अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०३ | Colorodo: 06:18

अमेरिकाले कोरोना विरुद्ध २० लाख खोप तयार पारेको राष्ट्रपति ट्रम्पको दावी

बिआरटीनेपाल २०७७ जेठ २४ गते ६:५२ मा प्रकाशित

अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरुसको संक्रमणबाट बच्नका लागि खोप तयार पारिएको दाबी गर्नुभएको छ । कोभिड–१९ को संक्रमणसँग बच्नका लागि अमेरिकाले २० लाख भ्याक्सिन तयार गरेको र खोप प्रयोगका लागि तयारी अवस्थामा रहेको उहाको भनाई छ ।

पत्रकार सम्मेलनमा उक्त खोप प्रयोग गर्नका लागि सुरक्षित र प्रभावकारी हुने वैज्ञानिक निर्णयको प्रतीक्षा मात्र बाँकी रहेको ट्रम्पले जिकिर गर्नुभयो । खोप तयार भएपनि यसको प्रयोग सुरक्षित हुने पुष्टि भने गर्न बाँकी रहेको उल्लेख गर्दै ट्रम्पले ठूलो रुपमा जनस्तरमा परीक्षणका लागि वैज्ञानिकको अनुमति कुरिरहेको स्पष्ट पार्नुभयो । ट्रम्पले उक्त खोप कुन कम्पनीबाट निर्मित भएको भन्ने बारे केहीपनि खुलाउनुभएको छैन । कुन समयसम्ममा यसको प्रयोग शुरु गरिने छ भन्ने पनि उहाँले केही बताउनुभएन ।

यसैबीच, ट्रम्पलगत्तै बोलेका वरिष्ठ अमेरीकी सरुवा रोग विशेषज्ञ डा. एन्थनी फाउचीले भने राष्ट्रपतिले बोलेको विषयमा आफूलाई जानकारी नभएकाले यसबारे केही बताउन नसक्ने टिप्पणी गर्नुभयो । यसअघि मंगलवार डा. फाउचीले नै एक मेडिकल सेमिनारमा आउने सालसम्ममा लाखौं खोप तयार हुनसक्ने बताउनुभएको थियो ।

अमेरीकी प्रशासनले खोप तयार गर्न पाँच कम्पनीलाई काममा लगाएको न्यूयोर्क टाइम्सले जनाएको छ । माडेर्ना, नोवावैक्स र फाइजरलगायतका औषधि कम्पनीहरु वैज्ञानिकको अनुमति पूर्व नै औषधि बनाउने होडमा जुटेका छन् ।

प्रतिक्रिया