अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:३४ | Colorodo: 21:49

पार्टीभित्रको विवाद मिलाउन नेकपाका दोस्रो तहका नेता सक्रिय, नेपाललाई मनाउन अध्यक्ष ओलीको दौडधुप

बिआरटीनेपाल २०७७ कार्तिक १७ गते ६:२५ मा प्रकाशित

सत्तारुढ दलभित्रको आन्तरिक किचलोले पार्टी विभाजनको खतरा बढ्दै गएपछि दोस्रो तहका नेता सक्रिय भएका छन् । पार्टीमा उत्पन्न पछिल्लो विवाद साम्य पार्न पार्टीका दोस्रो तहका नेता शीर्ष नेतृत्वसँग छलफलमा जुटेका हुन् । नेकपाका दुवै समुहलाई मिलाउन महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्यहरु सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, शंकर पोखरेल, देवेन्द्र पौडेल लगायतका नेताहरुको सक्रियता बढेको हो ।

पछिल्लो पटक उत्पन्न विवादबारे रणनीति तय गर्न अध्यक्षद्वय ओली र प्रचण्डपनि आफू निकटका नेताहरुसँग औपचारिक तथा अनौपचारिक छलफलमा जुट्नु भएको छ । मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद र प्रधानमन्त्रीले भारतीय गुप्तचर संस्था रअर्का प्रमुखसँग भेटेको विषयलाई लिएर नेकपाभित्र विवाद चर्किएको हो ।

नेकपामा गत भदौ २६ गते बसेको स्थायी कमिटी बैठकले पुरानो विवाद नल्याउने र चैतमा पार्टीको एकता महाधिवेशन गर्ने निर्णय पनि नेताहरुबीच एकअर्काप्रतिको दोषारोपणमा उत्रिएका छन् । अध्यक्षद्वयले शुक्रबारको छलफपछि पार्टी विभाजनको संकेत गर्दै फरक फरक ढंगले निकटस्थहरुलाई ब्रिफिङ गरेका थिए ।

दाहाल पक्षका नेताहरुले भने आफूहरुलाई गलाउन ओलीले दवाव दिएको बताएका छन् भने ओली पक्षले भने दाहालले नै ओलीलाई हटाउन खोजेको बताउँदै आएका छन् । यसैबीच अध्यक्ष ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई रिझाउन छलफललाई तीव्र पार्नुभएको छ । उहाँले आफ्ना पक्षका सहयोगी पठाएर वरिष्ठ नेता नेपालसँग छलफल गर्न लाग्नुभएको हो । पार्टीमा विवाद बढ्दै गएपछि ओली पक्षका नेताहरु वरिष्ठ नेता नेपाललाई फकाउन विभिन्न उपाय खोज्न थालेका छन् ।

यसअघि नेपाललाई आफ्नै निवास बालुवाटार बोलाएर ओलीले आफूलाई साथ दिन आग्रह गर्नुभएको थियो । पार्टी विवादकै बीच ओलीले नेपाललाई दुई पटक बोलाएर छलफल गरिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू