अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:४५ | Colorodo: 15:00

केआरएसएको ब्लड ड्राइभ, ९६ पाउण्ड रगत संकलन

बिआरटीनेपाल २०७९ असार १४ गते ६:५४ मा प्रकाशित

न्यू योर्क । किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) रक्तदान कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा ९६ पाउन्ड रगत सङ्कलन भएको केआरएसएका केन्द्रीय सचिव सुमन नाछिरिङले बताए ।

न्यू योर्क सिटीको ‘क्रिटिकल निड फर अल ब्लड टाइप्स’ लाई मध्यनजर गरी आफ्नो १९ औँ स्थापना दिवसको अवसरमा केआरएसएले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रम क्विन्सको ज्याक्सन हाइट्सस्थित सत्यनारायण मन्दिरमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चलेको थियो ।

कार्यक्रममा एक सय ३० भन्दा बढी मानिस उपस्थित भएको थिए । सचिव नाछिरिङका अनुसार उनीहरूमध्ये ९६ जनाले रक्तदान गरेका थिए भने १३ जना रक्तदानका लागि अयोग्य भएका थिए । आयोजकले खासगरि उच्च रक्तचाप, रक्तदानका लागि फारम भर्दा भएको गल्ती र स्वास्थ्यजन्य अन्य समस्याका कारण ती १३ जना व्यक्ति अयोग्य भएको जनाएको छ ।

रक्तदानमा स्वयंसेवकका रूपमा १९ वर्ष मुनिका राई विद्यार्थीहरू खटेका केआरएसएका केन्द्रीय सचिव सुमन नाछिरिङले बताए । ‘सोचेभन्दा धेरै रक्तदाताहरू सहभागी भइदिएर रक्तदान कार्यक्रम सफल बनाइदिनु भयो,’ उनले भने ।

रक्तदानमा सहभागीहरूले केआरएसएका केन्द्रीय अध्यक्ष खगेन्द्र राई र न्यू योर्क च्याप्टर अध्यक्ष वाकासा वान्तावाले प्रमाणपत्र वितरण गरेका थिए । केआरएसएले आफ्नो स्थापना दिवसको अवसरमा हरेक वर्ष रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदानका लागि न्यू योर्क ब्लड सेन्टरले सहकार्य गर्दै आएको छ । रक्तदान कार्यक्रममा एक दर्जनभन्दा बढी मानिस नेपाली समुदाय बाहिरका थिए ।

प्रतिक्रिया