अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२७ | Colorodo: 21:42

काँग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक

बिआरटीनेपाल २०७८ असोज १ गते ७:२९ मा प्रकाशित

नेपाली काँग्रेसमा क्रियाशील सदस्यता विवाद सहमति नजिक पुगेको छ । क्रियाशील सदस्यता विवादकै कारण अधिवेशन हुन नसकेको २० मध्ये काठमाडौं सहित ७ जिल्लाको विवाद टुङ्गो लागेको र बाँकि १३ जिल्लाको विवाद सहमति नजिक पुगेको क्रियाशील सदस्यता छानविन समिति सदस्य प्रदीप पौडेलले जानकारी दिनुभयो । काँग्रेसमा क्रियाशील सदस्यता विवादमा सहमति खोज्न पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले काम गरिरहनुभएको छ ।

१४ औँ महाधिवेशन अन्तर्गत काँग्रेसले ५७ जिल्लाको वडा तहको अधिवेशन सम्पन्न गरेको छ । ५७ मध्ये सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको अधिवेशन भने विवादित रहेको छ । केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार बाँकी २० जिल्ला मध्ये ७ जिल्लाको क्रियाशील सदस्यको नामावली प्राप्त भएर समितिले प्रकाशितसमेत गरिसकेको छ । अन्य १३ जिल्लामा भने अधिवेशन हुने वा नहुने अनिश्चित छ ।

प्रदेश २ का कुनै पनि जिल्लाको क्रियाशील सदस्य प्राप्त नभएको उहाँले बताउनुभयो । त्यसबाहेक डोल्पा, रसुवा, बाँके, सुर्खेत र कैलालीको पनि नामावली हामीलाई प्राप्त भएको छैन । निर्वाचन समितिले क्रियाशील सदस्यको नामावली प्रकाशित भएका ७ जिल्लामा निर्वाचन अधिकृतहरु खटाएको छ । ती जिल्लामा ५ असोजमा वडा अधिवेशन हुनेछ । काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बाजुरा, कपिलवस्तु र बर्दियामा ५ असोजमा वडा अधिवेशन गर्ने गरी निर्वाचन अधिृकतहरु खटाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू