी नबनाए सशक्त आन्दोलन चर्काउने संघर्ष समितिका सहसंयोजक दीपक पाण्डेयले चेतावनी दिए ।

दाङ बन्द यथावत्

तुलसीपुर संवाददाता गोपाल शर्माका अनुसार दाङमा प्रादेशिक राजधानी माग गर्दै गरिएको आमहडताललाई संघर्ष समितिले चर्काउँदै लगेको छ । सरकारले प्रदेश ५ को मुकाम बुटवल तोकेपछि बुधबारबाटै दाङमा आन्दोलन सुरु भएकोे छ । संघर्ष समितिका संयोजक तथा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले आन्दोलन सशक्त बनाउने बताए । आन्दोलनलाई केन्द्रीकृत गर्दै सशक्त बनाइएको र सरकारले दाङ राजधानी नबनाउँदासम्म आन्दोलन यथावत् राखिने उनले जानकारी दिए ।

यसैबीच संघर्ष समितिले आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका कार्यक्रममा कालो झन्डा राख्नेदेखि राष्ट्रियसभा निर्वाचन बिथोल्नेसम्म छन् । माघ ३ लाई कालो दिन घोषणा गर्दै घर घरमा कालो झन्डा राख्ने, आमहडताललाई निरन्तरता दिँदै अस्पतालबाहेक सबै सरकारी कार्यालय र बजार बन्द गर्ने, अटो, रिक्सा बन्द गर्ने, आसन्न राष्ट्रियसभा चुनावलाई प्रभावित पार्नेे गरी जिल्लाका सबै जनप्रतिनिधिलाई बन्धक बनाउनेलगायत आन्दोलन सार्वजनिक गरिएको छ ।

संघर्ष समितिले सम्पूर्ण नेता तथा सरकारका प्रतिनिधिलाई जिल्ला प्रवेश निषेध गर्ने, माघ २४ मा दाङमा हुन लागेको प्रदेश ५ को राष्ट्रियसभा चुनाव हुन नदिने, कुनै पनि प्रकारको राज्यलाई कर नतिर्ने, र राजमार्गकेन्द्रित आन्दोलनलाई सशक्त बनाउने कार्यक्रमसमेत घोषणा गरेको छ ।

दीपायलमा तीन घाइते

दिपायल संवाददाता खगेन्द्रबहादुर सिंहका अनुसार प्रदेश ७ को राजधानी धनगढी तोकेको विरोधमा आक्रोशित दिपायलवासीले प्रदर्शन सुरु गरेका छन् । प्रदर्शन क्रममा प्रहरीसँग ठाउँ-ठाउँमा झडपसमेत भएको छ । झडपमा तीन प्रदर्शनकारी घाइते भएका छन् भने प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर गरेको छ । घाइतेको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते एक जनालाई नेपालगन्ज रिफर गरिएको छ ।

प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्ला दहन गर्नुका साथै जिल्ला वन कार्यालय डोटीको बा१ब ७६३९ नम्बरको मोटरसाइकलमा आगो लगाइदिएका छन् । सदरमुकाम सिलगढीस्थित जिल्ला वन कार्यालयमा रोकेर राखिएको उक्त मोटरसाइकल आन्दोलनकारीले सडकमा ल्याएर जलाइदिएका हुन् । सरकारको निर्णयविरुद्ध डोटीमा क्रियाशील राजनीतिक दलका नेता-कार्यकर्ता, नागरिक समाजलगायतको आह्वानमा प्रदर्शन भएको छ । सरकारले निर्णय उल्ट्याएर दिपायललाई राजधानी नतोके पहाडी सात वटा जिल्लाको छुट्टै राज्य माग गर्दै आन्दोलन सुरु गर्ने प्रदर्शनकारीले चेतावनी दिएका छन् ।

सरकारको निर्णयप्रति आपत्ति जनाउँदै कांग्रेस नेता रामप्रसाद उपाध्यायले कडा आन्दोलन सुरु गर्ने बताए । डोटीबाट निर्वाचित जनप्रतिनिधिले समेत सरकारको विरोध गरेका छन् । प्रतिनिधिसभा सांसद प्रेमबहादुर आलेमगर, प्रदेशसभा सदस्य त्रिलोचन भट्ट र भरतबहादुर खड्काले सरकारले गरेको निर्णयप्रति असन्तुष्ट व्यक्त गर्दै सरकारविरुद्ध आन्दोलन छेड्नुपर्ने बताए ।

प्रदर्शनकारीले बिहानैदेखि डोटी बन्द गराउनुका साथै सातवटै पहाडी जिल्लामा जाने नाका बुडरसमेत बन्द गराएका छन् । प्रदेश ७ को माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन सरकारले डोटीमा गर्नेे निर्णय गरे पनि प्रदेश राजधानी कायम नगरिएका कारण कुनै हालतमा उक्त निर्वाचन हुन नदिने आन्दोलनकारीले बताएका छन् । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसमेत राष्ट्रियसभा निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आन्दोलनमा उत्रेका छन् । अन्नपूर्ण पोष्टमा खबर छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू