अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:०३ | Colorodo: 04:18

विदेशमा जाने कामदारलाई २७ लाखसम्मको बिमा

बिआरटीनेपाल २०७३ माघ ११ गते २०:५४ मा प्रकाशित

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने कामदारलाई घातक रोगका लागि ५ लाख रुपैयाँ थप हुने बताएका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार वैदेशिक रोजगार बिमाका सम्बन्धमा भएका निर्णयबारे पत्रकार भेटघाट गर्दै यस्तो जानकारी दिएका हुन्  ।

हाल वैदेशिक रोजगारमा जाने कामदारको १० लाख रुपैयाँको म्यादी जीवन बिमा हुन्छ । क्यान्सर, किड्नी फेल, हृदयाघात र प्यारालाइसिसजस्ता १५ प्रकारका घातक रोगमा कामदारले यस्तो सुविधा पाउनेछन् ।

‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको बिमा सुविधामा विस्तार गरी कामदारको स्वास्थ्य बिमातर्फ साबिकको सुरक्षा तथा सुविधालाई विस्तार गरी जीवन बिमा, आयको नोक्सानीलगायतका सुविधा विस्तार गरिएको छ,’ उनले भने ।

सरकारले घातक बिमाबापतको रकम कामदारले १ फागुनदेखि नै पाउने प्रधानमन्त्रीले बताए । प्रधानमन्त्री प्रचण्डले १ फागुनदेखि कार्यान्वयनमा आउने यस्तो बिमाको करार अवधि १ वर्ष थप गरिएको जानकारी दिए । ‘यो व्यवस्थाले मध्यपूर्वका कतिपय देशमा ३ र मलेसियामा ४ वर्षको रक्षावरण गर्नेछ,’ उनले भने ।

यसैगरी वैदेशिक रोजगारमा जाने कामदारले जम्मा गरेको कल्याणकारी कोषको रकममा कामदारको मृत्यु भएमा ७ लाख रुपैयाँ पाउने गरी वैदेशिक रोजगार संशोधन विधेयक प्रक्रियामा रहेको छ । हाल कामदारको विदेशमा मृत्यु भएमा ३ लाख रुपैयाँ पाउने व्यवस्था छ । सरकारले यसको कार्यान्वयन गरेपछि वैदेशिक रोजगारमा जाने कामदारले २७ लाख रुपैयाँसम्म पाउनेछन् ।

भारत जाने कामदारको पनि बिमा
सरकारले भारत जाने सबै वालिग नागरिकको पनि बिमा गर्ने भएको छ । प्रधानमन्त्री प्रचण्डले भारत जाने कामदारको बिमा हुने व्यवस्थाका लागि गृह, परराष्ट्र र श्रम मन्त्रालयका प्रतिनिधि सम्मिलित एक अध्ययन कार्यदल बनाउने जानकारी दिए । ‘कार्यदलले दुई महिनाभित्र प्रतिवेदन दिने र प्रतिवेदनपछि यसको कार्यान्वयन हुनेछ,’ उनले भने ।

शारीरिक रूपमा मृत्युसरहलाई १८ लाख
प्रधानमन्त्री प्रचण्डले घातक रोग लागी मृत्यु नभएको, तर शारीरिक रूपले मृत्युसरह मानिने अवस्था प्रमाणित भएमा १८ लाख रुपैयाँसम्म कामदारले प्राप्त गर्ने जानकारी दिए । उनका अनुसार यस्तो अवस्था भएका कामदारले बिमाबाट १३ लाख र वैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट ३ लाखसहित घातक रोग लागेबापत ५ लाख गरी १८ लाख पाउनेछन् ।

कामदारले पाउने बिमा रकम (रुपैयाँमा)

  • जीवन बिमा : १० लाख
  • बिमितको आय नोक्सानी : २ लाख
  • किरिया खर्च : १ लाख
  • औषधि उपचार खर्च : १ लाख
  • शव ल्याउन खर्च : १ लाख
  • घातक रोग : ५ लाख (मृत्यु भएमा पनि)
  • कल्याणकारी कोष : हाल पाउँदै आएको ३ लाखमा ४ लाख वृद्धि गरी ७ लाख पुर्‍याइने आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।
प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू